ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, हिमालय दर्शन र अर्गानिक खाना आँपस्वाराका आकर्षण। गाउँबाट अन्नपूर्ण हिमाल, दमौली बजार, छाब्दीबराह, सेती हाइड्रो पवार र सुन्तला बगान देखिन्छ।
तनहुँको व्यास नगरपालिका–१३ आँपस्वारा नमुना गाउँ बनेको छ। सदरमुकाम दमौली बजारबाट ६ किमि पूर्वको आँपस्वारामा १०६ घरधुरी छन्। दलित बाहुल्य गाउँमा मगर, गुरुङ, क्षेत्री र बाहुन समुदायको बसोबास छ।
ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, हिमालय दर्शन र अर्गानिक खाना आँपस्वाराका आकर्षण। गाउँबाट अन्नपूर्ण हिमाल, दमौली बजार, छाब्दीबराह, सेती हाइड्रो पवार र सुन्तला बगान देखिन्छ।
रोचक कुरा गाउँको शिरमा रहेकी थानीमाईको सम्मानस्वरुप आइतबार बारना गरिन्छ। आइतबार गाउँमा हलो जोत्ने, ढिकीजाँतो चलाउने र खेतबारीमा खनजोत गरेमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ।
मुलुककै पहिलो दलित सामुदायिक होमस्टे हो–आँपस्वारा। हयाण्ड्स अन इन्स्टिच्यूटको सहयोगमा वि.सं. २०७२ जेठमा होमस्टे सुरू गरिएकामा विसं २०७३ भदौमा पर्यटन कार्यालय पोखरामा दर्ता गरियो। हाल १८ घरमा होमस्टे सुविधा छ जहाँ ३६ बेड छ।
पर्यटनका माध्यमबाट आर्थिक विकास र छुवाछुत अन्त्य गर्न होमस्टे सञ्चालन गरिएको हो। पर्यटनको अभ्यास भएसँगै छुवाछुत मेटिँदै गएको छ।
आत्मीय, फरासिला र सहयोगी छन् गाउँले। सफा छ गाउँ। होमस्टेका आँगनमा ढुङ्गा छापिएको छ। घरघरै चर्पी र बाथरुम बनाइएको छ। पाहुनालाई लोकल खानेकुरा खुवाइन्छ। साँझ आमा समूह झ्याउरे गीतमा नाचगान गर्छ।
सस्याना डोका, मकैको खोस्टाबाट बनेको चकटी, माटाको गहनाहरू नौगेडी, कण्ठाको माला, चन्द्रमा र जन्तर लगायतका हस्तकलाका साथै मास, मौसमी तरकारी आँपस्वाराको कोशेली।
आँपस्वारामा एक हजार भन्दा बढी पर्यटक बास बसिसके। तिनमा ८५ प्रतिशत विदेशी हुन् भने बाँकी नेपाली। विदेशीहरू केही दिन बसेर गाउँको अध्ययन गर्छन् नेपाली भने एक रात बसेर फर्कन्छन्।
आँपस्वारा नमुना बनेको छ। तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरूङ भन्छन्, ‘जातीय विभेदसहित सबैखाले भेदभावको अन्त्य गर्दै सभ्य समाज निर्माणमा होमस्टे सुविधासहितको ग्रामीण पर्यटनले सहयोग पुर्याउन सक्छ भन्ने उदाहरण आँपस्वाराले बनेको छ।’
आँपस्वाराको एक राते प्याकेज मूल्य १२ सय रुपैयाँ छ। यसमा वेलकम ड्रिङ्क्स, खाजा, डिनर, बेड, ब्रेकफास्ट र लन्च सुविधा हुन्छ। होमस्टेमा बस्न जाँदा पहिल्यै खबर गरेर घाम नअस्ताउँदै गाउँमा पुग्नुपर्छ।
कसरी पुग्ने: काठमाडौं–दमौली १५० किमि, बसमा ५ घण्टा। दमौली–आँपस्वारा ६ किमि, जीपमा २५ मिनेट।
उत्साहि छौं
रेशम बिक, अध्यक्ष, आँपस्वारा दलित सामुदायिक होमस्टेनेपाल पर्यटन वर्ष २०११ मनाइरहेका बेला म घलेगाउँ घुम्न गएको थिएँ। त्यहाँ सञ्चालित सामुदायिक होमस्टे हेरेपछि हाम्रो आँपस्वारालाई पनि सरसफाई गरेर पाहुना राख्न सके आयआर्जन पनि बढ्ने र देशको पर्यटन वर्षलाई पनि सहयोग पुग्छ भन्ने लाग्यो। ठूलो कुरा पर्यटन छुवाछुत लगायत सामाजिक विभेद अन्त्य गर्ने माध्यम पनि बन्न सक्छ भन्ने लाग्यो। त्यसैले गाउँ फर्केर दलित र अन्य समुदायसँग कुरा गरेँ। दलित समुदाय तयार भयो। हामीले ५ घरबाट होमस्टे सुरु गर्यौं। हाम्रो काममा हयाण्ड्स अन इन्स्टिच्यूटका विजय पौडेलको समूहले सहयोग गर्नु भयो। उहाँले नै सबैभन्दा पहिला १० जना विदेशी पाहुना ल्याइदिनुभयो। यसरी हाम्रो होमस्टेले गति लिँदै गयो। हामीलाई व्यास नगरपालिका र प्रदेश सरकारले पनि सहयोग गर्दै आएका छन्। हाम्रोमा विदेशी बढी आउँछन्, हामी नेपालीलाई उत्तिकै स्वागत गर्न चाहन्छौं।
सम्पर्कः
रेशम विक –९८०६६२०७२३
मधुमाया विक–९८०६५७३३३२
तस्बिरहरू
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/AApswara/Aapswara%20(1).JPG)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/AApswara/Aapswara%20(2).JPG)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/AApswara/Aapswara%20(3).JPG)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/AApswara/Aapswara%20(4).JPG)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/AApswara/Aapswara%20(5).JPG)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/AApswara/Aapswara%20(7).JPG)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/AApswara/Aapswara%20(8).JPG)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/AApswara/Aapswara%20(9).JPG)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/AApswara/Aapswara%20(10).JPG)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/AApswara/Aapswara%20(11).JPG)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/AApswara/Aapswara%20(12).JPG)