नेपालमा पहिलोपटक आन्तरिक तथा बाह्य पर्यटकका लागि जिप साइक्लिङ भित्रिएको छ।
झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा स्थापित वाटर किङडम पार्कमा जिप साइक्लिङ पर्यटन उद्यमी राजकुमार संग्रौलाले भित्र्याएका हुन्। ३० करोडको लागतमा निर्मित उक्त पार्कमा जिप लाइन, सुपरम्यान जिपलाइन र पछिल्लोपटक जिप साइक्लिङ पनि भित्र्याइएको हो।
दुई सय मिटर दुरीका दुई वटा विल्डिङमा झुन्ड्याइएको तारमा सर्वसाधारणले साइकल कुदाएर मज्जा लिन सक्नेछन्। एउटा साइकलमा दुई जनाले सयर गर्न सकिनेछ।
दुईवटा तारमध्ये माथिल्लो तारमा साइकललाई झुन्ड्याइएको हुन्छ। तल्लो तारमा साइकलको चक्का अडिएको हुन्छ। जिप साइकिलिङ गर्नेले पाइडल मारेपछि तल्लो तारमा अड्याइएको चक्का कुद्छ।
सुरक्षाका लागि जिप साइकिलिङ प्राविधिकले साइकल कुदाउनेको खुट्टाको दुबै भाग र कम्मरमा हार्नेसले बाँधिदिएका हुन्छन्। त्यो हार्नेसको हुक साइकल अड्याएको क्लिपमा लगेर जोडिएको हुन्छ। जसका कारण साइकल सयर गर्नेको सुरक्षा मजबुत हुन्छ।
जमिन देखि ५८ फिटमाथि खुला आकासमा बढीमा दुई जनाले एकैपटक सहजै साइकल चलाउन सकिन्छ। साइकलमा पनि दुबै जनाका लागि पाइडल हुन्छ। जिप साइकिलिङका प्राविधिक सौजन संग्रौलाका अनुसार एक जनालाई बढीमा एक मिनेट र दुइ जनालाई बढीमा ४० सेकेन्डमा एउटा विल्डिङबाट अर्को विल्डिङमा साइकल कुदाएर जान सकिन्छ।
‘जमिनमा साइकल चलाएजस्तै आकासमा पनि पाइडल चलाउनुपर्छ,’ उनले भने।
सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गर्ने संकेत दिएपछि उनले सन् २०१९ मा वाटर किङडम पार्क निर्माण सुरू गरेका थिए। कोरोना भाइरसका कारण मुलुकमा लकडाउन भएपछि पार्कका निर्माणाधीन भौतिक संरचना निर्माण बन्द भएका थिए। सरकारले लकडाउन खुकुलो बनाएपछि बाँकी रहेको पूर्वाधार निर्माण सुरू भएका छन्।
पूर्व-पश्चिम राजमार्गको झिलझिलेबाट करिब तीन सय मिटर दक्षिणमा रहेको पार्क औपचारिक रुपमा उद्घाटन नभए पनि यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ। विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि झापामा उपयुक्त ठाउँ वाटर किङडम पार्क रहेको शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले बताए।
पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको संख्या यतिबेला ह्वात्तै बढेको छ। सञ्चालक संग्रौलाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरी लगायतका जिल्लाबाट सर्वसाधारणहरू आउन थालेका छन्।
पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिनसकिने ८ प्रकारका आइटम पनि छन्। संग्रौलाका अनुसार स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड छन्।
बच्चाहरूका लागि किड्स जोन र सिक्स्पा पार्क वाटर किङडम पार्कका मुख्य आकर्षण हुन्। बुढापाकाका लागि विश्राम चौतारी पनि पार्कमा निर्माण गरिएको छ। युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्क भित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण गरिएका छन्। पार्कमा ४५ मिटर लामो सुरुङ मार्ग पनि सञ्चालनमा छ। यसले सबैको मन जितेको छ।
सञ्चालक संग्रौलाले पार्कभित्र भेज र नन भेजका फरक-फरक होटल सञ्चालन गरेका छन्। यस्तै, आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधासम्पन्न २८ वटा कोठाको दुई वटा भवन निर्माण गरेका छन्। ‘एउटा भवनमा पार्टी प्यालेस सञ्चालन हुन्छ भने अर्को भवनमा आगन्तुक पाहुनाको आवास हुन्छ,’ सञ्चालक संग्रौलाले भने।
पूर्व घुम्न आउने पर्यटकका लागि शिवसताक्षी नगरको वाटर किङडम पार्क उत्कृष्ट रोजाइ बन्नेमा संग्रौला आशावादी छन्।
शिवसताक्षी नगरपालिकाको प्रमुख पर्यटकीयस्थलहरू सताक्षीधाम, चिल्लागढ पोखरी र दोमुखा पार्कभित्रका वालहरूमा देख्न पाइन्छ। विभिन्न जातजातिका झाँकीहरू पनि पार्कभित्र आउने सर्वसाधारणले सहजै देख्न सक्नेछन्। ती झाँकीहरू हस्तकलाद्वारा निर्मित हुन्।
३० करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको पार्कबाट ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सञ्चालक सङ्ग्रौलाले पूर्वका घुम्न योग्य इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका पर्यटकीय स्थलहरूमा प्याकेजमा भ्रमण गराउने बताए। उनले भने, ‘यहाँ आउने आन्तरिक तथा बाहिय पर्यटकलाई सस्तोमा पूर्वका पर्यटकीय स्थलहरूमा पुर्याएर मनोरञ्जन दिलाइने छ।’ यसका अलवा भारतका कालिङपोङ, दार्जिलिङ, खर्साङ, मिरिकजस्ता ठाँउ पनि प्याकेजमा घुमाउने योजना संग्रौलाले ल्याएका छन्।