हिउँले सेताम्मे भैसके शैलुङका डाँडापाखा। जाने हैन त घुम्न?
प्रकृति र अध्यात्मको दोभान हो–शैलुङ। धर्तिकै स्वर्ग शैलुङमा पुग्दा तन र मनमा ऊर्जा भरिन्छ।
३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ।
दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ शैलुङ। यहाँबाट २२० डिग्रीमा हिमाली शृंखला देखिन्छ।
हिमाल पनि कति हुन् कति! पश्चिमको अन्नपूर्ण, मनास्लु, लमजुङदेखि गणेश हिमाल, लाङटाङ, गौरीशंकर, सगरमाथा र नुम्बुरसम्म दर्जनौं हिमालहरू।
एक टकले हेरिरहुँ जस्तो! क्यामेराले खिचिरहुँ जस्तो!
तामाङ भाषाको शब्द ‘शैलुङ’ को नेपाली अर्थ हुन्छ–सय थुम्का। धानको थुप्रो जस्ता थुम्काहरू छन् यहाँ। कुनै अग्ला त कुनै होचा। जुन थुम्कामा चढेर हेरे पनि सेताम्मे हिमाल देखिन्छन्।
त्यसैले शैलुङ आफैंमा प्राकृतिक भ्यू टावर हो।
डाँडामा आन्तरिक पर्यटकको चहलपहल हुन्छ। सूर्योदयसँगै हिमालको लर्कन हेर्न पाउँदा पर्यटक रमाउँछन्। उनीहरू हिउँमै लडिबुडी खेल्छन्।
जैविक विविधताका हिसाबले हेर्दा वनजंगल, जडीबुटी, जंगली जनाबर र चराचुरुङीको भण्डारै हो शैलुङ।
शैंलुङ प्रकृतिको सुन्दर सृजना मात्र होइन, हिन्दू र बौद्धमार्गीको साझा तिर्थ पनि हो। डाँडामा गुरु पद्मसंभवका पाइला, माने र चैत्य छन्। त्यस्तै शैलुङेश्वर महादेव र गोदावरी गुफा पनि छ। यहाँ जनैपूर्णेमा ठूलो मेला लाग्छ।
यो क्षेत्र तामाङ, शेर्पा, नेवार, मगर, थामी, क्षेत्रीलगायत जातजातिको सुन्दर फूलबारी हो। सबै आपसमा मिलेर बसेका छन्।
दोलखाकै कालिन्चोक चम्केको धेरै वर्ष भएको छैन। अब चम्कने पालो शैलुङको। पुस–माघमा हिउँ, चैत–वैशाखमा गुराँस, असार–साउनमा हरियाली र असोज–कात्तिकमा हिमालको सौन्दर्यमा खुल्छ शैलुङ।
पर्यटकको स्वागतमा मुस्कुराउँछ शैलुङ। खाना र बासका लागि खोलाखर्कमा सामान्य होटल छन्। क्याम्प फायरका नाउँमा राती अबेलासम्म बाहिर नबसौं, यसले स्वास्थ्य र अध्यात्मिक वातावरणमा असर पुर्याउँछ।
यो मनोहारी ठाउँ घुमेर फर्कंदा मिठो अनुभूतिसँगै परिवार, इष्टमित्र र साथीसंगीका लागि चौंरीको घ्यु, छुर्पी, सकुटी, आलु, किवी, च्याउलगायत कोसेली ल्याउन नभुलौं। लोकल उत्पादन किनेर उद्यमशीलता विकासमा सहयोग पुर्याऔं।
शैलुङ क्षेत्रको विषयमा निःशुल्क जानकारीका लिन पर्यटन अभियन्ता लिलाराम खड्कालाई सम्पर्क गर्न सकिन्छ।
कसरी पुग्नेः
शैलुङ बेस क्याम्प खोलाखर्कसम्म मोटरबाइक, जिप वा बसमा जान सकिन्छ। काठमाडौंबाट नेपालथोकहुँदै १२१ किलोमिटर दूरीमा छ खोलाखर्क। त्यसैगरि अर्को रूटमा काठमाडौंबाट सिन्धुपाल्चोकको मुढेहुँदै खोलाखर्क १३२ किमि दूरीमा पर्छ।
जाऔं है दोलखा
रमणीय उपत्यका जिरीमा जन्मे/हुर्केका लिलाराम खड्का गृह जिल्ला दोलखाको पर्यटन प्रवद्र्धनमा समर्पित अभियन्ता हुन्। विगतमा प्रगतीशील युवा सशक्तिकरण केन्द्रबाट पर्यटन र सामाजिक विकासका काम गर्दै आएका खड्काले गत वर्षदेखि ‘पर्यटन प्रवद्र्धन मञ्च नेपाल’ संस्थामार्फत काम गरिरहेका छन्।
लकडाउनमा उनले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरेका थिए। प्रतियोगितामा उत्कृष्ट तीन निबन्धलाई जनही ७ हजार रुपैयाँका दरले पुरस्कृत गरेका थिए।
उनी निजी खर्चमा बर्सेनी काठमाडौंका पर्यटन पत्रकारलाई दोलखाका विभिन्न भुभागमा घुमाउँछन्। यसरी घुमाउन थालेको एक दशक पुग्न लाग्यो।
गत वर्ष कोरोना महामारी सुरु हुनु अघि पनि उनले एक हुल पत्रकारलाई शैलुङ, कालिन्चोक, भीमेश्वर, बिगु गुम्बा र खाँडादेवी घुमाएका थिए। लगत्तै राष्ट्रिय सञ्चार माध्यममा दोलखा छाएको थियो। उनले ती ठाउँका युट्युव भिडियो पनि बनाइसकेका छन्।
खासमा विसं २०७७ साललाई ‘जाऔं है दोलखा’ अभियानका रुपमा मनाउने उनको तयारी थियो। तर, कोरोना भाइरसले गर्दा अभियानको औपचारिक शुभारम्भ हुन पाएन। अब वर्ष २०७८ भरि अभियान चलाउने तयारीमा जुटेका छन्।
अभियानले प्रचारात्मक कार्यक्रममा जोड दिनेछ। त्यस्तै अतिथि सत्कार तथा होमस्टे तालिम सञ्चालन, क्यानोनिङ एक्सप्लोरेसन, च्छो रोल्पाहुँदै जिरी निस्कने पदमार्गको अध्ययन एवं ब्राण्डिङ, अगुवा पर्यटनकर्मीको सम्मान, दोलखा काव्य यात्रा, पत्रकारलाई आकर्षक पुरस्कार लगायतका कार्यक्रम गरिनेछ। त्यस्तै गन्तव्यहरूको बुकलेट, पोस्टर र ब्रोसर प्रकाशन गर्ने खड्का बताउँछन्।
अचेल उनी काठमाडौंमा कन्सल्टेन्सी चलाउँछन्। कमाईको केही हिस्सा गृह जिल्लाको प्रवर्धनमा खर्च गरिरहेका छन्। उनको योगदान प्रशंसनीय छ। उनको होस्टेमा सबैले मन खोलेर हैंसे गर्नुपर्छ।
सम्पर्कः
लिलाराम खड्का–९८४९३०३९२०
संयोजक, ‘जाऔं है दोलखा’ अभियान