सरकारले यसैवर्ष घोषणा गरेको १ सय वटा नयाँ पर्यटकीय गन्तव्यको सूचीमा रुपन्देहीको सैनामैना पनि पर्यो। केही वर्षअघि लुम्बिनी विकास कोषले गरेको सामान्य उत्खननको क्रममा बुद्धकालीन सभ्यताका महत्त्वपूर्ण पुरातात्विक वस्तु तथा अवशेषहरू फेला परेपछि सैनामैनालाई पर्यटकीय एवं पुरातात्विक क्षेत्रको सूचीमा राखिएको थियो।
पूर्वपश्चिम राजमार्गमा पर्ने सैनामैना नगरपालिका बनकटहवा क्षेत्रको उत्तरतर्फ लुम्बिनी विकास कोषले केहीवर्ष पहिले सामान्य उत्खनन् गरे पनि त्यसयता सैनामैनाको न त खोजी भएको छ न त संरक्षण नै।
वर्षौसम्म पनि थप उत्खनन् गर्न र भेटिएका वस्तुहरू समेत संरक्षण गर्नेतर्फ ध्यान नदिँदा भेटिएका वस्तुहरू स्थानीयका खेत र घरमा समेत छरपष्ट अवस्थामा रहेका छन्। सिद्धार्थ गौतम गृहत्याग नगर्दै गृहनगर कपिलवस्तुबाट कन्थक रथसहित सैनामैनामा घुम्नका लागि आउने गर्दथे भन्ने कुरा बौद्ध ग्रन्थहरूमा उल्लेख छ।
![](https://setopati.net/wp-content/uploads/2019/06/thulo-kuwa.jpg)
![](https://setopati.net/wp-content/uploads/2019/06/Rani-kuwa.jpg)
यहाँ बुद्धकालीन इँट्टा, औजार, राजा र रानीले नुहाउने कुवा समेत फेला परेका छन्। ती कुवाहरूलाई तारबार गरेर संरक्षण गरिएको छ । सैनामैना नगरपालिकाले पुरातात्विक महत्वको सम्पदा संरक्षणका लागि सिरानटोलमा सैनामैना पुरातात्विक संग्रहालय निर्माण गरेर बुद्धकालीन मूर्तिको संरक्षण गर्दै आएको छ।
नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की यहाँको उत्खनन् र बुद्धकालीन सभ्यताको संरक्षणका लागि बृहत गुरूयोजना बनाएर काम गर्न लागिएको बताउँछन्। त्यसको लागि चालू आर्थिक वर्षमा संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्राप्त भएको ५० लाख रुपैयाँ समेत यसको संरक्षणको लागि लगाइएको उनले बताए।
नगरपालिकाका प्रमुख कार्कीले लुम्बिनीमा भन्दा बढी बौद्धकालीन मूर्ति र वस्तुहरू फेला परेका कारण सैनामैना बौद्धकालीन सहर भएको पुष्टि गर्न सकिने बताए।
‘यहाँ प्रशस्त बौद्धकालीन मूर्ति र वस्तुहरू फेला परेका छन्, लुम्बिनीमा राखिएका कतिपय मूर्तिहरू समेत सैनामैनाबाट लगिएर राखिएको भनेर उल्लेख गरिएको छ,’ उनले भने।
![](https://setopati.net/wp-content/uploads/2019/06/raja-kuwa.jpg)
![](https://setopati.net/wp-content/uploads/2019/06/mayadevi-buddha-murti.jpg)
बौद्ध ग्रन्थ र चिनियाँ यात्रीको यात्रा स्मरणमा उल्लेख गरेबाट सैनामैना बौद्धकालीन सभ्यता भएको क्षेत्रका रूपमा चिनिन्छ। थुप्रै बौद्धकालीन पुरातात्विक वस्तु फेला परेको कारण यसअघि पनि सैनामैना पुरातात्विक र पर्यटकीय गन्तव्यमा रूपमा चिनिन्थ्यो।
पाँचौं र सातौ शताब्दीमा आएका चिनियाँ यात्रीले लेखेको किताबको आधारमा खड्गशमसेरले उहीबेला सो क्षेत्रमा बुद्धकालीन सभ्यताबारे चासो देखाएका थिए। सैनामैनाको अध्ययन गर्नकै लागि खड्गशमसेर पाल्पाबाट सैनामैना पुगेका थिए।
लुम्बिनीको अशोक स्तम्भ फेला पार्ने खड्गशमसेरले चासो दिए पनि त्यसयता सैनामैनाको संरक्षण र उत्खननको प्रयास समेत भएको छैन। सैनामैनामा बुद्धकालीन अवस्थाको पहिचान गरी पर्यटनको आकर्षण बढाउन सकियो भने लुम्बिनी आउने पर्यटकलाई सैनामैनामा भित्र्याउन सकिने स्थानीयको अपेक्षा छ।
सैनामैना शाक्यवंशीय राज्यको एक अंशको रूपमा रहेको र यसको संरक्षण आवश्यक रहेको संस्कृतिविद् डा. गितु गिरी बताउँछन्। नयाँ पर्यटकीय गन्तव्यमा परेको सैनामैनाको तत्कालै गुरुयोजना बनाएर विकास र संरक्षण नगरे अतिक्रमणमा पर्ने खतरा छ।
अहिले नै सैनामैनाको पुरातात्विक क्षेत्र आसपासमा केही भूभाग सुकुम्बासीको नाममा अतिक्रमण भइसकेको छ। समयमै विकास गर्न सके बुद्धकालीन बुद्धवल्ली, सैनामैनालाई लुम्बिनीसँग जोडेर प्रशस्त पर्यटक भित्र्याउन सजिलो हुनेछ ।
![](https://setopati.net/wp-content/uploads/2019/06/7.jpg)
![](https://setopati.net/wp-content/uploads/2019/06/6.jpg)
![](https://setopati.net/wp-content/uploads/2019/06/5.jpg)
![](https://setopati.net/wp-content/uploads/2019/06/4.jpg)
![](https://setopati.net/wp-content/uploads/2019/06/3.jpg)
![](https://setopati.net/wp-content/uploads/2019/06/2.jpg)
![](https://setopati.net/wp-content/uploads/2019/06/1.jpg)