बुटवलका यमबहादुर थापाले ढुंगा र काठका मुढामा जीवन खोज्न थालेको झण्डै तीन दशक भयो। एसएलसी परीक्षा पास गरेपछि २०४८ सालमा गुल्मीदेखि बुटवल झरेका थापाले क्याम्पसको पढाइसँगै मूर्तिकला पनि सुरू गरे।
सानैदेखि कलामा रमाउने थापाले सुरूका दिनमा साइनबोर्ड, शिलापत्र र ताम्रपत्र लेख्दै मूर्ति बनाउन थाले। नेपाल ललितकला क्याम्पसबाट मूर्तिकलामा मास्टर्स गरेका थापाले बुटवलमा इमेज आर्ट स्टुडियो सञ्चालन गरेपछि उनको सीप र क्षमताले चर्चा पाउन थाल्यो।
विभिन्न भगवानका मूर्ति, राष्ट्रिय शहीदहरू, राजनीतिक दलका दिवंगत नेताहरू, गौतमबुद्ध लगायत दर्जनौं प्रकारका सयौं आकृतिहरू ढुंगा र काठका मुढामा उतारेका थापाले अहिले प्रजापति र गौतमबुद्धको आकृतिलाई मुढामा कुँद्दै छन्।
गौतमबुद्धलाई जन्म दिएको सातदिनमै आमा मायादेवीको निधन भयो। सात दिनका टुहुरा गौतमबुद्धलाई पालनपोषण गरी हुर्काउने काम तिनै प्रजापति (सानीआमा) ले गरिन्। तर सिद्धार्थ गौतमलाई गौतमबुद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी प्रजापतिको खासै चर्चा हुन सकेको छैन।
![](https://setopati.net/wp-content/uploads/2019/05/aaa.jpg)
‘तिनै प्रजापति र गौतमबुद्धको सम्बन्धको कथालाई यही काष्ठकलामार्फत् उतार्दै छु, ताकी यो काष्ठकला हेर्नेलाई प्रजापति को हुन् र गौतमबुद्धसँगको उनको सम्बन्ध के थियो भन्ने जान्न उत्सुकता ल्याओस्,’ उनी भन्छन्।
काठमाडौं चाबहिलका प्रथमराज बज्राचार्य काष्ठकलाकै लागि विगत चार दिनदेखि रुपन्देहीमा छन्। रुपन्देहीको देवदहस्थित बुद्ध सामुदायिक वनको गौतमबुद्ध राष्ट्रिय उद्यानमा मूर्ति कुद्न व्यस्त बज्राचार्यले अन्नजल सबै त्यागेर गौतमबुद्ध समाधी बस्दाको अवस्थालाई मूर्तिमा उतार्दै छन्।
बन्द गरिएका आँखा, खोलिएका र फुटेका ओठ, मुर्छित अवस्थामा घाँटी र छातीमा हड्डी र करङमात्र देखिएको दुब्लो शरीरमा हड्डी र छालामात्र बेरिएको आकृतिलाई जति मसिनो गरी मूर्तिमा उतारेका छन् बज्राचार्यलाई गौतमबुद्धको बारेमा त्योभन्दा धेरै जानकारी छ।
‘यो गौतमबुद्ध अन्न र पानी केही नखाइ समाधी बस्दाको अवस्थाको हो, जीवन र मृत्युको दोसाधमा रहेको बेला उहाँका आँखा बन्द थिए, मुखको ओठ खुला र फुटेको थियो म त्यही कथाकै आधारमा कल्पना गरेर आकृति उतार्दै छु,’ उनले भने।
सन् २०११ मा यस्तै मूर्ति बनाएर राष्ट्रिय पुरस्कार प्राप्त गरेका उनले त्यसयता एकदर्जन बढी यस्तै मूर्ति बनाइसकेका छन्।
एसएलसीसम्म अध्ययन गरेका बज्राचार्यले मूर्तिकलामा औपचारिक शिक्षा नलिए पनि आफ्नै बुवा पुण्यराज बज्राचार्यको सिकाइबाट २० वर्ष मूर्तिकलामै बिताए।
![](https://setopati.net/wp-content/uploads/2019/05/anamari.jpg)
‘मैले कुनै अध्ययन गरेको छैन, तर कुनै पनि मूर्ति बनाउँदा त्यसको कथावस्तु परिवेशबारे अध्ययन गर्छु, त्यही अनुरूप आकृति कल्पना गर्छु र आफ्नै शरीर नापेर मूर्ति बनाउन थाल्छु,’ उनी भन्छन्।
चाबहिलमा उड क्राफ्ट ग्यालरी सञ्चालन गर्दै आएका बज्राचार्यले चार वर्ष लगाएर बनाएर नेवारी परम्परामा पुजिने (छास हिमा) देवताको एउटा मूर्ति भर्खरै राष्ट्रिय प्रदर्शनीमा राखिएको छ। जुन उनलाई सबभन्दा मनपर्ने मूर्ति हो।
थापा र बज्राचार्य मात्र होइन उनीहरूसँगै देशभरका १७ जना कलाकारहरू रुपन्देहीको देवदहमा जुटेका छन्। गौतमबुद्ध राष्ट्रिय पार्कमा भुइँभरि लडाइएका साल, साज र सिसौका बडेमानका मुढामा काष्ठमूर्ति कुद्न व्यस्त छन्।
ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदहले काष्ठकलाको माध्यमबाट देवदहको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काष्ठकला कार्यशालाको आयोजना गरेको हो।
सोही काष्ठकला कार्यशालमा रुपन्देही, चितवन, पाल्पा, गुल्मी, काठमाडौं, झापालगायतबाट सहभागी भएका कलाकारले बुद्ध जीवनीसँग सम्बन्धित काष्ठमूर्ति बनाउँदै छन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका अर्का सदस्य रुपन्देही तिलोत्तमाका गोविन्द चौधरीसँग गौतमबुद्धका ससुरा शुक्रबुद्ध वास्तवमै कस्ता थिए भन्ने हेर्न तस्बिर पनि साथमा छैन। तर बुद्धकालका व्यक्तिहरूको भेषभूषा र परिवेशलाई कल्पना गर्दै शुक्रबुद्धलाई उतार्न सजिलै भएको उनी बताउँछन्।
शनिवार कार्यशाला स्थलमा पुग्दा काठमाडौंकी आनमारी तामाङले सँगैका दुई जना साथीको फोटो खिच्दै थिइन्। एक जनाले अर्कोलाई स्नेहपूर्वक काखमा लिएको दृश्यलाई उनले आफ्नो मोबाइलमा चारैतिरबाट कैद गर्दै थिइन्। उनी आफ्नो सिर्जनामा यशोधराले राहुललाई काखमा लिएको मूर्ति बनाउँदै थिइन्।
कल्पनामै भए पनि आफूले बनाएको मूर्ति जीवन्त देखिओस् भन्ने उनको प्रयास थियो। मूर्तिकलामा स्नातकोत्तर गरेकी तामाङले विगत ६/७ वर्ष भयो मूर्ति बनाउन सुरू गरेको। तामाङले यसैवर्ष मूर्तिकला बनाएर राष्ट्रिय पुरस्कार पनि प्राप्त गरिन्।
![](https://setopati.net/wp-content/uploads/2019/05/DSC_7074.jpg)
यहि भीडमा थिए झापाका केडिया खा। बीचमा पूरै धोद्रिएर खोक्रो बनेको मुढामा मूर्ति बनाउँदै गरेका खा को सिर्जना पनि अरुको भन्दा भिन्दै देखिन्थ्यो। उनले धोन्द्रिएको सालको मुढाको दुई तर्फ बनाइएका मूर्तिमा शान्तिलाई प्रतिबिम्बित गरेका थिए भने भित्रको कालो भागलाई अशान्तिलाई प्रतिबिम्बित गरेका थिए।
‘लुम्बिनी शान्तिको मुहान, त्यसैसँग जोडिएको देवदह, मैले यहीँ शान्तिको मुहानमा आएर शान्ति र अशान्तिको विचमा कति फरक रहेको छ भन्ने देखाउन खोजेको हुँ,’ उनले भने।
चितवनका लालकाजी लामा नौ दस कक्षा पढ्दै मूर्तिकलामा लागे।
अहिले उनी काठमाडौंमा रहेर यही पेशामा दत्तचित्त छन्। मूर्तिकलामा ३० वर्ष बिताएका लालकाजी एउटा ठूलो किताब पढेर बुझ्न सकिने भाव र अर्थ एउटै मूर्तिले बुझाउन सक्ने बताउँछन्।
‘किताब पढेका, अरुले भनेका, सुनाएका कुराहरू महशुस गर्न सकिँदैन तर मूर्तिलाई छामेर स्पर्श गरेर आँखा नदेख्नेले पनि महशुस गर्न सक्छ,’ उनले भने। ‘मूर्तिमा जीवनलाई उतारिएको हुन्छ तर त्यसको भाव बुझ्न सक्नु पर्यो ।’ कार्यशालामा उनले लुम्बिनीको मायादेवी मन्दिरमा रहेको मायादेवी र बुद्धको मूर्ति बनाउँदै छन्।
काष्ठकलाको माध्यमबाट देवदहलाई पर्यटकीय नगरको विकास गर्ने गरी ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदहले काष्ठकला कार्यशालाको आयोजना गरिएको हो।
देवदह नगरपालिका पर्यटकीय हिसाबले महत्वपूर्णस्थल रहेकोले कार्यशालाले देवदहलाई पर्यटकीय नगरको विकास गर्न थप टेवा पुर्याउने आयोजकले अपेक्षा लिएको छ।
![](https://setopati.net/wp-content/uploads/2019/05/kediya-kha.png)
बुद्ध सामुदायिक वन उपभोक्ता समूहले देवदहलाई पर्यटकीय नगरको विकास गर्ने गरी विगत ३ वर्षदेखि गौतमबुद्ध राष्ट्रिय उद्यान निर्माण गरी अगाडि बढिरहेको छ।
ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य यमबहादुर थापाले देवदहको इतिहास बुद्धसँग जोडिएकोले बुद्धसँग सम्बन्धित मूर्तिहरू निर्माण गरिने बताए।
उनले ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागले प्रदेश नं. पाँचको लागि छुट्याएको थोरै बजेटबाट बुद्ध मावली देवदहमा काष्ठकला कार्यशाला आयोजना गरिएको बताए।
‘गौतमबुद्धसँग सात अंकको साइनो पनि छ, उनी जन्मिने बित्तिकै सात पाइला हिँडे, सात दिनमै आमा गुमाए हामीले पनि काष्ठकला कार्यशाला सात दिनकै आयोजना गरेका छौं,’ उनी थप्छन्।
‘हामीले सात दिन लगाएर मेहेनत गरी मूर्ति बनाए पनि हामी मायादेवी जस्तै हौं जन्माएर छोड्ने, तर यहाँका स्थानीयले भने प्रजापतिले जस्तै यी मूर्तिहरूको रेखदेख र संरक्षण गर्नुपर्ने छ,’ उनी भन्छन्।
देवदह भगवान गौतम बुद्धको मावलीस्थल रहेकोले देवदहलाई पर्यटकीय नगरको रूपमा विकास गर्न कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
ड्रिम देवदह यूनिटी फर चेन्जका संयोजक सिद्धिचरण भट्टराईले बुद्धकालीन प्राचिन कोलिय गणराज्य भए पनि देवदहको प्रचारप्रसार हुन नसकेको अवस्थामा देशभित्र मात्र नभइ विदेशमा समेत देवदहको पहिचान स्थापित गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताए।
कार्यशालाबाट निर्माण गरिएका मूर्तिहरू गौतमबुद्ध राष्ट्रिय उद्यानमा आन्तरिक तथा बाह्य पर्यटकहरूले हेर्न मिल्ने गरी राखिने छ।
पछिल्लो समय देशका विभिन्न स्थानमा बनिरहेका पार्क, चोक, तथा ऐतिहासिक स्थलहरूमा मूर्ति तथा शालिकहरू राख्न थालिएपछि यसको महत्व बढ्न थालेकोमा उनीहरू खुसी छन्।
‘पहिले पत्थरकट्टा भन्थे अहिले बल्ल यी नै कलाकार रहेछन् भनेर बुझ्न थालेका छन्,’ थापाले भने, ‘ढुंगाको काम गर्छौं पत्थरकट्टा भने पनि ठीक छ, धातुको काम गर्छौं कामी भने पनि ठीक छ, काठको काम गर्छौं डकर्मी भने पनि ठीक छ, माटोको काम गर्छौं कुमाले भने पनि ठीक छ, तर जसले जे भने पनि हामी राष्ट्रलाई माया गर्ने र राष्ट्रियता झल्काउने कलाकार हौं।’
![](https://setopati.net/wp-content/uploads/2019/05/lalkaji.jpg)
![](https://setopati.net/wp-content/uploads/2019/05/newari-dewata.jpg)
![](https://setopati.net/wp-content/uploads/2019/05/pratham-bajracharya.jpg)