वरिपरि पर्खाल, बीचमा सुन्तलाको बगैंचा। आँगनमा आँपको रुख। त्यही बगैंचाको बीचमा पुतली जस्तै सेतो दरबार साँच्चिकै कलाकौशलले भरिपूर्ण।
पुतली दरबार।
आजभन्दा करिब एकसय ११ वर्षअघिको पुतली दरबारको स्वरूप हो यो।
१९६० मा निर्माण सुरू भएर १९६५ मा निर्माण सकिएको पुतली दरबार दाङ र सल्यानको विकासको लागि एउटा गतिलो ‘लाइफलाइन’। तर त्यो लाइफलाइन केही वर्षमै तुहियो।
माओवादी युद्धकालमा दरबारबाट झ्याल ढोका चोरी ।माओवादी युद्ध उत्कर्षमा पुग्दै गर्दा सामान्ती राजसंस्थाको प्रतीकको रूपमा त्यसलाई व्याख्या गर्दै माओवादीका कार्यकर्ताले नै त्यहाँका आकर्षक र कलाकृतिले भरिएका झ्याल ढोका र अन्य फर्निचर रातारात गायब बनाए। त्यही भएर केही वर्षमै पुतली दरबारको अस्तित्व समाप्त भयो।
हाल दरबार धप्किएको स्थलस्थानीय जेष्ठ नागरिकका अनुसार विक्रम संवत २०५७/०५८ सालमा पुतली दरबार भत्किन सुरू भएको हो। अहिलेपुतली दरबारको नाम निशान केही छैन। दरबार निर्माणका लागि ल्याइएका ढुंगा र इँट्टाहरू यत्रतत्र छरिएका छन्। कतिपयले दरबारका ढुंगाहरू निकालेर घर निर्माण गरिरहेका छन् भने कतिले पर्खाल बनाएका छन् ।
२२ से २४ से राजा रजौटाको पालामा शमसेरबहादुर शाहले सल्यानको फालावाङमा त्यो आकर्षक पुतली दरबार बनाउन लगाएका थिए।
फालावाङी राजाको राजकाज चल्दासम्म दाङ र सल्यानको शासन व्यवस्था यहीँबाट सञ्चालन हुन्थ्यो। राजा रानीको सवारीका लागि हात्ती, घोडा, डोला, सुसारे, राजाका फौज र जनताको आवात जावातले फालावाङमा विशेषचहल पहल हुने गर्दथ्यो। फालावाङ त्यतिबेला दाङ र सल्यानको शासन सत्ताको मियोको भूमिकामा थियो।
फालावाङको पुतली जस्तै ‘पुतली दरबार’ अझै पनि मानिसको स्मृतिमा ताजै छ। सल्यानको कपुरकोट बजारदेखि झन्डै १५ किलोमिटर पश्चिम पहाडै पहाडको यात्रापछि फालावाङ पुग्न सकिन्छ।
कपुरकोट गाउँपालिकाबाट हालसालै यहाँ जाने बाटो पनि खनिएको छ। जीपमात्रै चल्छ। त्यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ अन्तरगतको थर्कोटको पहाड छिचोल्दै फालावाङ हुँदै लुहामसम्म जाने बाटो पनि छ। यो बाटोमा पनि साना सवारी जीप, ट्याक्टर बाहेक अरु चल्न संभव छैन।
कुनै दिन दुई जिल्लाको शासन सत्ताको केन्द्र मानिने फालावाङ भने आज गुमनाम छ।
नेपाली कांग्रेसले राणा विरोधी आन्दोलन चर्काउँदै लगेपछि राजा दरबार छोडेर काठमाडौं लागे। त्योसँगै फालावाङी राजा र यहाँको पुतली दरबारको अस्तित्व दिनानु दिन गुमनाम बन्न पुग्यो ।
सल्यानको फालावाङस्थित पुतली दरवार ग्रिष्मकालीन दरबार थियो। गर्मी दिनमा राजा सल्यानको शीतल वातावरणमाबसेर राजकाज सञ्चालन गर्दथे भने जाडोयाममा दाङ तुलसीपुरस्थित दरबारबाट राजकाज चलाउँथे।
शमसेरबहादुर शाहले बनाएका थिए दरबार
स्थानीय ७३ वर्षीय गोविन्दबहादुर बस्नेतका अनुसार शमसेरबहादुर शाह देवशमसेर जवराका ज्वाँइ थिए भने शमसेरबहादुरका छोरा गेहेन्द्रबहादुर शाह जुद्धशमसेरका ज्वाँइ हुन । फालावाङ राजाका सन्तानहरू जितेन्द्रबहादुर र सुरेन्द्रबहादुर पनि हुन्। अरुभन्दा राजाको शासन कालसम्म नेपालमा शरदचन्द्र शाहको नाम अलि चर्चामा रह्यो। अहिले पनि त्यो दरबार भएको जग्गा राजाकै सन्तान गोविन्दबहादुर शाहका नाममा छ। नेपाली कांग्रेसले सुरू गरेको राणा विरोधी आन्दोलन चर्किंदै गएपछि गेहन्द्रबहादुर पनि भान्जा नाता पर्ने दाङ तुलसीपुरको गौरीगाउँ निवासी खिलतबहादुर सिंहको मध्यस्तताबाट पुतली दरबारको रेखदेख र मर्मतको काम हुँदै आएको थियो। उनको कालपछि पुतली दरबारको रेखदेख गर्ने कोही भएन ।
आज त्यो पुतली दरबार हुन्थ्यो त ...
स्थानीय ६७ वर्षीय दोजबहादुर नेपाली अनुसार पुतली दरबार (झकझमकाउँदो) चम्किने पुतली जस्तै सुन्दर र आकर्षकथियो।
‘त्यो दरबार आज पनि म सपनामा देख्छु,’ नेपालीले भने ‘फेरि त्यस्तै दरबार यहाँ कहिले र कसले बनाइदेला भनेर कल्पिन्छु।’
उनले पुतली दरबार फेरि फालावाङमा हेरेर मर्ने चाहना रहेको व्यक्त गरे। ‘इतिहास मास्नु गलत हो। भावी पुस्ताको अध्ययनको लागि पनि त्यो संरक्षण गरिनुपर्छ,’उनले भने।
स्थानीयले घरको भित्तामा टाँगेर राखेका दरबारका चित्र।आज पनि टाढा टाढाबाट पुतली दरबार र फालावाङ हेर्न भनि मानिसहरू भने आउने गरेका छन्। तर उनीहरू स्थानीयले सम्मानका साथ घरका भित्तामा टाँगेर राखेका दरबारको तस्विर हेर्दै फर्किन्छन्।
स्थानीय ६५ वर्षीय होताराम बस्नेतले पनि राज्यले दरबारको संरक्षणमा ध्यान नदिएर ठूलो गल्ती गरेको बताए। पुतली दरबारको नाम निशाना नरहे पनि आज त्यहाँ धनसार ( भकारी), हात्तीसारको निशान देखिन्छ।
काठमाडौं,पाल्पालगायतका स्थानबाट मानिसहरू फालावाङको त्यो सुन्दर पुतली दरबार खोज्दै घुम्न आउँछन्। इतिहासको कला संस्कृतिलाई जगेर्ना गर्दै राज्यले पुतली दरबारको पुनर्निर्माण गर्नुपर्ने जानकारहरू बताउँछन्।
जीर्ण अवस्थामा रहेको भखारी अर्थात् धनसार।