कैलाली भ्रमण वर्ष शुरु


‘कलकल बग्ने कर्णाली नदीमा र्‍याफ्टिङको मज्जा बेग्लै हुँदो र’छ।’ नेपालको सबैभन्दा लामो र पानीको सतह बढी भएको कर्णाली नदी छेउको चिसापानीमा ‘कैलाली भ्रमण वर्ष, २०७५’को आज शुभारम्भका अवसरमा गरिएको र्‍याफ्टिङ (जलयात्रा)मा सहभागी प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले अनुभव सुनाए।

भ्रमण वर्षको औपचारिक उद्घाटनपछि कर्णाली नदीमा आठ/दश वटा डुंगामार्फत् गरिएको र्‍याफ्टिङमा, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यले सामूहिक रुपमा र्‍याफ्टिङको आनन्द लिए। कर्णाली नदी जलयात्राका लागि निकै उपयुक्त भए पनि यसले व्यावसायिक रुप भने लिन सकेको छैन ।

सन् २०२० मा नेपालमा भ्रमण वर्ष मनाउने तयारीस्वरुप आजदेखि कैलाली भ्रमण वर्ष शुरु गरिएबाट यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने डल्फिन संरक्षण केन्द्रका विजयराज श्रेष्ठले बताए। कैलालीको कर्णाली चिसापानी प्रदेश नं ७ को प्रवेशद्वारका रुपमा रहेको छ । चिसापानीस्थित कर्णाली नदीमा बनेको ‘केबुल स्टेड ब्रिज’ दक्षिण एशियाकै नमूनाको पुल मानिन्छ ।

कैलाली जिल्ला ठूलो सम्भावना भएको क्षेत्र भएकाले भ्रमण वर्षको शुरुवातले पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने प्रदेशसभा सदस्य अमरबहादुर साउदले बताए। ‘आज पहिलो दिन भारतीय पर्यटकहरु पनि देखिए’–साउदले भने, ‘यसलाई निरन्तरता दिन सके पर्यटन व्यवसायका लागि शुभसंकेत हुने देखिन्छ।’

रक्षामन्त्री ईश्वर पोखरेलले कैलाली भ्रमण वर्षको शुभारम्भ गर्दै ७ नं प्रदेशको पर्यटन विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले धनगढीमा रहेको गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्तरोन्नतिको पहल थालिने बताए। कार्यक्रममा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावल, पूर्वमन्त्री लेखराज भट्ट, भ्रमण वर्ष सचिवालयका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापालगायतले पर्यटन प्रवद्र्धनका विषयमा बोलेका थिए।

कैलाली जिल्ला प्रदेश नं ७ को प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्र मात्र नभई समग्र प्रदेशको प्रचूर आर्थिक सम्भावना बोकेको जिल्ला भएकाले यसको प्रचारप्रसारका लागि भ्रमण वर्षको आयोजना गरिएको हो । भ्रमण वर्षका क्रममा जिल्लाका पर्यटकीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक एवं दुर्लभ वन्यजन्तुको वासस्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

जिल्लामा चिसापानी क्षेत्र, कर्णाली पुल, राजकाँडा, टीकापुर बृहत् उद्यान, घोडाघोडी ताल, डल्फिन संरक्षण तथा प्रजनन् केन्द्र, वसन्ता जैविक मार्ग, खानीडाँडा जस्ता रमणीय–दर्शनीयस्थल तथा गोदावरी धाम, शिवपुरी उत्तर रामेश्वरम धाम, बेहडाबाबा, मोहन्याल क्षेत्र, बर्दगोरिया धाम, त्रिवेणी धामजस्ता धार्मिकस्थल छन् ।

यस्तै, जिल्लामा गर्भा दरबार, टीकापुर बंगलाजस्ता ऐतिहासिक धरोहर र थारु घरबास, विविध कला, भाषा, संस्कृति, वेशभूषा, चालचलन एवं जल, जंगल, जमीनजस्ता सांस्कृतिक तथा प्राकृतिक सम्पदाको बाहुल्य पनि छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.