सललऽऽऽ कालीगण्डकी


माघ महिनाको चिसो मौसम। त्यसमा पनि कालिगण्डकीको चिसो पानीलाई चुनौति दिँदै कालिगण्डकीमा बग्नु (र्‍याफ्टिङ) पक्कै सहज होइन। तर पनि यही चिसो मौसममा कालिगण्डकीकाे चिसो पानीमा र्‍याफ्टिङ गर्नुको मज्जा भने बेग्लै छ।

आज भन्दा लगभग १०/१२ वर्ष पहिले संयोगले गाउँबाट गलेश्वर आउँदा गोराहरूले कालिगण्डकीमा जलयात्रा (र्‍याफ्टिङ) गरेको देखेको थिएँ। त्यही दिनबाट हो, कालिगण्डकीमा बग्ने रहर पलाएको। म्याग्दी महोत्सवमा बाहेक अन्य अवस्थामा जलयात्रा गर्ने कुनै सम्भावना थिएन। तर म्याग्दी महोत्सवमा पनि कालिगण्डकीमा जलयात्रा गर्ने मेसोमेलो मिलेको थिएन। मनको रहर मनमै थियो।

बिहान १० बजेतिर पसलमै थिए। म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश दाईले र्‍याफ्टिङ जाने भए ठाउँ खाली भएको बताउनुभयो। बाह्र वर्षदेखिको चाहना पुरा हुने भएपछि नजाने प्रश्नै भएन। महोत्सवका सुरुवाति दिनमा जलयात्रामा मानिसले खासै रुचि नदेखाए पनि उहाँको टिमले यात्रा गरेपछि मानिसको फ्लो बढेको थियो।

बेनीबाट ११ बजे जलयात्रा सुरु गर्ने बताइएको थियो। खाना खाँदै थिए खम थापाले र्‍याफ्टिङ सुरू हुन लाग्यो छिटो आउनुस् नत्र छुट्नु होला भनेपछि आधा खाना खाएर एक जोडा एक्स्ट्रा कपडा प्याक गरेर प्रमोद श्रेष्ठ दाइको फर्निचरमुनि पुगेँ। त्यहाँ पुग्दा पाँचसात जनामात्र देखेँ। मनमनै डर लाग्यो लौ म त छुटेछु क्यारे। अलि पर खम सर र नन्दुलाई देखेपछि भने मन ढुक्क भो।

‘फेमिली रिभर’को परिचय पाएको कालिगण्डकी विदेशी पर्यटकको र्‍याफ्टिङमा पहिलो रोजाईमा समेत पर्छ। अन्य ठाउँको भन्दा केही जोखिम पनि छ। मनको रहर पनि पुरा हुने बेनी–देखि पनि र्‍याफ्टिङकाे सम्भावना छ है भनेर बाहिर प्रचार पनि हुने त्यो हिसाबले पनि म निकैै उत्साहित थिएँ– र्‍याफ्टिङका लागि। एउटामा अाठ जनाको दरले चार वटा डुङ्गामा ३२ जना मात्र लैजाने कुरा भो। लगभग पौने बाह्र बजे सबै मान्छे भेला भए। तर डुङ्गा आएन।

११ बजेबाट अब १० मिनेटमा आउँछ भन्न थालेको डुङ्गा १२ बजेसम्म पनि आएन। त्यसपछि म, खम थापा, नन्दु पाईजा, दुर्गा बुढा मगर अब पनि आएन भने नजाने भनेर घर फर्कने निर्णय गर्यौं। फर्कौं चाहना अधुरै होला भन्न पिर, नफर्कौ बेर भएर अत्यार लागिसक्यो। त्यसपछि डुङ्गा व्यवस्थापनको मान्छेले अब १० मिनेटमा आएन भने जानुहोला भन्यो। त्यसमा पनि १० मिनेट थप्दै जाँदा साढे १२ बजेतिर बल्ल एउटा डुङ्गा आयो। त्यसपछि भने मन शान्त भो जल गाइड ज्ञानुले सबैलाई बोलाएर र्‍याफ्टिङ गर्दा अपनाउनु पर्ने सावधानी, उनले हामीलाई दिने निर्देशन बताउन थाले।

उनले बेनी–मालढुंगाको जलयात्रा धेरै साहसिक भएकोले कमजोर मुटु भएकाहरू यात्रा नगर्न सुझाईरहेका बेला मलाई झन छिटो छिटो जलयात्रा गर्न उत्सुकता बढीरहेको थियो। म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिका सभापति सुनिता केसी म्याडमको नेतृत्वमा १२ जना महिला उद्यमीहरू, उद्योग वाणिज्य संघका कोषाध्यक्ष अमित बानियाँ, सदस्य लक्ष्मण शर्मा, मोति पौडेल लगायत हामीहरू गरी चार वटा डुङ्गामा ३२ जना जाने भनेपनि ३४ जना भयौँ। त्यसपछि सबै बाँडिएर बस्यौँ। हाम्रो डुङ्गामा म, नन्दु पाईजा, दुर्गा मगर, विष्णु रिजाल, उमेश आचार्य, सिर्जना भट्टचन, शारदा हमाल, शिशिर भण्डारी गरी आठजना भयौँ। पछि पुनः लक्ष्मण दाइ थपिएपछि नौ जना भयौँ। खमजी ग्रुपबाट छुट्नु भो। अनि सुरू भयो हाम्रो जलयात्रा– सललल कालिगण्डकी।

दिनको १ बजे र्‍याफ्टिङ सुरू भयो। मनमा कौतुहलता, केही भय, रोमाञ्चकताका साथ एकैछिनको अभ्यासपछि म्याग्दी र कालिगण्डकीको दोभानसँगै डुङ्गा खियाउँदै यात्रा सूरु भयो। म्याग्दी र कालिगण्डकीको संगम आउनेबेलामा नै पहिलो खोचमा डुङ्गा हामफालेपछि मनको भय धेरै कम भयो। त्यसपछिको केही समथर बहावमा यात्रापछि अन्य स–साना छालहरू पार गर्दै जाँदा आनन्द ज्यादा भय हराउँदै गयो। चिसो मौसममा कालिगण्डकीको चिसोको कुनै वास्ता थिएन वास्ता थियो बस् र्‍याफ्टिङकाे अनुभवको, आनन्दको। सबै भन्दा अगाडि हाम्रो डुङ्गा थियो। अन्य जलयात्रा गाईड भन्दा हामीलाई गाइड गरेका ज्ञानु अलि अनुभवी रहेछन्। उनैले नै पछिका तीनवटा डुङ्गाका गाईडलाई समेत गाईड गर्दा रहेछन् त्यसैले हामी अलि बढी नै ढुक्क थियौँ। हामी दाया र बायाँ बसेका जलयात्रीलाई पालैपालो कालिगण्डकीको जलले नुहाइदिन्थे। बीचमा वस्ने साथीहरू त्यति सारो नभिजेपनि हामी अगाडि बस्ने बेसी भिजेका थियौँ। त्यसपछि पछाडिका साथीहरू।

‘कालि खोला फनक्क घुमेको छैन माछि जाललाई केलाई बुझेको जाऊँ साईली बेनीबजार’ को गीतले कालिगण्डकी नै गुञ्जयमान भयो। मित्र विष्णुले उक्त गित गाउनमा मलाई सघाए। ‘बेनीको बजार जता माया उतै छ नजर’ यो गीत त छुट्ने कुरै भएन। गाईड ज्ञानुको ‘फरवार्ड’, ‘फास्ट फरवार्ड’, ‘व्याकवार्ड, ‘स्टप’ लगायतको निर्देशमा हामीले प्याडल चलाउँदै गयौँ।

जति मजा लागिरहेको थियो जलयात्रा, त्यति नै जटिल पनि रहेछ। हामी अगाडि–अगाडि गइरहेका थियौँ। लस्ती नजिकै पुग्ने बेलामा बीचबाट लैजान खोज्दाखोज्दै हाम्रो डुङ्गा कुनातिर गयो र ढुंगामा अड्कियो। त्यही मुन्तिर अलि जोखिम ठाउँ रहेछ। गाईडले तत्काल सबैलाई कुनातिर आउन इशारा गरेअनुसार सबै र्‍याफ्टिङ त्यतै आए। नदीको ठूलै बहाव र जोखिम हुन सक्ने आंकलन गर्दै गाइडले सम्भवत हामी हिडेर जानु पर्ने र केही तलबाट मात्रै डुङ्गा चढ्ने भन्दै सम्भावित जोखिम हेर्न केही तल गए । त्यही बेलामा विस्तारै खमजीहरू चढेको डुङ्गा बग्न थाल्यो। सबै एकैठाममा डल्लो परेका थिए। धन्न गाइड ठीक समयमा आएर सबैलाई आ–आफ्नो पोजिसनमा जान निर्देशन गरेर डुङ्गा कालिगण्डकी बहावसँगै जोखिमलाई छिचोल्दै गयो। त्यसपछि हाम्रो डुङ्गा पनि बग्यो।

वास्तवमा र्‍याफ्टिङ गर्नु मजा त्यही जोखिममा भयो। गाइड ज्ञानुले ‘फास्ट प्याडल’ चलाउन निर्देशन दिईरहेका थिए, नदीको बहावले प्याडल नै बगाउँला जस्तो हुन्थ्यो। वास्तवमै जलयात्रा साहसिक यात्रा नै हो भन्ने अनुभव त्यही खोचमा भयो। गाईडले त्यो खोँच पारगरेपछि कालिगण्डकीको पानीमा भिजाउनुसम्म भिजाए। डुङ्गालाई एकै ठाउँमा चारपाँच पटक घुमाएर नदीको छहरामा लगेर थापे। चिसो मौसममा कालिगण्डकीको चिसो पानीमा भिज्दा वास्तविक मजा आयो।

हामीलाई गाइड गर्ने ज्ञानु भन्थे विदेशी नागरिकलाई डुङ्गा पल्याएन भने गुनासो गर्छन्। डुङ्गा पल्टने कुराले मनमा चिसो नपसेको होइन। तर संयोग म भने झन्डै एक मिनेट कालिगण्डकीमा विना डुङ्गा रहेँ। लस्ती भन्दा केही तल पुगेका थियौँ, ठूलो छाल आयो। डुङ्गा स्पीडमा गयो र फनक्क घुम्यो। खुट्टा लक गर्दागर्दै साह्रै देखेकोले समथर आउन लागेकोले भर्खर बाहिर के निकालेको थिएँ, डुङ्गाको पछाडिको भाग ढुंगामा ठोक्कियो। म नदीमा खसेँ। त्यसपछि एक हातले प्याडल अर्को हातले डुङ्गामा रहेको डोरी समाते। सुरुमा नदीमा खस्दासाथ डर लागेपनि डोरीमा समातेर एकछिन नदीमा बग्दा छुट्टै आनन्द आयो। पानीले कुम भन्दा तल सबै निथु्रक्क। त्यसपछि साथीहरूको सहायता फेरी डुङ्गामा चढे। नदीबाट माथि आइसकेपछि त भय भन्ने कुरो नै हरायो। ठूलो खोँच आउँदा झन् मजा आउन थाल्यो।

चारवटा डुङ्गाका जलयात्रीले एकले अर्कोलाई पानी छ्याप्दै चिसो मौसम र चिसो पानीलाई समेत चुनौति दिँदै समथर आउँदा फोटो खिच्ने, एकले अर्कोलाई पानीले छ्याप्ने, गीत गाउने, ओरालो, खोच आउन लाग्यो भने चिच्याउँदै र्‍याफ्टिङ जारी रह्यो। नदी किनारमा भेटीएका मानिस, बस्तीहरू, विद्यार्थीलाई हात हल्लाउँदै, ४ बजे हाम्रो यात्रा मालढुङ्गामा पुगेर रोकियो। साथीहरूले नयाँपुलसम्म जाउँ भन्दै थिए तर जाडोले यात्रा त्यही टुंगायौँ। डुङ्गा मालढुंगामा ल्याण्डीङ्ग भएसँगै माघको चिसो र कालिगण्डकीको छालले भिजाएको महसुस बल्ल हुन थाल्यो।

विशेष गरी विदेशी पर्यटक कालिगण्डकी नदीमा जलयात्राका लागि आउने गरेको गाईड ज्ञानुले बताए। पछिल्ला केही वर्षयता नेपालीहरू पनि जलयात्रामा लालायित देखिएका छन्। बेनीदेखि मालढुंगासम्मको जलयात्रामा पनि प्रचुर सम्भावना रहेको उनले बताए। ‘जोखिम त अलि जोखिम नै छ तर पनि जलयात्रा भनेकै साहसिक यात्रा हो, त्यसैले यो क्षेत्रमा पनि र्‍याफ्टिङकाे प्रचुर सम्भावना छ’ ज्ञानुले सुनाए। म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी महोत्सवको अवसरमा जलयात्रा गराएर त्यसको सम्भावना उजागर गरेको छ। यसलाई क्यास गर्न सक्ने हो भने म्याग्दीमा पनि यस व्यवसाय फस्टाउन सक्छ। म्याग्दी उद्योग वाणिज्य संघ धन्यवादको पात्र त छँदै छ।

अब महोत्सवमा मात्र नभएर निरन्तर रुपमा हप्ता, १५ दिन वा १ महिनामा एकपटक बेनी–मालढुंगा जलयात्राको चाँजोपाजो मिलाउनका लागि विशेष पहल गर्दा उपयुक्त देखिन्छ। अथवा अन्य कुनै निकाय, व्यवसायिक फर्मले पनि उक्त कार्यलाई अगाडि बढाउन सकिन्छ।

मालढुंगामा कपडा चेञ्ज गरेर दुई कचौरा सुप, माछाको सुप र चियाको चुस्कीले ज्यानलाई आवश्यक तापक्रम पुगेपछि ज्यान बेनीतिर मोडियो। जलयात्रीले मालढुंगाका स–साना रेष्टुराँहरू भरिएका थिए। सुनिता म्याडले गाडिको व्यवस्था गर्दै हुनुहुन्थ्यो। म, खम सर, नन्दु र दुर्गा भने अलि छिटो आउनुपर्ने भएकोले ट्याक्सीमा ‘फेवा तालमा साइँली डुङ्गा सललल….’ गीतको म्युजिक सँगै र्‍याफ्टिङको अविस्मरणीय पललाई स्मरण गर्दै त्यही कालिगण्डकी माथि डुङ्गामा बग्दै आएको नदीको शीर पच्छाउँदै बेनीतिर हुइकियौंँ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.