जाऔं है दाप्चा साइकलमा सरर

पुरानो दाप्चा बजार


दाप्चाली मित्र कृष्ण गोपाल श्रेष्ठको साइकले निम्तो मान्न उनी सँगै रुकुमेली मित्र खड्ग पुन र म शनिबार हिड्यौं। पुन पेशाले चित्रकार हुन् तर साइकलका शौकिन। साइकल यात्रा भनेपछि रंगका कुची थान्को लगाएर बेला मौकामा कुलेलाम ठोक्छन्। उचित साइत पर्खदैनन्।

पाटन मंगलबजारबाट साइकलका पाउदान मार्दै गफीदै अगाडि बढ्यौं। इमाडोल साना गाँउ लुभुहुँदै करिब १० कि.मी को दूरी तय गरी मंगलबजारबाट लामाटार बसपार्क।

लाकुरी भञ्ज्याङ्ग

काँक्रे भञ्ज्याङ्ग

गोपालजी लाकुरी भञ्ज्याङ्गको फेदिबाट टुप्पो तिर हेर्दै निक्कै निरास भए। उकालो चुनौतीपूर्ण छ। करिब ३ कि.मी पक्कि, २ कि.मी कच्चि बाटो पार गरेर लाकुरी भञ्ज्याङ पुगिन्छ। निक्कै रोमाञ्चक नागबेली घुम्तीमा पाउदान मार्दै उकालो चढ्दा हामी असिन पसिन भयौं।

उकालो ओह्रालो लाग्दै गरेका साइकल यात्री भेटिएकाले हौसला बढायो। करिव पाँच कि.मी लामो उकालोको चुनौती पार गरेर लाकुरी भञ्ज्याङ पुगे पछि धेरै साइकल पारखि भेटिए। मंगलबजारबाट लाकुरीभञ्ज्याङ १६ कि.मी दूरी तय गर्न साढे दुई घण्टा लाग्यो।

पनौती

शंखुफाँटमा साइकलयात्री गोपाल श्रेष्ठ र खड्ग पुन

लाकुरीभञ्ज्याङ पछि हाम्रो अर्को गन्तब्य पनौती। अनुपम छ प्राकृतिक सुन्दरता। ओरालो लाग्यौं दुई डाँडाका खोँचका नागवेली बाटोमा साइकल कुदाउँदै माने दोभान, पर्खाल चौर तिर। पनौती पर्खाल चौरको बाटो स्तरोन्नती भएको छ। बर्षाद करिब करिब सिथिल भैसकेको महिना, चहकिलो घाम दायाँ बायाँ लह लह झुलेका धान खेत। सुन्दर बस्ती, आनन्दमय गाँउको दैनिकी। अविस्मरणीय नै छ यहाँको साइकल यात्रा। मंगलबजार, लाकुरी भञ्ज्याङ, माने दोभानहुँदै पनौतीसम्म पुग्दा करिब ३० कि.मी दूरी तय गरियो।

पुण्यमती र रोशीको दोभानमा अवस्थित धार्मिक, ऐतिहासिक, पुरातात्वीक महत्वले धनी पनौती नेपालकै पर्यटकीय गन्तब्य  पनि हो। पनौती पुरानो व्यापारिक शहर, नेपालको राजधानी काठमाडौं र पूर्वी भेग मात्र नभई भोट र भारती शहरहरु जोड्ने व्यापारिक मार्ग हो। यहाँको प्रसिद्ध बाह्र बर्षे मेलामा देश भरका श्रद्धालु आउँछन्। काष्ठकलाको बेजोड कालीगढले सजिएको इन्द्रेश्वर मन्दिर सम्भवतः नेपालकै सबैभन्दा ठूलो र अग्लो मध्येको एक हो। छोटो समयमा पनौती वरिपरि घुम्न सकिन्छ। पनौतीबाट सुन्थान कटेपछि फराकिलो शंखुफाँट देखियो।

धान खेतलाई चिरेर सलल्ल बगेको बाटोमा साइकले मित्रहरुको फोटा नखिचि चित्तै बुझेन। फटाफट फोटो खिचेर हामी गाँउको बाटो पच्छ्याउँदै लाग्यौ नमोःबुद्ध तिर।

नमोःबुद्ध

नमोःबुद्धमा काठमाडौंबाट गएका साइकल यात्रीहरू

पौराणिक कालमा भोकले सिथिल भएर मर्न लागेकी बघिनीको पाँचवटा डमरू दुध चुसिरहेको देखेर राजकुमारलाई करुण जागेर आयो। डमरू बचाउन उनले मर्न लागेको बघिनीलाई आफ्नो रगत चुसाए र शरीरको मासु खुवाए। बघिनीले खाएर बचेको हड्डि जम्मा गरेर समाधि बनाइयो। त्यसको ३,५०० वर्ष पछि गौतम बुद्ध आए। उक्त ठाँउको तीन पटक परिक्रमा गरे पछि पहिलेको महासत्वले पुनः अवतार लिएको भएको बताए। यो ठाँउको नाम उनै बुद्धले नमोः बुद्ध राखेको विश्वास गरिन्छ।

नमोः बुद्धबाट चारै तिर असाध्य राम्रो दृष्य देखिन्छ। नमोःबुद्ध बस्न चाहनेका लागि खाने बस्ने ठाउँ र राम्रा रिसोर्टहरु छन्।

काठमाडौंबाट एक हुल साइकले मित्रहरू धुलिखेल काभ्रे भञ्ज्याङहुँदै नमोःबुद्ध आईपुगे। सम्झनाका क्षणहरु क्यामरामा कैद गरेर छुट्टियौं। हामी तीन जना स्यामपाटीहुँदै दाप्चा तिर लाग्यौ, उनीहरु पनौती हुँदै काठमाडौं।

मंगल बजारबाट नमोः बुद्धसम्म आई पुग्दा करिब ४० कि.मी दूरी तय गरियो।

यस पटक दाप्चा भ्रमणको अनुभव छुट्टै रह्यो। वास्तवमा निक्कै सुन्दर छ दाप्चा बजार। ‘पहिले यो बजारको रौनक नै छुट्टै थियो। चौविसै घण्टा जागा। दशैं ताका त निक्कै रमाइलो। पूर्वी पहाड र तराईबाट राजधानी प्रवेश गर्ने मूख्य नाका। सडक यातायातको विकास नहुँदा अधिकांश मान्छे हिडेरै निर्वाह गर्थे। रातभर मानिसको ओहर दोहर,’ गोपालजीले बाल्यकालका स्मरण अनुभव सुनाए।

पुरानो दाप्चा बजार

आजकल भने निक्कै सुनसान छ। बजारका अधिकांश ढोका बन्द छन्। आसपासका देवी, गणेश, भिमसेन मन्दिर आदि मठ मन्दिर, पाटि पौवा हेर्दै अगाडि गयौं। बजार कटेपछि दायाँ तर्फको थुम्कोमा देवीको सानो मन्दिर छ। जसलाई देवीस्थान डाँडाको नामले चिनिन्छ। देवीस्थान डाँडामा दशैंको नवमीको दिन राँगा काटेर कोत पूजा गरिन्छ।

पुरानो दाप्चा बजार कटेपछि बाँया तर्फ ओह्रालो लाग्ने बाटो भेटिन्छ। यहाँबाट करिब पाँच कि.मी ओह्रालो लागेपछि भकुण्डेबेसी पुगिन्छ। मूलबाटोबाट अघि बढ्दा तल्लो हटिया पुगिन्छ। हामी काँक्रे भञ्ज्याङ तर्फ अघि बढ्यौं।

‘काली कुवा’, बाटोको दायाँपट्टीको पानी मूहान देखाउँदै गोपाल जी ले भने। परम्परागत कुवा सिमेन्टको संरचनाले विस्थापित गरी सकेको रहेछ। ‘किंवदन्ति अनुसार पूर्वबाट सामानका भारी बोकेर चरंखेफेदिहुँदै उक्लिएका मान्छेलाई प्यास लागेछ। वेतको जरा पच्छ्याउदै जाँदा दुई कोश पर काली कुवा पुगेछन्। प्यास मेटाएर अघि लौरो काट्न झिकेको खुकुरीको दाप भेटिएन छ। दाप नभेटे पछि दाप् जा भने छन्। दाप्जाको अपभ्रंश दाप्चा भएर यो ठाउको नाम दाप्चा रहन गयो।’

‘यो चाहिं डराउने पोखरी।’ उनी एक पछि अर्को वर्णन गर्दै गए, हामी पच्छ्याउदै गयौं।

मंगल बजारबाट काँक्रे भञ्ज्याङसम्म आइपुग्दा ५२ कि.मी दूरी तय भयो। काँक्रे भञ्ज्याङ पुगेपछि भूकम्पले होच्याएको घरमा रोक्कियौं। गाँउको माहौल अत्यन्तै रमाइलो छ। भीडभाड, कोलाहल, तँछाड मछाड, घम्साघम्सी, तिक्तताबाट मुक्त। केवल आनन्द मात्र। हामी अंगेना वरिपरि बस्यौं। राधाकृष्ण भाईले कलिला मकै पोलेर खुवाए। एकै क्षणमा रातो भालेको सितनसँग ऐला पनि चखाए। सितन र ऐला खादै गर्दा चूल्होमा ढिंडो तयार भयो। एक पछि आर्को परिकार चाख्दै भोक मेटायौं।

खाना पछि सम्झनाका लागि फोटो खिचायौं। गानामा जस्तै विदा हुने भै गयो बेला। हामीले मन काँक्रे भञ्ज्याङमै छोड्यौ। साइकल शरीरमा सटायौं। पाउदान चलाउदै बिदाबारी भयौं।

नमोःबुद्धबाट काठमाडौं फर्कदै गरेका राष्ट्रिय खेलाडीहरू।

साइकलका पांग्रा अघि बढ्दै गए। डाँडाको टाकुराबाट नागवेली घुम्ति देखिए। ओह्रालो देख्दा रोमाञ्चित भयौं। बादलले ओझेल पारेको हिमाल देखाउँदै खड्गजीले भने, ‘हिमाल खुलेको बेला फेरि आउनुपर्छ।’

गोपाल दाइले थपे ‘राति क्याम्पिङ आऔं यहाँबाट लस्करै हिमाल देखिन्छ।’ साइकल काबुमा राखेर ओह्रालोमा तीनै जना हुईकियौं जोड तोड चरङ्गेफेदि तीर।

काँक्रेबाट फेदिसम्म आई पुग्दा आठ कि.मी पार गरिएछ। वि.पी राजमार्गबाट विस्तारै भकुण्डे लाग्यौं। घाम डाँडा पारी भई सकेकोले यात्रा यहिँ बिटमार्‍यौं।

अन्तमा

दाप्चाबजारमा साइकलयात्रीद्वय दिपक श्रेष्ठ र दिपक जोशी।

दाप्चालाई केन्द्र बनाएर साइकल यात्रा तथा पदयात्रा (हईकिङ) विभिन्न प्याकेज बनाउन सकिन्छ। एक दिन, एक रात दुई दिन वा दुई रात तीन दिनको।

दाप्चाहुँदै तिमालकोटसम्म जोड्न सकिन्छ। अझ बौद्धमार्गीका लागि त बौद्धबाट नमोःबुद्ध, दाप्चा तिमालकोट सम्मको प्याकेज बनाउन सकिन्छ। नबोल्नेको चामल पनि बिक्दैन, उखानै छ। दाप्चाको प्राकृतिक सुन्दरताले जो कोहिलाई माया जालमा फसाउँछ। दाप्चालाई आकर्षणको केन्द्र बनाउन भौतिक पूर्वाधार अलि सुदृढ बनाउनुपर्छ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि अतिथि सत्कारका आधारभूत तालिम प्रदान गर्नुपर्छ। सामुदायिक होम स्टे सञ्चालनमा ल्याउन सके धेरै राम्रो। पर्यटकका  सेवा सुविधाका लागि स्थानीय व्यवसायिलाई खाना पकाउने, सरफाई तथा अन्य तालिम सञ्चालन गर्नुपर्छ। अथवा अहिलेलाई वर्षायामबाहेक अरू मौसमा टेन्ट क्याम्प पनि गर्न सकिन्छ। पर्यटकलाई आकर्षण गर्न प्रचार प्रसार गर्नु पर्छ। भूकम्पले पुराना संरचनाहरू बिग्रिएका छन्। पुरानै ढाँचामा मर्मत तथा पुन निर्माण गर्न सके राम्रो।

काँक्रेभञ्ज्याङ्गबाट देखिएको चरंङ्गे फेदि

ऐतिहासिक, पुरातात्विक भौतिक संरचना पुनः निर्माण, पुनःस्र्थापना, श्रृङ्गार पर्ने देखिन्छ। पर्यटन प्रवद्र्धन गर्न प्रभावकारी योजना बनाई, विविध कार्यक्रमको आयोजना गर्ने, प्रतियोगिता गर्ने प्रचार प्रसार गर्ने गरे दाप्चालाई छिट्टै पर्यटकीय गन्तव्य बनाउन सकिन्छ। स्थानीयले आफ्नो ठाँउको मायाँ गर्नुपर्छ। आफ्नो ठाँउको प्रवद्र्धन गर्न एकजुट हुनुपर्छ। मिहेनत गर्नुपर्छ। सफलता अवश्य हात लाग्छ। कांक्रे भञ्ज्याङ, दाप्चाका भुमीपुत्र कृष्ण गोपाल श्रेष्ठ दाप्चालाई पर्यटकीय गन्तव्य बनाउन प्रयासरत छन्। निकट भविष्यमा साइकल र्‍याली गर्ने योजना बुनेका छन्। उनको अभियानलाई सफलताको शुभकामना।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.