फूलबारीमा हाइकर्सको मेला


स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले हरेक महिनाको चौंथो शनिबार काठमाडौं उपत्यकाको डाँडापाखामा हाइकिङ गराउँदै आएको ललितपुरको प्रकृतिप्रेमि समूहले कात्तिक २५ गते फूलैफूलले ढकमक्क इचंगुनारायण क्षेत्रमा हाइकर्सलाई डुलाएको छ ।

समूहकि सदस्य एवं हाइकिङ विज्ञ रामदेवी महर्जनका अनुसार काठमाडौंको स्वयंभु हल्चोकबाट सुरु भएको हाइकिङ इचंगुनारायण मन्दिर हुँदै बतासे चेकपोष्ट (१६५०मिटर) पुगेर सेतो गुम्बा, आदेश्वर महादेव, सीतापाइला हुँदै हरिसिद्धिसम्म पुगेको थियो । समूहले १२६ औं हाइकिङमा शनिबार १२ किलोमिटर पदयात्रा गराएको हो ।

सयपत्री, गोदावरी र लालुपाते फूलले ढकमक्क बारीमा आँखा जुधाउँदै हाइकिङ गर्न पाउँदा हाइकर्स औधी रमाएका थिए । पहारिलो घाममा आफ्नो स्वास्थ्य आफ्नै हातमा लेखिएको निलो टोपी लगाएर हाइकर्सको लर्को अघि बढ्दा स्थानीयले सोधखोज गरेका थिए । हाइकर्सले उनीहरुलाई स्वास्थ्य ज्ञान दिने खालका पर्चा बाँडेका थिए ।

हाइकिङमा २५५ जना हाइकर्स सहभागि थिए । उनीहरुले अनुशासित ढंगमा पदयात्रा गरे । बतासे डाँडामा स्वास्थ्यवर्धक खाजा खाएर हाइकर्सहरुले स्वास्थ्यमुलक गीतमा नाचगान गरे । उक्त अबसरमा संस्थाका संस्थापक डा. उमेश श्रेष्ठले आफ्नो स्वास्थ्य आफ्नै हातमा लिनु पर्नेमा जोड दिए ।

समूहको अर्को हाइकिङ मंसिर चौंथो शनिबार नयाँ गन्तव्य हुने छ ।

फूलबारीमा हाइकर्सको मेला

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.