मुस्कान मिठो मिर्साको!

मुस्कान मिठो मिर्साको!


अन्नपूर्णको काखमा एकै ठाउँ पोको परेको सफा र स्वच्छ गाउँ, ढुंगा छापेका गोरेटो बाटोहरू अनि एकै नासका घरका छाना। ४५ घर धुरी रहेको बाक्लो गुरूङ बस्तीमा केही मिश्रित जातिको बसोबास। बिहान उठ्ने बित्तिकै अन्नपूर्ण २ र ४ मुस्कराईरहेको देखेपछि कसको मन हर्शित नहोला र कास्कीको मिर्सा ‘होम स्टे’मा।

धेरै समय अघिको योजना भए पनि पछिल्लो साता मात्र मिर्सा जाने हाम्रो योजना सफल भयो।

पर्यटन पत्रकार अमृत भादगाउँलेको योजनालाई भिटोफ-पोखरा र पर्यटन बोर्ड पोखराले सहयोग गरेपछि कास्कीको मिर्सा घरबास परिचयात्मक भ्रमण जाने मौका हाम्रो मौका जुर्‍यो।

संस्थाका सदस्यहरु, पर्यटन बोर्डका अधिकृत, पर्यटन ब्यवसायीहरू र केही पत्रकारमित्रहरुको साथमा हामी पोखराबाट उकालो लाग्यौ।

लामाचौर अकाला मन्दिर, खेतबारी बिचैबिचहुँदै तातोपानी, खारपानीसम्म गाडीमा गयौ। पोखरा बाट २२ किमीसम्म मात्रा गाडी जान्थ्यो। प्रत्येक घण्टा बस चल्ने यो रूटमा एक जनाको ६५ रूपैयाँ भाडा लाग्ने रहेछ।

खारपानीमा माघे संक्राति मेला चलिरहेको थियो। मेलामा भलिबलसहित विभिन्न मनोरञ्जनात्म कार्यक्रमहरू चलिरहेका थिए।

मेलामै हामीले हामीले तात्तातो जेरी, तरकारि र चिया खाएर मेलाको रमाइलोमा भुलियो।

झोलुंगे पुल तरेर पैदल यात्रा सुरू भयो। झोलीटुम्बी बोकेर गोर्खे टोली अघि बढ्यो। पुल मात्रै के तरिएको थियो, नाकै ठोकिने उकालो सुरू भइहाल्यो।

दिउँसो टलक्क घाम लागेको भएर हो कि हिड्नु परेर हो, पसिना पसिना हुँदै स्वाँ स्वाँ गर्दै उकालो चढ्यौ। ‘कति टाढा छ हौ साथीहरू,’ भीडबाट कसैले सुनायो, जहाँ भएनि बेलुकीसम्म त कसो नपुगिएला मैले भन्दिएँ।

गाउँ जाने बाटो असाध्यै राम्रा, सफा थिए। ढुंगाले छपक्क छापेको, करिब २० मिनेटको ठाडो उकालो पछि एउटा चौतारी आयो। अहो! चौतारीमा चलेको सिरसिर हारवामा एक हुल गाउँले आराम गरिरहेका रहेछन्।

कोही मेला हेर्न झर्दै गरेका त कोही गाउँ फर्किदै गरेका मान्छेको बाटोमा लस्करै थियो। मैले  उकालो लाग्दै गरेकी एउटी बहिनीलाई खुसुक्कै सोधे,‘मिर्सा गाउँ कति टाढा छ?, ‘ऊ त्यही हो रे,’ बल्ल अब आउन लाग्यो क्यारे सोचेर हिड्न थालियो।

एकछिन हिडेपछि मन्दिर आयो। त्यहाँबाट माथि हेरेको त एक दुई घर देखिए, बिस्तारै उकालो चढ्दै गएपछि गाउँ देखिन थाल्यो। अहो! कस्तो कुनामा लुकेर बसेको रहेछ गज्जपको मिर्सा गाउँ गाँठे।

खारपानीबाट करिब मिनेटको हिडाई पछि सजिलै पुगिने रहेछ मिर्सा गाउँ (१५००मि.)।

थकाई लालेकाले गाउँमा पुग्नासाथ हामी आँगनमा लहरै बस्यौं।

‘होम् स्टे’ मा हामी आउने पहिलेनै खबर गरेका थियौ। बहिनीहरुले ताजा गाइ/भैसीको मोहीले हाम्रो तिर्खा मेटाइदिनु भयो।

मुस्कानसहित टिका र फूलको मालाले न्यानो स्वागत गर्नुभयो। माला चाहि अलिक लामो घुडा सम्म आउने, अल्झेर लडिन्छ है, सूर्य सर जिस्किदै भन्दै थिए, अरू साथीहरू मुसु मुसु हाँस्दै थिए।

गुजुमुल्ट परेको गाउँ, सबै घरहरु ढुंगाले छाएका, गोरेटो बाटोहरूमा  पनि ढुंगै छापेका।

४५ घरधुरी रहेको गुरूङ बस्तीमा केही अन्य जातिको पनि मिश्रित बसोबास रहेछ।

हामीलाई  स्थानीय ससाना ४ जना भाई बहिनीहरु (सन्देश गुरुङ, पुर्णिमा गुरुङ,सोनिया गुरुङ र ऐलिजा गुरुङ)ले गाउँ डुलाउने भए।

पश्चिममा रुम्जा गाउँ, पूर्वमा काभ्रे गाउँ, सेती खोलाको लहर दक्षिण परसम्म देखिने, उत्तरमा डाँडाकाडा र मोती दाना जस्तै हिमाल।

मौसम अनुसार गाउँमा साग, सब्जी, आलु, कोदो, मकै, प्याज, गोलभेडा, धनियाँ, खुर्सानी, उँखु, बदाम फल्दो रहेछ। प्रसस्तै उत्पादन हुने उर्बर भूमि रहेको मिर्सा गाउँमा स्थानीय उत्पादनले थेगेको रहेछ।

साँझ पर्न लागेपछि हामी गुन्द्री र राडी बिच्छयाएको पिडिमा लहरै बस्यौ। चरेसको थालमा सेलरोटी, गुन्द्रुक र भटमास साँधेको अचार कति मोठो आहा!

करिब ४ वर्ष अघि सुरू भएको रहेछ मिर्सा होम् स्टेका लागि स्थानीय समाजसेवी सूर्य गुरूङले सुरूमा ३० थान कम्मल, सिरानी र सार्वजनिक शौचालय निर्माण सामाग्री दिएर सहयोग गरेका रहेछन्।

बाँकी समाग्रीको जोहो गाउँले आफैले गरेका रहेछन्। महिला सशक्तिकरणको तालिम एक्याप र टान ले दिएको रहेछ।

४५ मध्ये १७ घरमा होम् स्टे सुविधा रहेको मिर्सा सामुदायिक होम् स्टेका संयोजक बुद्धि कुमारी गुरुङले बताइन्।

नेपाल पर्यटन बोर्ड पोखराको वरिष्ट अधिकृत सूर्य थपालियाले मिर्सा होम्स्टे पोखरा बाट नजिक, शान्त वातावरण, राम्रो आतिथ्य सात्कार, सरसफाईको कारण पाहुनाको मन सजिलै जित्ने बताए।

आगामि दिनमा पर्यटन बोर्डले यो होमस्टेको सामुदायिक भवन र प्रचार प्रसार मा सहयोग गर्ने प्रतिबद्दतासमेत व्यक्त गरे।

गाउँ पर्यटन प्रर्बर्धन मञ्च (भिटोफ) पोखरा का अध्यक्ष तारानाथ पहारीले गाउँले जीवन शैली, कला संकृति, स्थानीय परिकार, गाउँ पर्यटन प्रवर्धनमा संस्था सधै काम गर्दै आएकोले मिर्सा होम् स्टेलाई पनि सक्दो सहयोग गर्ने वाचा गरे।

बेलुकी अत्यान्त स्वदिलो आर्गानिक खानाको परिकार र झ्वाई खट्टे पिएपछि, केहि समय गफगाफ, नाचगान र दोहोरि गीतमा रमाईयो। रात बितिसकेको थियो, हामीलाई ३ जनाको समूह बनाई बिभिन्न घरहरुमा बासको ब्यवस्था गरिएको थियो।

बिहान उठ्दा अन्नपूर्ण २ र ४ मुस्कराईरहेको थियो। करिब १५ मिनेटको बाटोमा रहेको भूमेथान(१६२० मि.) गयौ। जहाँबाट मिर्सा गाउ साह्रै सुन्दर देखियो। फर्किदा भेडी गोठ हुँदै गाउँ पुग्दा चिया र नास्ता तयार थियो। आमा समुहले बिदाई गर्नु भयो, हामी भने मिर्साको मिठो मुस्कान सम्झिदै ओरालो लाग्यौ।

मिर्सा होम् स्टे का मुख्य आकर्षणहरूः

गुरुङ संस्कृति, गाउँले जीवन शैली। अर्गानिक खाना र परिकार, लोकल कुखुराको मासु। मौसमी तरकारि जस्तै, तुसा, निउरो, कुरिलो, मार्सिको चामल, हरियो साग सब्जी। केरा, उखु, सुन्तला आदि हुन्।

पानी घट्ट, भुमे थान मन्दिर, अन्नपुर्ण २ र ४ को हिमाल।
कसरी पुग्नेः

पोखराको बगरबाट खारपानीसम्म २२ कि.मी. प्रत्येक घण्टा बिहान ६ बजेदेखि ५.३० सम्म बस पाईन्छ।

बगरबाट लामा चौर अकाला मन्दिर, चितेपानी, चुरुंगा, तल्लाकोट, भ्रुजुङ खोला, तातोपानि हुँदै खारपानी। मोटर साईकल, स्कुटर, कार, जिप सजिलै पुग्छ। खारपानी बाट ३०-४५ मिनट झोलुंगे पुल तरेर मिर्सा होम् स्टे पुगिन्छ।
होम् स्टे प्याकेजः

बेलुकी खानामा भात, मौसम अनुसार तरकारी, दाल, लोकल कुखुराको मासु, पा, खाजा, १ रात बासको जम्मा ९०० मात्र।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.