पोखराको गुप्तेश्वर गुफा जोखिममा

पोखराको गुप्तेश्वर गुफा जोखिममा




 

पोखरा-लेखनाथ महानगरपालिका १७ छोरेपाटनमा रहेको गुप्तेश्वर गुफा र त्यसमाथिको बाक्लो कंक्रिट बस्तीले गुफा जोखिममा परेको छ। छोरेपाटनस्थित गुप्तेश्वर गुफा भित्रभित्रै क्षयीकरण भई ठूलो परिमाणमा माटो र चट्टान खस्न थालेपछि गुप्तेश्वर गुफा व्यवस्थापन समितिले संरक्षणको पहल थाले पनि उक्त प्रयास पर्याप्त हुन सकेको छैन ।

गत वर्षको असोजमा वर्षाको समयमा चार महिना बन्द भएपछि खोलेर हेर्दा गुफाभित्र पाताले छाँगो देखिने स्थान नजिकै ठूलो परिमाणमा माटो खसेको थियो । यसले व्यवस्थापन समिति र स्थानीय बासिन्दा गुफा नै खतरामा परेको भन्दै गुफा माथि निर्माण भएका घर र राजमार्ग अन्यत्र सार्नु पर्ने गुप्तेश्वर गुफा संरक्षण समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले माग राखे।

गुप्तेश्वर गुफामा दैनिक २ सय देखि १ हजारसम्म स्वदेशी तथा विदेशी पर्यटकहरु घुम्नका लागि आउने गरेका छन्। एक सय ४० मिटर लामो गुफाको पूर्व तर्फको भाग छेउबाट छाँगाहुँदै खोला बग्ने गरेको छ । त्यही छेउमा करिब ५ मिटरमा भत्किएको हो । गुफा र पातले छाँगोसम्म १ सय ३३ वटा घरहरु छन्। गुफा समितिको ६०, छोरोपाटन माध्यमिक विद्यालयको ३५ र ५ प्रतिशत स्थानीय जनसहभागिता जुटाएर निर्माण अघि बढेको पौडलले बताए।

जोखिम नियन्त्रण गर्न समितिले पहिलो चरणमा एक करोड सात लाख रुपैयाँ लागतमा गुफा संरक्षणका लागि टनेल प्रविधिमा संरक्षणको काम थालेको समितिका अध्यक्ष पौडेलको भनाई छ।

टनेल निर्माण प्रविधिबाट गुप्तेश्वर गुफा र बस्ती संरक्षणको काम एस एन्ड यू कन्सल्ट प्रालिले सुरु गरेको छ । पहिलो चरणमा गुफाभित्र ठूलो परिमाणमा माटो र ढुंगा खसेर जोखिमयुक्त बनेको गुफाक्षेत्रको संरक्षणको काम भइरहेको प्रालिका इन्जिनियर सुदीपकुमार चौधरीले बताए। वर्षा याममा फेवातालको पानी डेभिज फल हुँदै गुफाभित्र पस्दा पानीको भाइब्रेसनले गुफाभित्र माटो र ढुंगा खसेको हुन सक्ने उनको भनाई छ।

गुफामाथि नै राजमार्ग र ठूला कंक्रिट भवन बन्नु पनि यो कमजोर हुनुको अर्को कारण रहेको छ। गुफा २० देखि ३५ मिटरसम्मको थिकनेसमा रहेको विज्ञहरुको भनाई छ। दक्षिण एसियाकै ठूलो दाबी गरिएको गुप्तेश्वर गुफा करिब तीन किलोमिटर लम्बाइ र ८० मिटरसम्म गहिराइको रहेको समितिको भनाई छ। यो गुफा २०४९ पुस ९ गते स्थानीयले पत्ता लगाएका हुन्। २०५१ जेठ २ गते जिल्ला प्रशासन कार्यालयमा गुफा व्यवस्थापन समिति दर्ता भई गुफाको मर्मत सम्भार गरी यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै आएको छ । गुफा माथि बनेका घरहरु महानगरपालिकाबाट नियन्त्रणको प्रयास नहुँदा ठूलो दुर्घटना नजिकिन सक्ने विज्ञको भनाई छ ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.