काठमाडौंकी सुयशा स्थापितलाई घुम्न मनपर्छ। उनी १७ वर्ष हुँदाको कुरा हो, इटालीको युनाइटेड वर्ल्ड कलेजमा एउटा कोर्स पढ्नका लागि देश छोडिन् र नौलो यात्रामा निस्किइन्। त्यसबेला उनको परिवारले उनलाई एक्लै पठाउन मानेको थिएन। तर उनी रोइन्, कराइन् र गइन्। त्यहाँ विश्वका ८० भन्दा धेरै साथीहरूसँग चिनजान भयो।
त्यहीँ छँदै उनलाई घुम्ने लत लाग्यो। पढिरहँदा नै उनले 'काउच सर्फिङ'बाट बिभिन्न देशको यात्रा गरिन्।
काउच सर्फिङ- यो एउटा अनलाइन वेबसाइट हो। जहाँ घुम्न रुची हुनेहरुको जमघट हुन्छ। जस्तो तपाईंलाई कुनै देश जान मन छ। तर, तपाईंसँग त्यति धेरै पैसा छैन। अर्को, तपाईंलाई होटलभन्दा कोही नयाँ मानिसको घरमा बस्न मन छ, उनीहरुसँग कुरा गर्न मन छ भने काउच सर्फिङबाट तपाईं त्यो ठाउँसम्म पुग्न सक्नुहुन्छ। यो घरमा अपरिचित पाहुना बोलाएजस्तै हो। जस्तो, तपाईंलाई क्यानडा जान मन छ भने काउच सर्फिङमा जानुस्। त्यहाँ क्यानडाको कोहो भेटिन सक्छ, जसले तपाईंलाई पाहुना बोलाउन सक्छ। तर उसले तपाईंसँग खाएको, बसेको, घुमाइदिएको पैसा लिँदैन। तपाईं पनि यसरी नै कोही पाहुना बोलाउन सक्नुहुन्छ, र आफ्नो ठाउँ घुमाउन सक्नुहुन्छ। 'जर्नी टु अन्नन’ जस्तै हो, जसले एक मानिसको मनलाई अर्को मानिसको मनसँग मिसाइदिन्छ।
सुयसा यसैगरी घुम्छिन्। र, अरु पाहुनालाई नेपाल पनि घुमाइदिन्छिन्। कम खर्चिलो हुने, नयाँ देशका मानिस, संस्कृति, र परम्पराहरूसँग नजिक हुन पाइने भएकाले सुयसायलाई यसरी घुम्ने बानी लागेको हो। १७ वर्षदेखि घुम्ने लतमा परेकी सुयसाले १० वर्षको बीचमा ३१ देश घुमिसकिन्। उनको घुम्ने चाहना अझै मेटिएको छैन, सायद कहिल्यै मेटिनेछैन।
उनै सुयशासँग उनको यात्राको अनुभव र सिकाइका बारेमा गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं।
पहिलोपल्ट घरबाट निस्केर जहाज चढ्दा कस्तो अनुभव भयो? मनमा के के कुराहरू खेल्दै थिए?हाम्रो परिवारमा दाजुहरू पहिला पनि भारत पढ्न जानुभएको थियो। त्यसैले पढ्न घरबाट बाहिर जाने भन्ने कुरा खासै नौलो थिएन। तर १७ वर्षको उमेरमा म जति टाढा कोही पनि गएको थिएन। इटालीमा हाम्रो कोही पनि आफन्त नभएका कारण त्यो सबैको लागि नौलो गन्तव्य थियो। क्यानडामा बस्नुहुने एक दिदीले क्यानडा नै बोलाउनुभएको थियो। तर मलाई इटाली नै जानु थियो। कोही नगएको ठाउँ र कसैले नलिएको अनुभव लिने रहर त्यसबेलै थियोजस्तो लाग्छ। मलाई त्यो चुनौति एकप्रकारले मन परेको थियो। घरमा त झगडा नै गर्नुपरेको थियो।
हुन त त्यसअघि पनि परिवारसँग थाइल्याण्ड लगायत नजिकैका देश नगएको हैन। तर पहिलोपल्ट एक्लै जानु आफैंमा रोमान्चक अनुभव हुँदै थियो। आफ्ना सबै जिम्मेवारी आफैं पुरा गर्नुपर्ने। पहिलोपल्ट मलाई 'म' हुनुको अनुभव थाहा भयो। एयरपोर्टमा पुग्दा लिन आउने कोही हुन्थेनन्, भारी झोला र 'इमिग्रेसन'को झण्झट पार गरेपछि जहाज पर्खिरहँदा म उचाइको कल्पना गर्थेँ। मेरो छेउमा चिनेको कोही मान्छे बस्नेवाला थिएन। जहाज चढेपछि अब रमाइलो गर्छुजस्तो लाग्यो। बादलभन्दा माथि पुगेपछि बाहिरको दृश्य हेर्दै सम्झिएँ। बादलमाथिको संसार त जता पनि उस्तै हुने रहेछ। मनमनै बोलिरहेको थिएँ, ‘लामो बाटो यहीँबाट हिँड्न सुरु गर्दैछु। यसरी नै बादलमाथिको देशबाट बादलमुनिका देशहरूमा ओर्लिँदै जानेछु।’
इटालीमा पुगेपछिको अनुभव?म काठमाडौंमा पढ्दा सात वर्ष होस्टेल बसेको थिएँ। त्यहाँ केटा र केटीका लागि बस्ने क्षेत्र छुट्टै हुन्थ्यो। दुवैलाई एक अर्काकोमा जाने अनुमति हुँदैनथ्यो। इटालीमा पनि गर्ल्स होस्टलमा बस्दै थिएँ भन्ने थाहा थियो तर कसैलाई पनि चिनेको थिइनँ। ठेगाना लिएर होस्टेल पुगेँ। एक जना सहयोगीले कोठासम्म पुर्याइदिए। त्यहाँ पुगेपछि पो अचम्मित भएँ, त्यहाँ त केटैकेटा छन्। कोसँग कुरा गर्ने र के गर्ने भन्ने अलमलमा परेँ। त्यहाँ त केटा र केटीलाई एउटै होस्टेल मात्र होइन, एउटै कोठामा पनि राख्ने चलन हुँदो रहेछ। म जसोतसो आफूलाई बानी पार्न थालेँ। तर दुईतीन हप्तापछि मेरो रूममेट केटी र अर्को केटाबीच प्रेम सुरु भयो। त्यसबेला भने अप्ठ्यारो महसुस हुन्थ्यो।
त्यसपछि यात्रा गर्ने काम कसरी सुरु भयो?त्यहाँ २०० जना विद्यार्थी थिए। लगभग ८० देशबाट आएका। हरेक विदा वा हप्ताका अन्तिम दिनहरुमा साथीहरूले ‘मेरो घर आउन त’ भनेर बोलाउने गर्थे। मसँग युरोपको ‘स्याङ्गेन भिसा’ थियो जसको सहायताले आसपासका लगभग २५ देशहरू घुम्न पाइन्थ्यो। सानो छोटो विदामा पनि कुनै न कुनै साथीको घरमा जान्थेँ। अरू साथीहरूको 'स्ट्रिट पफर्मेन्स' हुन्थ्यो, जुनचाहिँ उनीहरूको आफ्नो देशमा गएर 'कल्चरल पर्फर्मेन्स' दिनुपर्थ्यो। म त्यसमा पनि सहभागी हुन थालेँ। पहिला चिनेको साथीहरूकोमा गएँ। त्यसपछि साथीका साथीहरूकोमा। तीन-चार वर्ष त्यसरी डुलेपछि 'काउच सर्फिङ' वेबसाइटमा जान हिम्मत आयो।
पहिलो 'काउच सर्फिङ' को अनुभव सुनाइदिनुस् न। युनिभर्सिटीमा भएकै बेला एक साथी र म सनफ्रान्सिस्को जाँदै थियौं। त्यसबेलै 'लौ काउचसर्फिङ गरौँ न त, किन महँगो होटलमा बस्ने' भन्ने सल्लाह गर्यौं। केही 'होस्ट' (जसले पाहुना बोलाउँछन्) हरूलाई सम्पर्क गर्यौं। एउटाले रेस्पोन्स गर्यो। उनी केटा नर्स रहेछ। ६५ वर्षको। खासमा उनीसँगै बस्नेले हामीलाई बोलाएको थिए, तर हामीलाई घुमाउने जिम्मा भने ती नर्सले लिएका रहेछन्। उनीहरू त्यहाँ नै हुर्किएको थिए। उनले हामीलाई विभिन्न ठाउँ घुमाए। अरूका लागि जान नमिल्ने ठाउँहरूमा चोर बाटोबाट पनि घुमाए। त्यो निकै रोमान्चक अनुभव थियो।
उमेरको त्यस्तो अन्तर रहेछ तपाईंहरूमा। घुम्दाको वातावरण असहज भएन?हाम्रो कुरा अचम्मैले मिल्यो। उनी ६५ वर्षको हामी २०/२१ वर्षका, तर कुराकानी अचम्मले मिल्थ्यो। दुईजना घुम्न गएका केटीहरू, कहिल्यै नचिनेका मानिसहरूसँग। केही होला भन्ने डर त थियो तर मलाई यो संसारको 'काइन्डनेस'मा विश्वास लाग्छ। बेलुका खाँदा पनि जिन्दगीमा के कुरा उपलब्धी भयो भन्ने बारेमा गफ गर्थ्यौं। दिनभर घुम्दै गफ गर्दा पनि बेलुका घर आउँदा बोल्ने कुरा सकिएका हुँदैनथे। नचिनेको मानिससँग त्यसरी गफिएको त्यो नयाँ अनुभव थियो मेरा लागि। संसारको त्यो कुनामा मसँग कुरा मिल्ने कोही मान्छे रहेछ भनेर पत्ता लागेजस्तो।
काउच सर्फिङको अनुभव लिइसकेपछि रिभ्यु लेख्न मिल्छ। घुम्नेले पनि, घुमाउनेले पनि। ती नर्सले मेरो बारेमा लेखेको कुराले मलाई अहिले पनि आश्चर्य लाग्छ। उनले मलाई ‘उमेरभन्दा धेरै जिन्दगी बुझेकी जादुमयी केटी’ भनेर लेखेका थिए। नचिनेको मानिससँगको त्यो छोटो सामीप्यताले मलाई झनै घुम्न उत्साहित पार्यो। त्यसपछि त घुम्नु भनेको आफूसँग नचिनेका तर, मन मिल्ने मानिसहरू भेट्ने अवसरजस्तो लाग्न थाल्यो। २/३ दिन सँगै बसेका मानिसले त्यस्तो भन्ला भनेर कसले सोच्छ र हैन?
उनीसँग कसरी त्यस्तो सामीप्यता विकास भयो होला?मलाई लाग्छ, हरेकसँग एक किसिमको खुलापन चाहिन्छ। खुलापनले मानिसमा एक-अर्कालाई बुझ्न सहयोग पुर्याउँछ। तर, सीमासहितको। खुलापन कस्तो भनेको भने परेको अवस्थामा जे पनि गर्न सक्छु, उनीहरू जे खान्छन् वा जसरी बस्छन् त्यसरी नै बस्नसक्छु भन्ने कुरामा विश्वास गर्नुपर्छ। यात्राका लागि त झन् यो नभइ हुँदैन। त्यो अनुभव लिन डरायो भने 'कम्फर्ट जोन'मा बस्न खोजिन्छ जसले यात्रालाई खासै रोमान्चक बनाउँदैन। सायद हामीले उनीहरूसँग जुन खुलापन देखायौं त्यसले उनीहरूलाई हामीसँग खुल्न सहयोग भयो वा उनीहरूले देखाएको खुलापनले हामीलाई उनीहरूसँग खुल्न। यो 'म्युचुअल सेयरिङ' पनि हो।
सीमा भनेकोचाहिँ आफूलाई अप्ठ्यारो पर्ने अवस्था आउन लाग्यो भने गर्दिन भन्न सक्नुपर्छ। ती दुवैथोक भयो भने चाहिँ जोसँग पनि म्याच हुन सकिन्छ। किनकि संसारका सबै मानिस एकै हृदयका हुन्छन्। उदाहरणका लागि पोहोर साल तान्जानिया गएको थिएँ। ३० दिनमा म २ दिन मात्र होटेलमा बसेँ। बाँकी २८ दिन कहिल्यै नचिनेका मानिसहरूकोमा बसेँ।
म जान्चिबार आइल्याण्डमा थिएँ। सूर्यास्त र सेतो बालुवाका लागि चर्चित ठाउँ। त्यहाँबाट सहर जानु थियो। पर्यटक बनेर जाँदा ५० डलरमा पुर्याउन सक्थ्यो। तर मलाई 'सिटी लाइफ' अनुभव गर्नुथियो, त्यसैले सार्वजनिक गाडीमा चढेँ। गाडीले दुई डलरमा लैजान्थ्यो। होटल नजिकै भएको कुनै ठाउँमा ओर्लिँए। लगभग १२ मिनेटको पैदल यात्रा बाँकी थियो होला। तर 'कन्फर्म' गर्नका लागि पुलिसलाई सोधेँ। उनले ट्याक्सी ड्राइभरलाई रोकेर सोधिदिए। ड्राइभरले म पुर्याइदिन्छु भन्यो। कति? मैले सोधेँ। नजिकै छ भन्ने थाहा थियो। तर उसले महँगो भन्यो। मैले जाँदिन भनेँ। उसको साथी पनि ट्याक्सीमै थियो। उनीहरूले एकछिन कुरा गरे र मलाई फ्री मै लगिदिन्छु भने। ठग्न लागेको मानिसले फ्री मै लैजान्छु भन्दैछ। विश्वास गर्ने कि नगर्ने? म अलमलमा परेँ। सुरुमा त गरिन तर एकछिन कुरा गरेपछि उनीहरू खुल्दै गरे। तेल हाल्न पम्पसम्म जान लागेको भन्ने कुरा उनीहरूले बताएपछि म चढेँ।
यात्राको क्रममा भोगेको कुनै क्षण, जसले तपाईँलाई मानवीयतामा विश्वास जगायो?टोरन्टोबाट तान्जानिया जाँदाको कुरा सुनाउँछु। सामान्यतया: टिकटमा लोकल समय लेखिएको हुन्छ। तर मेरोमा टोरन्टोको लेखिदिएछ। म टोरन्टोबाट जाँदै थिएँ। मेरो होस्ट ग्लोरीलाई फोन गरेर भनेँ कि म बेलुका ८ बजे आँउदै छु। तर पाइलटले बिहानको तीन बजे पुग्छ भन्यो। छक्क परेँ। प्लेनमा चढिसकेको थिएँ, त्यसैले ग्लोरीलाई केही भन्न पाइन। यात्रा सकेर त्यहाँ पुग्दा बिहानको ५ बजेको थियो। बिहानै फोन गर्दिन भनेर एयरपोर्टमै बसिरहेको थिएँ। एकछिनमा एकजना गार्ड आयो। उसले एक पोष्टर बोकेको थियो। त्यसमा लेखिएको रहेछ 'वेलकम होम सुयसा।' कहाँबाट आयो भनेर मैले सोध्दा भन्यो, ‘तिम्रो साथीले पछिल्लो १० घण्टादेखि तिमीलाई पर्खिरहेको छ।’ ग्लोरी त एयरपोर्टमै रहेछ। ढिलो गरेकोमा ऊ रिसाएन बरु खुसीसाथ मलाई लिएर घर पुर्यायो। त्यसैले पनि मलाई मानवीयतामा विश्वास लाग्दै गयो। उसलाई मेरो लागि १० घण्टासम्म पर्खिने केले बनायो?
कहिल्यै नदेखेको देशमा भएको कहिल्यै नचिनेको मानिस पनि भेट्दै नभेट्दै साथी बनिसक्ने रहेछ। त्यो एकदमै गज्जब अनुभव थियो। मलाई त्यस्तै अनुभवहरूले पनि घुम्ने रहर कहिल्यै मर्न दिँदैन।
२७ वर्षमा ३१ वटा देश घुमिसक्नुभयो। सबैलाई एकैपटक सम्झिँदा कस्तो अनुभव हुन्छ?पहिलो दुई वर्षमा जम्मा दुई हजार युरो खर्च गरेर १५ भन्दा धेरै देशहरू घुमेछु। साथीहरूको घरमा जाने, स्कुलहरूमा प्रिजेन्टेसनका लागि जाँदा त्यतै बस्ने। खाना जहाँ सस्तो पाउँछ त्यतै खाने। ती सबै पल बिल्कुलै नौला थिए र मलाई तिनैले हरेक ठाउँमा घुल्न सक्ने बनायो। आममानिस बाँचेको तरिकाले बाँच्न सिकाइदियो।
कमाउन थालेपछि घुम्ने तरिका थोरै फरक भयो तर पनि सुरुवाती तरिका छोडिन। समग्रमा भिन्न भिन्न अनुभवहरू सँगालेर बलियो केटी बनिरहेछु जस्तो लाग्छ। सबैभन्दा सुखद कुरा नै यो छ कि घुम्ने रहर अझै नौलो नौलो भइरहेछ। अस्ट्रेलिया र अन्टार्कटिका महादेश बाँकी छ घुम्नलाई। त्यो पनि चाँडै पुग्नेछु।
सबैभन्दा मुख्य कुरा त लगातार सिकाइ नै हो। मानिसहरू संसारमा सबै उस्तै हुन् भनिन्छ तर जब घुमिन्छ तब हो रहेछ भन्ने विश्वास लाग्छ। भाषा बुझे पनि नबुझे पनि कुराकानी हुने रहेछ भन्ने थाहा हुन्छ।
कुनै घटना सम्झिनुहुन्छ?थुप्रै छन्। टोरन्टोकै उदाहरण दिन्छु। त्यहाँ म बस कुरिरहेको थिएँ, तर आइरहेको थिएन। नजिकै एक जना कालो वर्णका मान्छे बसिरहेको थियो। हेर्दै डर लाग्ने ज्यांगो खालको। निकैबेर बस नआएपछि उसलाई बस केही भएर ढिलो भएको हो भनेर सोधेँ। उसलाई पनि थाहा रहेनछ। भन्यो, ‘म ट्रेन स्टेसन जाँदै छु। जाने भए तिमीलाई त्यहाँसम्म पुर्याइदिन्छु।’ मैले हुन्छ भनेँ। ट्याक्सी आउँदै थियो। चढेँ। जम्मा पाँच मिनेटको बाटो। उसले विद्यार्थी हो? भनेर सोध्यो। मैले एजुकेसनमा इच्छुक भएको बताएँ। ऊ एजुकेसन कम्पनी नाइजेरियामा काम गर्दो रहेछ। उसले पनि आफ्नो बारेमा बतायो। मैले एमबिए गर्न मन लागेको कुरा सुनाएपछि उसले भन्यो, ‘मैले एमबिए गरिसकेको छु। इन्भेष्टमेन्ट बैंकरको रूपमा पनि काम गरिसकेको छु। तर अहिले शिक्षा क्षेत्रमा इच्छा भएर यता आएँ।’ कुरा बाँकी हुँदै म झर्ने ठाउँ आयो। त्यति गफका कारण हामीले फेरि भेट्ने सल्लाह गर्यौं। भोलिपल्ट भेट्यौं पनि।
म त्यसबेला एमबिए गर्ने योजनामा थिएँ तर उसले ‘अनुभव भएपछि मात्र एमबिए गर्दा हुन्छ भन्यो ठूलो आइडिया लिएर जानुभन्दा एउटा निश्चित आइडिया लिएर जाँदा राम्रो हुन्छ।' यसपछि मैले एमबिएको योजनै छाडिदिएँ। अहिले सम्झिन्छु, बस पर्खिँदै गर्दा भेटिएको एउटा मान्छेले मेरो जीवनको लक्ष्य नै परिवर्तन गरिदियो। सोच्छु, म ऊसँग नबोलेको भए म अहिले के गर्दै हुन्थेँ होला?
यस्तै अर्को कुनै घटना?तान्जानियाबाट लण्डन जाँदै थिँए। मेरो छेउमा एक जना बुढो मानिस थियो। म हत्तपत्त कसैसँग बोल्दिन तर कसैले बोलायो भने बोल्छु। उसले मजाले कुरा गर्न थाल्यो। ऊ सातवटै महादेशका अग्ला हिमालहरू चढिसकेको रहेछ। तान्जानियाको किलिमन्जारो चढेर आएको रहेछ। ऊसँग पनि कुरा मिल्न थाल्यो। ऊसँग म किन भेजिटेरियन भन्ने बारेमा कुराकानी भयो। मैले ‘खानाको स्रोत जान्न मन लागेको कारण भएको हुँ’ भन्दा ऊ झनै उत्सुक देखियो। धेरै प्रश्नहरू सोध्यो मैले उत्तर दिँदै गएँ। ऊ रमाइलोसँग प्रश्न गर्थ्यो। डाक्टर पनि रहेछ तर धार्मिक। उसको हातमा बाइबल थियो। मैले उसलाई जीवनमा बलियो पाइला चालिरहेको छु तर थाहा छैन परिवारलाई के कति खुसी बनाएँ भन्ने थाहा छैन भन्ने कुरा सुनाएँ। म खुसी छु तर आमाबुवालाई चित्त दुखाएको छु कि जस्तो लाग्छ भनेँ। तब उसले भन्यो ‘म तिम्रो आमाबुवालाई इमेल लेखिदिन्छु छोरीले केही गलत गर्दैछैन भनेर’। उसको छोरी मेरै उमेरको रहिछ।
आफूनजिकै बसिरहेको मानिस कतिसम्म नजिक हुनसक्छ। मैले उसलाई नजिकैका साथीहरूलाई पनि नभनेको कुराहरू भन्दै थिएँ। उसले मलाई वर्षौंदेखि चिनेको अविभावकजस्तो गरेर सम्झाउँदै थियो। यस्तो अनुभव यात्राले मात्र दिन्छ।
यात्राका लागि तयारी कत्तिको गर्नुहुन्छ?पहिला पहिला गर्थेँ तर अहिले गर्दिन। त्यहाँ पुगेर जे देखिन्छ त्यसमै रमाउँछु। तयारी गरेर गयो भने यस्तै हुनुपर्छ भन्ने सोचले बाँधिन्छ मान्छे। छेवैको रमाइलो, सुन्दरता छोडेर गन्तव्यमा पुग्ने हतार हुन्छ। त्यसरी गरेको यात्रामा मजा आँउदैन। यात्रा जति लचकदार भयो मलाई त्यति रमाइलो लाग्छ। तालिका नै नबनाउनु भनेको हैन तर तालिकामा धेरै बाँधिनु पनि राम्रो हैन जस्तो लाग्छ।
खर्चले कत्तिको बाँध्छ?खर्च पनि प्रमुख कुरा त हो तर यसले सधैंभरी रोक्दैन। हुन त हामी रुपैयाँमा कमाएर विदेश घुम्नु अलिक गाह्रो नै हो। हो म ३१ वटा देश घुमें तर विदेशका मेरा साथीहरू त्योभन्दा धेरै घुमेका छन्। उनीहरूका लागि घुम्नु सामान्य हो किनकि विश्वका धेरै देशहरूमा उनीहरूले 'अन अराइभल' भिसा पाउँछन्। नेपालीहरूको लागि त्यही पनि गाह्रो छ। तर अप्ठ्यारो भयो भन्दैमा रोकिनुचाहिँ भएन। मैले २००० डलरले १६ वटा देश घुम्न सकेँ। आँट गर्यो भने कुनै न कुनै उपाय त भइहाल्छ नि। विदेश घुम्न सकिँदैन भने नेपालकै विभिन्न ठाउँहरू घुम्न सकिन्छ। साथीको घर तथा साथीको साथीको घरमा जाने तरिका एकदमै उपयुक्त लाग्छ मलाई त। टुरिस्ट भएर भन्दा पनि सामान्य मान्छे भएर घुम्नुको मजानै अर्कै हुन्छ। वास्तवमा मान्छेहरू अरूलाई आफ्नो घरमा बोलाउन खुसी हुन्छन्। मैलेनै पनि १५ जना भन्दा धेरै मानिसहरूलाई यहाँ होस्ट गरिसकेँ। उनीहरू बिना पैसा मेरोमा आएर बस्छन्। म समय निकालेर घुमाइदिन्छु। म गएको ठाउँमा मैले पाउने पनि त्यस्तै त हो नि। अवसरहरूको लागि पनि थोरै खुला पनि हुनुपर्छ।
तपाईंको घरमा कस्ता कस्ता मानिसहरू आएका छन्। उनीहरू नचिनेको मानिसलाई विश्वासगरेर आँउदा कस्तो लाग्दो रहेछ?त्यो अचम्मलाग्दो छ। 'एयर बिएनबि'मा चाहिँ पैसा तिरेरै आँउछन्। त्यो भनेको के भने होटलको साटो पैसा तिरेर कसैको घरमा बस्ने हो। तर काउच सर्फिङमा त सित्तैमा आउने हो। मेरो घरमा दुवै माध्यमबाट मानिसहरू आएका छन्। तर मलाई पैसा तिरेर आउने मानिससँग खासै भावनात्मक सामिप्यता हुँदैन। होटेलमा जस्तै सबैकुरा मिलेको छ कि छैन भन्ने कुरा मात्र ख्याल गरिन्छ। केही प्रश्न सोधे उत्तर दिने मात्र हो। तर जो सित्तैमा बस्न आएका हुन्छन् उनीहरू विशेष हुन्छन्। मेरो पाहुना। मेरो देश हेर्न आएको हो भनेर सबैतिर पुर्याइदिन्छु। एक जना ट्रेकिङ गर्छु भनेर आएको थियो। ऊसँग धेरै पैसा थिएन। मैले नै पसल पसलमा गएर सस्तोमा ज्याकेटहरू किनाइदिएँ। त्यो सबै गरिन्छ। त्यो गर्नुको कारण पैसाको 'एलिमेन्ट' नभएर हो। त्यसो किन गरिन्छ भने मानिसहरूलाई ख्याल गरिन्छ। हामी बाहिर जाँदा पनि लगभग त्यस्तै हो। यो एकप्रकारको भावनात्मक आदानप्रदान पनि रहेछ किनकि मलाई धेरै ठाउँमा त्यस्तो माया दिइएको छ। म मेरोमा बस्ने मानिसहरूमार्फत् त्यो मायाको ऋण तिर्छु।
नेपालमा पनि ट्रेकिङ गइराख्नुहुन्छ। नेपालमा घुम्नु र विदेशमा घुम्नुको फरक के रहेछ?बाहिर हरेक कुरा नँया हुन्छ। जस्तो सुकै कुरा भए पनि त्यो कहिल्यै नदेखेको हुन्छ। त्यसमा अर्कै रोमाञ्चकता हुन्छ। अनौठो फ्यासिनेसन हुन्छ। नेपालमा घुम्दा चाहिँ धेरै केयर हुन्छ। नेपालमा ट्रेकिङ जाँदा धेरै विदेशी साथीहरूसँग जाने भएकाले पनि त्यस्तो भएको होला। अनि अर्को कुरा चाहिँ मलाई हेपेको जस्तो पनि लाग्छ। विदेशीलाई गुड मर्निङ भन्दा मलाई नभनेको देख्दा म पनि पर्यटकनै हो त भन्ने जस्तो पनि लाग्छ। (लामो हाँसो) हाम्रो पर्यटन अलिक धेरै विदेशी फोकस भएको जस्तो लाग्छ। विदेशमा फरक पाएको चाहिँ मानिसहरू सामान बेच्न मात्र हैन कि केही बोल्न पनि आँउछन्। कहाँबाट आएको, कहाँ बसेको भन्ने जस्ता कुराहरू सोध्छन्। त्यस्ता प्रश्नहरूले आत्मीय बनाउँछ।
विदेशमा घुम्दा के कुराले धेरै तान्छ तपाईँलाई?पहिलो कुरा त म मान्छेलाईनै फोकस गर्छु। कसैलाई भेट्न वा कुराकानी गर्नको लागि घुम्छु। मानिसहरूसँगको कुराकानी जहिल्यै पृथक् हुन्छ। मैले भेटेका मानिस अरू कसैले पनि भेट्दैनन्। अनि दोस्रो कुरा चाहिँ खानेकुरा। आफू भेजिटेरियन भए पनि म नँया खानेकुरा चाख्न सक्दो प्रयास गर्छु। ब्राजिलमा पाउनेजति फलफुल ट्राइ गरेँ। त्यो छुट्टै अनुभव थियो।
अनि सबैभन्दा कुरा भास्ट डिफरेन्स, जुन म यहाँ पाँउदिन वा जो कहिल्यै गएको छैन त्यो खोज्छु। आफूले गएको ठाउँ कोही नगएको होस्, मैले गरेको अनुभव कसैले नगरेको होस् त्यस्तो लाग्छ। सफारी जान, टुरिस्ट डेस्टिनेसन भनेर चर्चित ठाँउहरू पनि भरसक घुम्न मन पर्दैन। मलाई हरेक ठाउँमा एक्ट्रिम खोज्न मन पर्छ। आफैले आफैलाई सरप्राइज गर्न मन लाग्छ। हरेक अनुभवहरूलाई पृथक् राख्न मन पर्छ।
नेपाल जस्तो समाजमा घुम्न र विशेषगरी केटीहरूलाई घुम्न कत्तिको सजिलो छ? के-के चुनौतीहरू पाउनुभयो?यो विश्व एकदमै मैत्रिभावले भरिएको छ। घुम्न डराउनु बाहिर भएका मानिसहरूको कारणले हैन कि आफूभित्रको कारणले भइरहेको हुन्छ। डर मान्नुपर्ने त्यस्तो केही छैन। मानिसहरू दयालु छन्। माया गर्छन्। उनीहरूसम्म पुग्न र भेट्न प्रयत्न गर्नुपर्छ। आफ्नो सुरक्षालाई ख्याल गरेर घुम्नैपर्छ तर घर छोडेर गएपछि थाहा हुन्छ कि संसार हामीले सोचेजस्तो गाह्रो छैन। त्यहाँ तपाईंको सुरक्षाको चिन्ता तपाईंभन्दा अरूले लिनेछन्।
अन्तिममा आगामी गन्तव्य बारे केही सोच्नुभएको छ?मलाई आइसल्याण्ड जान मन छ। पछिल्लो समय तान्जानियाको तातो सहेर आएको छु। अब चिसो ठाउँमा गएर हराउनु छ।