पर्यटक आउने क्रम बढेपछि हल्खोरिया दहको धमाधम सफाइ गरिँदै


पर्सा राष्ट्रिय निकुञ्जको प्रसिद्ध  ‘सिनसाइट’को रूपमा रहेको  हल्खोरिया दहको सरसफाइलाई तीव्रता दिइएको छ।

निकुञ्ज प्रशासनले एक सातादेखि दहको सफाइ अभियान चलाएको हो। सरकारले पर्सा वन्यजन्तु आरक्षणलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि दहलाई व्यवस्थित गर्न एक वर्षयता यो समेत गरी तेश्रो पटक  सफाइ अभियान चलाइएको हो। निकुञ्जमा विदेशी पर्यटकहरू आउनेको संख्या क्रम बढ्दै गएपछि दहका बाँधहरूलाई  व्यवस्थित  गर्नुको साथै सरसफाइ अभियानमा तीव्रता दिइएको छ।

यस कामका लागि  पाँच लाख रूपैयाँ विनियोजन गरिएको छ। करिब ११ हेक्टरमा फैलिएको यो दहको अधिकांश भाग घाँस र वनस्पतिले ढाकेपछि सफाइ गर्न थालिएको निकुञ्जले जनाएको छ।  जनावरहरू पानी खान दहमा आउने गरेकोले यसलाई पर्यटकको लागि ‘भ्यू पोइन्ट’को रूपमा विकसित गरिएको छ।

निकुञ्जको अति महत्वपूर्ण क्षेत्रमा रहेको पानीको यो ठूलो श्रोतलाई व्यवस्थित र संरक्षण नगरिए  ढाकिने भएकोले समय समयमा सरसफाइ गरिएको निकुञ्ज प्रमुख आचार्यले बताए।

ढड्डी र नरकट जस्ता वनस्पति हात्ती र गैंडाले रुचाउँदैनन्। जलचर, चरा र गैंडालाई आहाल खेल्न पनि दह सफा चाहिन्छ। निकुञ्जका सबै खाले जनावर मात्र नभई हात्ती र चितवनबाट पर्सा निकुञ्जबाट आएका गैंडाजस्ता जनावर बस्ने क्षेत्रको रूपमा विकास भएकाले दह वरपरको क्षेत्रलाई निकुञ्जले व्यवस्थित गर्ने प्रयासमा लागेको हो।

दहमा जलस्तर बढे बाघको आहारा प्रजातिका मृग लगायतका जनावरहरूको आवागमन पनि बढ्ने भएकाले बाघको संख्या वृद्धिमा पनि सकारात्मक प्रभाव पर्ने आचार्य बताउँछन्।

‘दहलाई सफा गरेर यसमा पर्याप्त पानी, बाहिर घाँसे मैदान विकास गर्ने हाम्रो लक्ष्य हो,’ आचार्यले भने, ‘यस वर्षको साउन २८ को वर्षाको भेलले दहको ड्याम फुटाएकाले त्यसलाई व्यवस्थित पनि गर्दै छौं, यसरी वर्षायाममा बढी भएको पानी दहबाट बाहिरिन्छ र आवश्यक पानी दहमा रहन्छ।’

वन्यजन्तुको अत्यधिक आवागमन हुने भएकाले पर्यटक आकर्षित हुन भनेर मचान बनाइएको छ। वन्यजन्तु बढी आउने क्षेत्रमा वन्यजन्तुको अवलोकन गर्न आन्तरिक र बाह्य दुबै खाले पर्यटक आउने गर्छन्। गत वर्षदेखि यहाँ चितवन निकुञ्जबाट  गैंडाहरूको आउने क्रम बढ्न थालेको छ।

निकुञ्ज आसपासका मानव बस्तीका बासिन्दाले वर्षेनी लक्ष्मीपूजाको दिन यो दहमा आफ्नो हलोजुवा धोई पखाली गर्ने भएकाले दहको यसको नाम हल्खोरिया रहन गएको मान्यता समेत रहेको छ। विगतमा राष्ट्रिय वन हुँदा यो दहमा दैनिक एक सय बढी मानिस माछा मार्न भनी आउने गरेकोमा निकुञ्ज घोषणासँगै त्यो क्रम रोकिएको छ।

 

 

 

तस्विर : अनिल तिवारी ÷ सेतोपाटी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.