विदेशी बैंकमा पैसा जम्मा गर्नका लागि प्रयोग गर्ने स्विफ्ट नेटवर्कमार्फत एकाउन्ट ह्याक गरी पैसा ट्रान्सफर भएको खबरपछि वित्तीय क्षेत्रको अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक संस्था स्विफ्टको विश्वसनियतामा प्रश्न उठेको छ । शुक्रबारदेखि केही नेपाली बैंकहरूमा यो समस्या देखिए पनि निक्षेपकर्ता तथा लगानीकर्तालाई भने कुनै असर नगर्ने केन्द्रीय बैंकले जनाएको छ ।आजको कारोबारमा खबर छापिएको छ ।
स्विफ्ट नेटवर्कमार्फत एकाउन्ट ह्याक गरी पैसा ट्रान्सफर भएको खबरपछि नेपाल राष्ट्र बैंकले आइतबार बैक खुल्नेवित्तिकै सम्बन्धित बैंकहरूको सुपरिपेक्षण सुरु गरेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । ‘बैकका सबै ग्राहकको सम्पूर्ण खाता सुरक्षित छ,’ उनले भने ।
केन्द्रीय बैंकको टिमले गरेको अध्ययनको रिपोर्ट नआएसम्म एकिन गर्न नसकिने पण्डितको भनाइ छ । तर, बैंकका अधिकारीले भने ग्राहकको खातामा कुनै समस्या नरहेको भए पनि हल्ला चलेपछि स्विफ्ट नेटवर्कमा अनुसन्धान गरिरहेको जनाए ।
तरपनि राष्ट्र बैंकको टोलीले गरेको स्थलगत अवलोकनमा ह्याकरले अमेरिका, सिंगापुर, मलेसिया, जर्मन, हङकङलगायतका देशमा रकम पठाएको हुनसक्नेभन्दै केन्द्रय बैंकले आइतबार नै सम्बन्धित देशका केन्द्रिय बैंकलाई यस्तो भुक्तानी रोक्न पत्राचार गरेको छ ।