मंगलबार माओवादीले सरकार छाड्नेरनछाड्ने संशयबीच परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफू सरकारबाट निस्किन पार्टीको निर्णय पर्खिरहेको बताए ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा सर्वाधिक मत ल्याएर नेपाल विजयी भएको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महराले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताउँदै वामपन्थी एकताको बचाउ गरे । उनले छोटो समय परराष्ट्रमन्त्रीका रूपमा रहँदा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।आजको कान्तिपुरमा चन्द्रशेखर अधिारी र जनकराज सापकोटाले समाचार लेखेका छन् ।
पत्रकार सम्मेलनको केही घण्टामा नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरे र महरा बिना विभागीय मन्त्री बनाइए ।
माओवादीभित्र सरकार र प्रतिपक्ष दुवैमा खुट्टा राखेर अघि बढ्न नहुने मत राख्दै आएका महराले मंगलबार पनि प्रधानमन्त्री देउवासँग कुराकानी गरेका थिए । त्यसो त देउवासँग राम्रो सम्बन्ध भएका माओवादी नेता मानिने महरा सोमबारदेखि नै मन्त्रालय आउन छाडिसकेका थिए ।
मंगलबार पनि मन्त्रालय नआउने भन्दै उनले राष्ट्रसंघको विजयबारे पत्रकार सम्मेलन गरी जानकारी गराउन सचिव र सहसचिवलाई निर्देशन दिएका थिए । तर पार्टी सरकारबाट बाहिरिने भनिएपछि त्यसैबारे जानकारी दिन उनी मन्त्रालय आएको परराष्ट्र अधिकारीहरूले बताए ।