प्रतिनिधिसभा र प्रदेसभाका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाउने कार्यक्रम छ । बन्दसूची बुझाएसँगै औपचारिक रुपमा चुनावी प्रक्रिया सुरु हुनेछ ।
निर्वाचन आयोगमा दर्ता भई समानुपातिकतर्फ ८८ वटा दलले चुनाव चिह्न लिइसकेका छन् । निर्वाचन आयोगले आइतबार बन्दसूची बुझाउन र कात्तिक ६ सम्म त्यसमा संशोधन गरी पेस गर्ने समय दिएको छ । राजनीतिक दलहरू आइतबार उम्मेदवारको प्रारम्भिक बन्दसूची तयार गरी पछि संशोधन गर्ने मनस्थितिमा छन् ।अाजकाे नागरिकमा खबर छापिएकाे छ ।
समानुपातिक सूचीको अन्तिम टुंगो लगाउन शनिबार साँझसम्म एमाले स्थायी समितिको बैठक बस्न सकेको छैन । बिहीबार बसेको बैठकमा प्रारम्भिक छलफल भएको सचिव योगेश भट्टराईले बताए । पछि संशोधन गर्नेगरी आइतबार प्रारम्भिक सूची पेस गरिने उनले बताए ।
समानुपातिकतर्फ ५० प्रतिशत महिलासहित दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व हुनेगरी बन्दसूची तयार गर्नुपर्ने बाध्यताले दलहरूलाई असजिलो भएको छ ।