प्रा.डा. गोविन्द केसीको मुख्य मागका रूपमा रहेको चिकित्सा शिक्षा विधेयक संसद्बाट पास नहुने निश्चित भएको छ । व्यवस्थापिका संसद शनिबारदेखि स्वतः विघटन हुने भएपछि विधेयक संसद्मै अलपत्र परेको छ ।
माथेमा कार्यदलले तयार पारेको प्रतिवेदन जस्ताको त्यस्तै ऐनका रूपमा आउनुपर्ने माग गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डा. केसी विगत नौ दिनदेखि अनशनमा छन् ।अाजकाे नयाँपत्रिकामा खबर छापिएकाे छ ।
शुक्रबार बसेको संसदकाे अन्तिम बैठकबाट विधेयक पास गराउन सभामुख ओनसरी घर्तीमगरले प्रमुख दलका शीर्ष नेतासँग अन्तिम समयसम्म प्रयास गरे पनि सफल हुन सकेन ।
केसीका मागमा सहमति खोज्न सभामुखले राखेको शीर्ष नेता सम्मिलित प्रमुख सचेतकहरूको बैठकमा सहमति जुट्न नसकेपछि विधेयक नआउने निश्चित भएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए । उनले अब संसदबाट चिकित्सा शिक्षा विधेयक पास हुने आशा टरेको बताए । ‘चिकित्सा शिक्षा विधेयक संसद्बाट पास नहुने भयो,’ शर्माले भने, ‘तीन दलका शीर्ष नेता र प्रमुख सचेतकसँग भएको छलफल कुनै निष्कर्षमा पुगेन ।’