संसारमा सबैभन्दा जटिल प्रविधिमा आधारित, सबैभन्दा महँगो र विकसित देशहरूमा बढी प्रचलनमा रहेको विद्युतीय मुद्रा बिटक्वाइनको उत्पादन पनि विकसित देशमै हुने अनुमान अधिकांशको हुन्छ । तर, नेपालमा प्रतिबन्धित बिटक्वाइनको उत्पादन दोलखाको दुर्गम गाउँ किर्नेटारमा हुने गरेको खुलेको छ । बिटक्वाइनको कारोबार गर्दै आएका प्रशान्तप्रताप शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत् आयोजनाको पावरहाउसनजिकै बिटक्वाइन उत्पादनसमेत गर्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्ता लगाएको छ ।अाजकाे नयाँ पत्रिकामा जनार्दन बराल र उमेश पाैडेलले समाचार लेखेका छन् ।
शाहलाई गत साता बिटक्वाइन र अन्य विद्युतीय मुद्राको उत्पादन र कारोबार गरेको आरोपमा सिआइबीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनले स्थानीय भीमबहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिएर बिटक्वाइनको माइनिङ (उत्पादन) गर्दै आएका थिए । बिहीबार सिआइबीले त्यहाँ छापा मारेर उपकरणहरू नियन्त्रणमा लिएको छ । शाहसँगै अन्य सातजनालाई पनि अनुसन्धानका लागि हिरासतमा राखिएको छ । काठमाडौंको भाटभटेनी घर भएका शाहले अमेरिकाबाट इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङ गरेका छन् । उनी गत वर्ष मात्र नेपाल फर्किएका थिए ।