बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न थालेपछि ‘डिपोजिट कलेक्सन’को माग बढेको छ । केन्द्रीय बैंकले आइतबार निष्कासन गरेको ५ अर्बको डिपोजिट कलेक्सनमा ८ अर्बको आवेदन परेपनि बिक्री गर्दा भने ३ अर्ब रुपैयाँ बराबरको मात्र बिक्री गरेको छ । यसबाट ब्याज घट्ने क्रम पनि सुरु भएको छ ।आजको कारोबारमा खबर छापिएको छ ।
बैंकहरूले उच्च ब्याजदरमा संकलन गरेको निक्षेपमा पनि ब्याजदर घटाएरै कर्जा दिन थालेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । वित्तीय क्षेत्रमा तरलता (कर्जायोग्य रकम) उपलब्ध भए पनि ब्याजदरसमेत क्रमिक रूपमा घटेको उनले जानकारी दिए । यसबाट वित्तीय क्षेत्रमा देखिएको वढ्दो ब्याजदर र कर्जा लगानीयोग्य रकम अभावको समस्या केही सहज भएको स्पष्ट देखिन्छ । यसको मुख्य कारण भनेको गत आवका बढेको सरकारी खर्च र यसबाट वित्तीय प्रणालीमा निक्षेप वृद्धि हुनु नै हो ।
सरकारले समयमा खर्च गरेको खण्डमा वित्तीय क्षेत्रमा बारम्बार आउने समस्या जटिल नबन्ने बैंकरहरूले बताउँदै आएका छन् । चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनसम्ममा नेपाल राष्ट्र बैंकमा सरकारी रकम २ खर्ब २८ अर्ब ९४ करोड मौज्दात छ । सरकारले यो रकम मौज्दात नराखी खर्च गरेको खण्डमा वित्तीय प्रणालीको समस्या सहज हुन्छ ।