जिल्लाका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ । स्थानीय तहहरूले समयमै औषधि खरिद गर्न नसक्दा औषधिको अभाव भएको हो ।जिल्लाको पुरचौंडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाहेक स्थानीय तहले औषधि खरिद गर्न सकेका छैनन् । औषधि खरिद भएका मध्ये पुरचौंडी, मेलौली र पञ्चेश्वर गाउँपालिकामा सामान्य ज्वरोमा खुवाउने सिटामोलको समेत अभाव छ ।आजको राजधानीमा खवर छापिएको छ।
स्थानीय तहमा औषधि खरिद गर्न बजेट नहुँदा मौजुदा औषधि सकिन लागेको र अब डेढ महिनापछि स्वास्थ्य संस्थामा कुनै पनि औषधि नहुने पुरचौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुवँरले जानकारी दिए ।‘‘४ लाखको मात्रै औषधि खरिद गरिएको हो, यो औषधिले बढीमा डेढ महिनामा धान्छ, यसपछि के गर्ने भन्ने विषयमा अन्योल छ,’ उनले भने ।
जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि अहिले औषधिको चरम अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् । औषधि नहुँदा चेकजाँचका लागि आउने बिरामीलाई रित्तो हात फर्काउनुपर्ने बाध्यता रहेको गाँजरी स्वास्थ्यचौकीका इन्चार्ज जनक सिंह धामीले जानकारी दिए । स्वास्थ्य संस्थामा सिटामोललगायत अत्यावश्यकीय समेत नरहेको उनले बताए ।
औषधि अभाव भएपछि सिगास गाउँपालिकाले खरिदका लागि रकम जोहो थालेको छ । औषधि अभाव हुन थालेपछि गाउँपालिका अध्यक्ष हरिसिंह धामीका अनुसार औषधि किन्ने प्रक्रिया र बजेटको जोहो सुरु गरिएको छ ।
‘भरखरै गाउँपालिकाले पूर्णता पाएको छ, अब औषधि किन्न कोटेसन आह्वान गर्नुपर्छ, सूचना निकाल्नुपर्छ त्यसैले ढिलो भयो हामी प्रक्रियामा जान्छौं,’ अध्यक्ष धामीले भने,‘यो महिनाभित्रै औषधि खरिद गरी गाउँपालिकाका स्वास्थ्य संस्थामा वितरण गर्छौं ।’
सुर्नया गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भए पनि खरिद प्रक्रिया सुरु भएको छैन । खरिद प्रक्रिया सुरु गर्न अझै केही दिन लाग्ने गाउँपालिकाका स्वास्थ्य सहसंयोजक तर्कराज भट्टले बताए ।