रुकुमकोटबाट जबर्जस्ती सदरमुकाम मुसीकोट सारिँदा रुकुमकोटका तारकबहादुर शाहको मन जति कुँडिएको थियो, बिहीबार उनै ७३ वर्षीय शाहको खुसीको सीमा थिएन । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट नै बनेपछि स्थानीयवासी हर्षित छन् । गृहमन्त्री जनार्दन शर्माले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धानलगायत सदरमुकाममा रहने कार्यालयको उद्घाटन गर्दै सदरमुकाम रुकुमकोट भएको घोषणा गरेका हुन् । रुकुमकोट सदरमुकाम बनेको खुसियालीमा सर्वसाधारणले मयूर, पैसेरु, पञ्चेबाजासहितका झाँकी प्रदर्शन गरेका थिए ।
४४ वर्षअघि जबर्जस्त सदरमुकाम मुसीकोट सारिँदा खिन्न बनेका शाहले सदरमुकाम फिर्ताको माग गरेकै कारण राजकाज मुद्दा लागेर एक वर्ष जेल बस्नुपरेको थियो । ‘आफू जुन कुराका लागि लडिएको थियो, त्यो पाइएपछि खुसी नहुने कुरै भएन,’ उनले भने, ‘झन्डै आधा दशकपछि जनताको मागको सम्बोधन भएको छ, हाम्रो आन्दोलनले सार्थकता पाएको छ ।’
संविधानमा पूर्वी र पश्चिम रुकुम भनेर उल्लेख गरिएपछि साविकको रुकुमलाई प्रदेश ५ र ६ मा राखिएको छ । त्यसैअनुसार नयाँ जिल्ला पूर्वी रुकुम कायम गरी त्यसको सदरमुकाम रुकुमकोट राखिएको हो । सीमा निर्धारण आयोगले प्रदेश ५ मा परेको भूभागलाई पूर्वी र प्रदेश ६ मा परेको भूभागलाई पश्चिम रुकुम जिल्ला भनेर निर्वाचन केन्द्रसमेत तोकिदिएको छ । अाजकाे कान्तिपुरमा खवर छापिएकाे छ।
तत्कालीन राजाको हुकुम र अञ्चलाधीशको जबर्जस्तीमा रुकुमकोटबाट सदरमुकाम सारिएको थियो । त्यसका लागि मुसीकोटका प्रधानपञ्चहरूले राजा र अञ्चलाधीशसँग ‘साँठगाँठ’ गरेका थिए । २०३० वैशाख १ गते बिहानै रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम जनताको इच्छाविपरीत मुसीकोट खलंगामा सारिएको थियो । ‘सदरमुकाम खोसेर लिइएको थियो,’ शाह ती दिन सम्झन्छन्, ‘सदरमुकाम सार्नुहुन्न भन्ने माग गर्दै सत्याग्रहको तयारीमा रहेका जनतालाई कुल्चिएर सदरमुकाम सारिएको पीडा बल्ल आज मेटियो