अढाइ वर्षपछि सिंहदरबार पुनर्निर्माणको सुरसार, पुरानै इँटा र सुर्की प्रयोग हुने

भूकम्प गएको दुई वर्षभन्दा बढी भइसक्दा देशकै प्रमुख प्रशासनिक भवन सिंहदरबारलाई बल्ल छोपछाप पार्न थालिएको छ।तस्बिरः नारायण महर्जन


 तीन चरणमा सिंहदरबारको रेट्रोफिटिङ हुँदै –

भूकम्पमा क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको रेट्रोफिटिङ (प्रबलीकरण) प्रक्रिया अघि बढेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार तीन चरणमा सिंहदरबारको प्रबलीकरण सम्पन्न हुनेछ । पहिलो चरणमा भूकम्पबाट क्षति पुगेको भवनको सूक्ष्म अध्ययन हुनेछ । अध्ययन प्रभावकारी बनाउन प्राधिकरणले सिंहदरबारवरिपरि खट बाँध्ने काम सुरु गरिसकेको छ । अबको एक साताभित्र प्राधिकरणले अध्ययन टोली परिचालन गर्नेछ । सूक्ष्म अध्ययनका लागि डेढ महिनाको समय छुट्याइएको छ । यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

अध्ययनपछि सिंहदरबारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुनेछ । प्रबलीकरणको यो दोस्रो चरण हो । यसका लागि साढे दुई महिनाको समय निर्धारण गरिएको छ । सूक्ष्म अध्ययन र डिपिआर तयार गर्न मात्रै दुई करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ । यसका लागि थप नौ महिना लाग्नेछ । सिंहदरबार प्रबलीकरणको सम्पूर्ण काम १३ महिनाभित्र सकिनेछ ।

प्राधिकरणका सहसचिव राजुमान मानन्धरले सिंहदरबारको प्रबलीकरणको काम अब नरोकिने बताए । ‘सिंहदरबार प्रबलीकरणको काम तीन चरणमा सम्पन्न हुन्छ । अबको १३ महिनाभित्र पुरानै शैलीमा बलियो र सुन्दर बन्नेछ,’ उनले भने ।

पुरानै इँटा र सुर्की प्रयोग हुने
प्राधिकरणका अनुसार सिंहदरबार प्रबलीकरणमा पुरानै इँटा प्रयोग गरिनेछ । इँटा जोड्न सिमेन्टको ठाउँमा सुर्कीको प्रयोग गरिनेछ । सिंहदरबारको बाहिरी आवरण पुरानै शैलीको हुनेछ । पर्खालको केही भागमा भने फलामको रड प्रयोग गरिने मानन्धरले बताए । तर, रड नदेखिने गरी विशेष प्रविधि अपनाएर जडान गरिनेछ । सिंहदरबारको भित्री सजावट पुरानै राजसी शैलीमा तयार गरिनेछ । दरबारको वाल र कोठामा विशेष खालको रंगरोगन गरिनेछ । ‘सिंहदरबार प्रबलीकरण गर्दा इँटा र सुर्की पुरानै प्रयोग हुनेछन् । साजसज्जा पनि पुरानै शैलीमा हुनेछ । यी सबै कामका लागि लाग्ने खर्च अहिले भन्न सकिने अवस्था छैन । डिपिआर तयार भएपछि मात्रै थाहा हुन्छ,’ उनले भने ।

राणाकालीन अन्य दरबार निर्माण अझै अन्योलमा
भूकम्पमा क्षतिग्रस्त राणाकालीन दरबारको पुनर्निर्माण प्रक्रिया टुंगो लाग्न नसक्दा साढे दुई वर्षदेखि अलपत्र बन्न पुगेका छन् । विशेषगरी सय वर्ष पुराना राणाकालीन दरबार भत्काएर पुरानै शैलीमा बनाउने कि रेट्रोफिटिङ गरेर संरक्षण गर्ने भन्ने विषय टुंगिन सकेको छैन । समयमै पुनर्निर्माण नहुँदा क्षतिग्रस्त दरबार बर्खाको पानीले जीर्ण बन्दै गएका छन् । दरबारका पर्खालमा झार पलाएका छन् भने भित्री भाग माकुराका जालो र धुलोले ढाकिएका छन् । कतिपय दरबार भत्किसकेका छन् ।

सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार तत्कालीन अवस्थामा चालू रहेका शीतलनिवास, बबरमहल, केशरमहल, सीतामहल, रानीपोखरी दरबार, हरिहर भवन, बाघ दरबार, वसन्तपुर दरबार, श्रीमहल, पुल्चोक दरबार, चारबुर्जा दरबार, जावलाखेल दरबार पुनर्निर्माणको प्रक्रिया कहिले टुंगिने हो ठेगान छैन ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना उपप्रमुख सुरेश वाग्लेले राणाकालीन दरबारको पुनर्निर्माण प्रक्रिया टुंगोमा पुग्न नसकेको बताए । ‘साढे दुई वर्षअघिको भूकम्पले राणाकालीन दरबारमा क्षति पुग्यो । सञ्चालनमा रहेका कार्यालय रातारात सारियो । अझैसम्म त्यस्ता दरबारको रेट्रोफिटिङ गर्ने कि भत्काएर नयाँ बनाउने भन्ने विषय टुंगो लागेको छैन । बर्खाको झरीले झन् विजोग बनाएको छ,’ उनले भने ।

एकाइका अनुसार पुरातत्वविद् र सम्बन्धित सरकारी निकायबीच राय बाझिएपछि प्रक्रिया नटुंगिएको हो । ‘पुराना दरबारको सम्बन्धमा पुरातत्वविद् र हाम्रा इन्जिनियरको फरक–फरक मत छ । पुरातत्वविद् दरबारलाई रेट्रोफिटिङ गर्नुपर्छ भन्छन् । इन्जिनियरहरू रेट्रोफिटिङ गर्ने बजेटले नयाँ दरबार बन्ने बताउँछन् । यसो हुँदा सम्पूर्ण प्रक्रिया रोकिएका छन्,’ वाग्लेले भने ।

भूकम्पले राष्ट्रपति कार्यालय रहेको शीतलनिवासमा क्षति पुर्यायो । छिट्टै पुनर्निर्माण हुने आसले राष्ट्रपति कार्यालय पालमा सारियो । तर, यस अवधिमा न शीतलनिवास बन्यो न राष्ट्रपति कार्यालय सारियो । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले पनि दैनिक कार्य पालबाटै गर्दै आएकी छिन् । केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार शीतलनिवासको रेट्रोफिटिङ गर्ने कि भत्काएर पुरानै शैलीमा बनाउने भन्ने विषयमा विवाद छ । ‘शीतलनिवास निर्माणको प्रक्रिया अझै टुंगिएको छैन । कसैले रेट्रोफिटिङ गर्नुपर्ने भनेका छन्, कसैले भत्काएर पुरानै शैलीमा निर्माण गर्ने भनेका छन्,’ केन्द्रीय आयोजना कार्यान्वयन एकाइका उपप्रमुख वाग्लेले भने ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.