बर्मेली शरणार्थी भन्छन्, ‘देश फर्किने रहर छ’


कपन, बालुवाखानीस्थित बर्मेली शरणार्थी शिविरमा दिनमा पाँचपटक नमाज पाठ हुन्छ। हरेकपटक उनीहरूको प्रार्थना एउटै हुन्छ- ‘आफ्नो देश फर्कन पाऊँ।’ तर, म्यानमार (बर्मा)मा हरेक दिन हिंसा बढ्दो छ। रोहिंग्या मुस्लिम समुदाय हरेक दिन देशबाट लखेटिइरहेका छन्। त्यसको असर नेपालस्थित रोहिंग्या शरणार्थी शिविरमा देखिन थालेको छ। ‘बर्मामा हिंसा चर्किएको एक महिनाअघि मात्र शरणार्थी शिविरमा १३ जना थपिए’, चार वर्षयता शिविरमा बस्दै आएका शरणार्थी रफिक आलम भन्छन्। तर, संयुक्त राष्ट्रसंघीय निकाय यूएनएचसीआरको रेकर्डले भन्छ, ‘बर्मामा हिंसा बढेपछि तत्काल कुनै पनि शरणार्थी नेपाल आएका छैनन्।’ यो खबर दिपक सापकोटा र राजु स्याङ्तानले आजको अन्नपूर्णमा लेखेका छन्।

४० दिनअघि नेपाल आएका शरणार्थी सइदुला मिन बोल्दा-बोल्दै भक्कानिए। उनी सबै आफन्त उतै छाडेर नेपाल आएका हुन्। घरभित्रै थुनिएका थिए, वृद्ध बुबाआमा। परिवारका सम्पूर्ण सदस्य थुनिएर भित्रै जले। उनी भने भाग्न सफल भए। म्यानमारबाट पानीमा पौडिएर बंगलादेश पुगे। अहिले उनी नेपालको शिविरमा दिनभर टोलाएर बस्छन्। अर्का शरणार्थी अबुथ कर भन्छन्, ‘हामीले खाइरहेको बेला उनी आउँछन्। खान दिए अलिकति खान्छन्। नभए भोकै बस्छन्।’

आइतबार शिविरमा भेटिएका उनीहरूले शरीरमा भएका गोलीका दाग देखाउन थाले। सिमानामा उनीहरूलाई गोली दागियो। कति त त्यहीं ढले। दाग कसैको हातमा छ कसैको पेटमा। उनीहरूको दाबी छ, ‘आठ सय वर्षदेखि हाम्रा पुर्खा बर्मामा बस्दै आएका हुन्।’ यूएनएचसीआरले उनीहरूलाई केही समय आर्थिक सहयोग गर्‍यो। घरमूलीलाई पाँच हजार तीन सय ५०, श्रीमतीलाई तीन हजार पाँच सय र बालबालिकालाई दुई हजार सात सय रुपैयाँका दरले मासिक सहयोग गर्‍यो। सन् २०१२ देखि नेपालमा बस्न थालेका उनीहरूले २०१४ सम्म सहयोग पाए। त्यसबाटै उनीहरूको गुजारा चल्थ्यो। त्यसपछि उनीहरूले कुनै सहयोग पाएनन्। अबुथ करले आफ्नो परिवारबाट १४ हजार रुपैयाँ पाउँथे। आर्थिक सहयोग रोकिएपछि अहिले उनीहरूलाई जीवन धान्न गाह्रो भएको छ।

बर्मामा हुँदा कृषि पेसा अँगालेका उनीहरूले काठमाडौंमा केही काम पाएनन्। ‘हामीलाई सिमेन्टको काम गर्न आउँदैन। हेल्पर बन्ने हो’, अबुथ कर भन्छन्। त्यसबापत दिनमा तीन सयदेखि चार सय रुपैयाँसम्म कमाइ हुन्छ। उनीहरू बाँच्ने आधार त्यही कमाइ भएको छ। उनीहरूले वार्षिक एक लाख ४५ हजार रुपैयाँमा जग्गा भाडा लिएर शिविर खडा गरेका हुन्। प्रत्येक परिवारबाट उठाएर तिर्नुपर्ने जग्गा भाडा अब कसरी तिर्ने भन्ने अर्को आपत् आइपरेको छ।

बंगलादेश र भारतका विभिन्न स्थानमा बस्दा असुरक्षित महसुस गरेका उनीहरूले यहाँ भने सुरक्षित महसुस गरेका छन्। ‘भोकै बस्नुपरे पनि हामीलाई यहाँ राम्रो छ’, २९ वर्षीय रफिद आलम भन्छन्, ‘मेरा बूढी र दुई छोरी मसँग छन्। आमा-बुबा, दुई भाइ र बहिनीलाई ल्याउन सकिनँ। उनीहरू बंगलादेशसम्म आइपुगेका छन्। कसरी ल्याउने थाहा छैन। हामीलाई उपत्यका कटेर जान अनुमति छैन।’

अबुथ कर गाई, भैंसी सबै जलेको सुनाउँछन्। ‘हाम्र्रो त्यहाँ ६०-६५ बिगाहा जमिन थियो’, उनी भन्छन्, ‘एकजना महिलालाई १२ जनासम्मले बलात्कार गरे।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.