तस्करीको सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान तस्करी सुनमा


सरकारबाट अनुमति पाएका बैंकहरूले ल्याएको सुनभन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ। बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती बढी जाने भएकाले कम नाफा हुने गरेको छ। यो खबर श्रीधर खनाल/मेनुका कार्कीले आजको अन्नपूरुणमा लेखेका छन्।

तस्करीको सुनको गुणस्तर राम्रो भएपछि व्यापारीले बैंकसँग सुन किन्न मन नपराउने नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन बताउँछन्। उनले भने, ‘भन्सार नतिरेका कारण तस्करी भएर आएको सुन सस्तो पनि भयो। त्यसमाथि शुद्धता बढी भएका कारण नाफा पनि बढी भयो।’ अर्कोतर्फ गत जेठदेखि राष्ट्र बैंकले सानो परिमाणमा सुन किन्न पाउने व्यवस्था नगर्दासम्म व्यापारीले एक किलोभन्दा कम तौलको सुन किन्न पाउँदैनथ्ये। यसको फाइदासमेत तस्करले उठाउँदै आएका थिए। अहिले बैंकिङ च्यानलबाटै सय ग्रामसम्म सुन किन्न पाइन्छ।

बैंकिङ च्यानलबाट आएको सुनको गुणस्तरका विषयमा व्यापारीले प्रश्न उठाएपछि तत्कालीन वाणिज्य मन्त्रालयले बैंक तथा व्यापारीबीच छलफल सुरु गरेको थियो। सुनको गुणस्तर कायम गर्नेसम्बन्धी निर्देशिका ल्याउनसमेत मन्त्रालयले पहल गरेको थियो। तत्कालीन वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय ९९९९ अंकित सुन मात्र ल्याउन सहमति भएको बताउँछन्। यसअघि अर्थात् असारसम्म बैंकहरूले ९९.५० अंकित सुन ल्याउँथे। त्यस्तो सुनलाई २४ क्यारेट नै भनिए पनि आधा प्रतिशत कम शुद्धता हुन्थ्यो। बैंकहरूले त्यस्तो सुन ल्याए पनि व्यवसायीले भने उपभोक्तालाई २४ क्यारेटकै मूल्य लिने र दिने गरेका थिए। सुन आधा प्रतिशत कम भए पनि शुद्धतामा भने शून्य दशमलव ५ प्रतिशत कम हुने नेपाल सुन, चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्।

रसायनका कारण गरगहना कमसल बने पनि मूल्य भने २४ क्यारेटकै पाउने उनले बताए। ‘उपभोक्ता ठगिएका छैनन्, उनले भने, ‘यसको ग्यारेन्टी व्यवसायीले लिएका छन्।’ अहिले नयाँ प्रविधिको विकास भइसकेको छ। रसायन राखेर छिटफुट मात्र गहना बन्ने गरेको छ। ‘बिलका आधारमा सुनको मूल्य निर्धारण हुने हो,’ शाक्यले भने। गहना बनाउँदा सुनको शुद्धतामा कमी आउने भएकाले नै दुई प्रतिशतसम्म टोलोरेन्स दिनुपर्छ भनी महासंघले माग रोखेको उनी सम्झन्छन्। गरगहना बनाउँदा गहनाको डिजाइन हेरी एक प्रतिशतसम्म पनि सुनको शुद्धतामा कमी आउन सक्ने शाक्यको बुझाइ छ।

सरकार व्यवसायीबीच यो सहमति भएपछि नेपाल राष्ट्र बैंकले जेठमा सर्कुलर जारी गरेर बैंकहरूलाई विश्व बजारमा चलन चल्तीमा रहेको स्ट्यान्डर्ड सुन ९९९९ अंकित सुन ल्याउनुपर्ने व्यवस्था गरेको छ। ‘आमउपभोक्तालाई शुद्ध सुन उपलब्ध गराउन सरकारले यस्तो व्यवस्था गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए।

सुन भनेको विश्वासमा चल्ने व्यवसाय हो। व्यवसायी आफैंले गहना बनाउने होइन। कालिगढले बनाउँदा अर्थात् गहना जडान गर्दा प्रयोग गरिने रसायनले पनि सुनको शुद्धता निर्धारण गर्ने नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए। अबको बजार भनेको विश्वासमा भन्दा पनि ग्यारेन्टीमा चल्नुपर्ने उनको भनाइ छ।

‘विश्वमा धेरै प्रविधिको विकास भइसकेको छ। सुनको शुद्धता नापेर हलमार्क चिह्न प्रयोग गरी गहना बिक्री गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो,’ महर्जनले भने, ‘गहना जडान गर्दा पहिला क्याडियम प्रयोग गरिन्थ्यो, अहिले जिंक प्रयोग गर्न थालिएको छ।’ रसायन गरेको धातु उडाउन सके सुन शुद्ध हुन्छ, होइन भने केही गुणस्तर भने घट्ने उनले बताए।

बैंकहरूले ९९.५० अंकित सुन ल्याउँदासम्म बैंकले ल्याएको सुनभन्दा तस्करीले ल्याएको सुन शुद्ध र सस्तो हुने गरेको व्यवसायीको भनाइ छ। वैधानिक बाटोबाट आएको सुनमा प्रति १० ग्राम चार हजार दुई सय भन्सार महसुल लाग्ने गरेको छ। नेपालमा अहिले शुद्ध सुन परीक्षण गर्ने उपकरण नै नभएको शाक्यले बताए।

उनले भने चाँदीको गहना निर्यात हुने भएकाले यसको गुणस्तर परीक्षण गर्न नेपाल हस्तकला महासंघ र गुणस्तर तथा नापतौल विभागले ल्याएको छ। नेपालमा भने सोही उपकरणमा सुनको गरगहनाको परीक्षण हुने गरेको शाक्य र महर्जनको भनाइ छ। पसल-पसलबाट शुद्ध सुनको ग्यारेन्टीसहित गहना बिक्री गर्ने वातावरण सरकारले मिलाइदिनुपर्ने उनीहरूको भनाइ छ।

नेपालमा दैनिक ३५ किलो सुन खपत हुँदै आएको छ। सरकारी च्यानलबाट दैनिक २० किलो सुन मात्र आपूर्ति हुन्छ। बजारको दैनिक मागका लागि समेत व्यवसायीले तस्करको भर पर्नुपर्ने अवस्था छ। काठमाडौंको मुटु न्युरोड र दरबारमार्गमा समेत तस्करीको च्यानलबाट आएको सुनको कारोबार हुने गर्छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.