डा.गोविन्द केसीले टिकट काटेको माइक्रोबस उनलाई लिन बिहीबार बिहानै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज आयो । त्यति बेला पेट दुखेर अस्पतालभित्र उनकै उपचार भइरहेको थियो ।आजको कान्तिपुरामा खबर छापिएको छ ।
बनेपा–बर्दिबास हुँदै पूर्व जाने रुटको यात्रुवाहक माइक्रोबसले उनलाई करिब एक घण्टा कुर्यो । उनी जान उठेर आए । तर, अस्पतालका अन्य चिकित्सकले रोक्दै भने, ‘यो अवस्थामा मधेसको गर्मीमा नजानुहोस्, तपाईंकै लागि जोखिमपूर्ण छ ।’ उनले मानेनन् । सप्तरीको दलित बस्तीमा गएर बाढी प्रभावितलाई लागेको रोगब्याधीको उपचार गरेरै छाड्ने अडान राखे । अन्ततस् चिकित्सकले सल्लाह दिए, ‘त्यसो भए जहाज चढेर विराटनगर हुँदै जानुहोस् । लामो घुम्ती बाटो गाडीमा नहिँड्नुहोस् ।’ त्यतिचाहिँ उनले स्विकारे । उनको टोली माइक्रोबसबाट यता आयो, उनी जहाजबाट ।
बिहीबार बेलुकीपख सप्तरी आइपुगेका उनी शुक्रबार बिहान ९ बजेदेखि स्वास्थ्य शिविरमा सहभागी भए । साथमा सहयोगी चिकित्सकहरू नभएका होइनन् । तैपनि मुख्य रूपमा उनी नै खटे । आमरण अनशन स्थगनको ९ दिन आराम गरेपछि डा। केसी सप्तरीमा स्वास्थ्य शिविर चलाउन आइपुगेका हुन् । २३ दिन अनशन बसेपछि बाढीपहिरोका कारण भएको असामान्य अवस्थालाई ध्यान दिँदै उनले
आफ्ना माग पूरा नभए पनि अनशन स्थगन गरेका थिए । तिनै बाढीपीडितको उपचारार्थ आफ्नै स्वास्थ्य जोखिममा पार्दै उनी यहाँको दलित बस्ती आइपुगेका हुन् ।