नेपाल र भारतबीचको असमान सन्धि एवं बाँध, तटबन्ध तथा सडक संरचनाले सीमावर्ती क्षेत्रका जनताको जीविकोपार्जनमा असर परेको अध्ययनले देखाएको छ ।राजधानीमा शुक्रबार ‘भारतद्वारा निर्मित सीमावर्ती बाँध तथा तटबन्ध संरचनाले पारेको असर र प्रभाव’ विषयक अन्तक्र्रियामा सीमाविद् रतन भण्डारीद्वारा प्रस्तुत अध्ययन प्रतिवेदनले यो तथ्य औंल्याएको हो ।अाजकाे राजधानीमा खबर छापिएकाे छ।
सन् १९५४ अप्रिलको कोसी परियोजना सम्झौता, सन् १९५४ को गण्डक बाँध परियोजना सम्झौता, सन् १९९६ को शारदा बाँध परियोजना तथा महाकाली सन्धि, लक्ष्मणपुर ब्यारेज र कलकलवा तटबन्धका साथै सीमावर्ती क्षेत्रमै भारतद्वारा निर्मित बाँध तथा तटबन्धले बर्सेनि नेपालका सीमावर्ती क्षेत्रमा मानवीय, भौतिक संरचना एवं बालीनाली क्षति भइरहेको अध्ययनमा उल्लेख छ ।
‘‘स्थानीय सीमान्तकृत र निम्न वर्गीय समुदायले अस्वाभाविक पीडा भोग्दै आएका छन्, बर्सेनि हुने डुबानका कारण घरभित्रको खाद्यान्न नष्ट हुँदा र बाली डुबानमा पर्दा उनीहरूको खान र बाँच्न पाउने अधिकार खोसिएको छ,’ अध्ययनमा भनिएको छ,
‘बाढीपहिरोले कतिपय परिवार विस्थापित हुनुपरेको अवस्था पनि सिर्जना भएको छ ।’
सीमावर्ती प्रभावित क्षेत्रका जनताको पेसा खोसिनुका साथै त्यस क्षेत्रमा कुपोषण, भोकमरी, अशिक्षा, गरिबीलगायत समस्या कहालीलाग्दो गरी वृद्धि भएको अध्ययनमा उल्लेख छ । अध्ययनअनुसार पानीजन्य रोगको सिकार बन्नुका साथै कतिपय समुदाय विखण्डनसमेत भएका छन् । जमिन, कृषि उत्पादन र स्थानीय जीविकालाई समेत गम्भीर एवं दीर्घकालीन असरमा परेको छ ।