उपचारका क्रममा कोमामा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठलाई बढुवामा छुटाउँदा आलोचित बनेको गृह मन्त्रालय र प्रहरी नेतृत्वले डिआइजीको विशेष पद निर्धारण गरेर बढुवा सिफारिस गरेको छ।
एसएसपीको बरियतामा तेस्रो नम्बरमा रहेका श्रेष्ठ ब्याडमिन्टन खेल्ने क्रममा ढलेपछि कोमामा पुगेका थिए।
उनी अहिले उपचारमै छन्। तीन साताअगाडि निकालेको बढुवा सिफारिस सूचीमा उनको नाम परेको थिएन। बढुवा सिफारिस समितिको मंगलबार बैठक बसेर डिआइजीको एक विशेष पद निर्माण गरी त्यसमा श्रेष्ठको नाम सिफारिस गरेको हो।
सिफारिसअनुसार सूचीमा उनले ८०.८ नम्बर पाएका छन्। यसअघि भएको बढुवामा नछुटेको भए उनी तेस्रो नम्बरमा सिफारिसमा पर्थे।