सुनसरी, धनकुटाका साथै उदयपुरको बेलका नगरपालिकाको सिमानास्थित सप्तकोसीमा २ सय ६९ मिटर अग्लो बाँध निर्माण प्रक्रियासँगै प्रदेश १ मा खतरा हुने भएकाले त्यसलाई तत्काल रोक्न आग्रह गरिएको छ । सप्तकोसी उच्च बाँध निर्माण प्रक्रिया अघि बढेसँगै सरोकारवालाले सो काम तत्काल बन्द गर्न सरकारसँग आग्रह गरेको खबर राजधानी दैनिकमा छ |
सप्तकोसीमा ब्यारेज निर्माण गर्नुअघिको कोसी सम्झौताको पूर्ण पालना नगरेको भन्दै सरोकारवालाले सो सम्झौता कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । सप्तकोसीमा निर्माण गर्ने भनिएको २ सय ६९ मिटर अग्लो बाँधले प्रदेश १ मा समस्या हुने उनीहरूको भनाइ छ ।
कोसी सम्झौताले सिर्जना गरेका समस्या ज्यूँका त्यूँ रहेकाले सरकारले पुनः कोसी उच्च बाँधको काम अघि बढाउन नहुने पूर्वमन्त्री तथा सुनसरी क्षेन ६ का सांसद भीम आचार्यले बताए । भारतले कोसी सम्झौताअनुसार सप्तकोसी नदीका कारण विस्थापनमा परेका पीडितलाई राहत एवं क्षतिपूर्ति रकम नदिई कोसी सम्झौताको उल्लंघन गरेको उनको आरोप छ । ‘भारतले सप्तकोसी नदीमा ब्यारेज बनाउनुअघि गरेको कोसी सम्झौताको पूर्ण पालना नगरी अर्को सम्झौता कदापि हुन सक्दैन,’ सांसद आचार्यले भने,
‘नेपाल र नेपालीको हित प्रतिकूल सप्तकोसीमा उच्च बाँध निर्माण गर्न जनताले कुनै हालतमा दिँदैनन् ।’ एमाले प्रदेश १ का संयोजकसमेत रहेका आचार्यले सप्तकोसीमा उच्च बाँध बनाउन आफ्नो पार्टीले नदिने बताए । प्रदेश १ का साविकका ८३ वटा गाविसमा कोसी उच्च बाँधको असर पुग्ने भएकाले त्यो नेपालको हित अनुकूल नहुने उनको भनाइ छ ।