नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन जारी गर्दै सवारी कर्जाको धितो मूल्यांकनलाई ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्याएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सवारी कर्जालाई केही खुकुलो गर्ने नीति लिएको थियो। सोही बमोजिम राष्ट्र बैंकले निर्देशिका जारी गर्दै सवारी कर्जाको धितो मूल्यांकन बढाएको हो।
यससँगै अब सर्वसाधारणले ३५ प्रतिशत डाउनपेमेन्टमा निजी सवारी किन्न सक्नेछन्। अर्थात गाडी किन्नलाई बैंकबाट ६५ प्रतिशत ऋण लिन सकिनेछ।
राष्ट्र बैंकले एकीकृत निर्देशिकामार्फत नै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत आवासीय घरमा उपलब्ध गराउने कर्जाको सीमालाई समेत बढाएको छ। चालू आर्थिक वर्षमा लिइएको मौद्रिक नीतिअनुसार नै राष्ट्र बैंकले घर कर्जामा १ करोड रुपैयाँको सीमालाई बढाएर १ करोड ५० लाख रुपैयाँ पुर्याएको हो।