उनले बडो ममतापूर्वक बालकलाई च्यापेका थिए। झरी परेको आकाश केही उघ्रिए पनि मौसम चिसो-चिसै थियो। बालकलाई कम्बल ओढाइएको थियो। लाग्यो- उपचार गर्न अस्पताल लैजाँदै गरेको हुनुपर्छ। मैले जिज्ञासा राखेँ। बालक बोक्ने व्यक्ति केही बोलेनन्। साथमा आएका अर्का व्यक्तिले भने, 'बाढीमा डुबेर यो बालकको मृत्यु भयो, जताततै पानी नै पानी छ। गाड्ने ठाउँ पाइएन। त्यसैले कोसीमा बगाएर सद्गत गर्न जाँदैछौँ।' घटनाबारे बताउँदै युरोपियन प्रेस फोटो एजेन्सीका पत्रकार नरेन्द्र श्रेष्ठको भनाई आजको कान्तिपुरमा छापिएको छ।
सुन्दै मन कटक्क भयो। नहरको डिलडिलै उनीहरु अघि बढिरहेका थिए। पाइला पछ्याउँदै हामी पनि गयौँ। करिब एक किलोमिटर पार गएपछि कोसीको किनार भेटियो। बालकको शव बोक्ने व्यक्ति चुपचाप अघि बढे। कम्मरसम्म डुब्ने भागमा पुगेपछि होसियारीपूर्वक पानीमाथि शव राखिदिए। आधा मिनेट पनि नभई शव पानीले बगाउँदै लग्यो। उनले हेरिरहन सकेनन्। बग्दै गरेको एउटा फोटो खिचेपछि मैले पनि हेर्न सकिन। केही समयपछि हेर्दा शव अलप भइसकेको थियो।
बाढीले तराईका जिल्लाहरु डुबानमा परेलगत्तै म सप्तरी आएको थिएँ। कोइलाडी र सकरपुरा गाउँमा धेरै व्यक्ति बाढीमा फसेको सुनेपछि नेपाली सेनाको 'रबरबोट' मा तिलाठीको मुसहर बस्ती पुगेँ। उद्धारको प्रतिक्षामा रहेकाहरुको अवस्था कहालीलाग्दो दियो। म फसेकाहरुको फोटो खिचिरहेको थिएँ।
आइतबार दिउँसो एक स्थानीय बासिन्दाले फुदन सदाका ५ वर्षीय छोरा कमलुको मृत्यु भएको सूचना दिए। उनले जाने बाटोसमेत बताइदिए। हामी त्यतै गयौँ। बायाँतिर अलि पर कोसी नदी गडगडाउँदै बगिरहेको थियो। कम्बलभित्र तिनै कमलुको शव रहेछ र बोक्ने उनका काका देवकुमार सदा।
मधेसको दलित समुदायमा बालबालिकाको निधन हुँदा गाड्ने परम्परा छ । त्यसका लागि बाटोघाटोबाट अलि टाढा सार्वजनिक स्थल प्रयोग गरिन्छ । त्यस्तो ठाउँ जति खोज्दा पनि नपाएपछि सदा परिवारका लागि शव बगाइदिनुको विकल्प थिएन । नदीमा बालकको सद्गत गरेर निस्किएपछि भावविह्वल देवकुमारले भने, ‘निमुखालाई सरकारले त हेर्दैन–हेर्दैन, भगवान्ले समेत नहेर्दा रहेछन् ।’

