बाढीबाट जोगिन फरक तरिका

बाढीबाट जोगिन फरक तरिका

बाढीले प्रभावित चितवनको सौराहा । तस्बिरः अनिल ढकाल


मौसम परिवर्तनका कारण पानी पर्ने प्रवृत्ति फरक देखापर्न थालेको छ। तराई र चुरे क्षेत्रमा बढी पानी परेकाले त्यही क्षेत्रमा बढी क्षति पुगेको छ। यसले के इंगित गर्छ भने तटबन्ध, जलाशय र अन्य पूर्वाधारले मात्र बाढी र डुबान समस्या समाधान गर्न सक्दैन। ब्यारेज तथा बाँध क्षेत्रभन्दा तल पानी परेको छ। पानी परेको अवस्थामा नदीमा मात्र बाढी आएको होइन। तटबन्धले नदीको पानी थुनिदिन्छ, नदी भएर तटबन्धइतरका पानी मिसिन पाउँदैन र जताततै डुबान समस्या हुन्छ। बढ्दो जनसंख्या, सडक आदि पूर्वाधार विकासका कारण पनि बाढी तथा डुबानजन्य समस्या बढेका छन्। यो खबर माधव बेल्बास्ले आजको अन्नपूर्णमा लेखेका छन्।

यसले गर्दा पूर्वाधारहरू आफैं डुबान समस्या ल्याउने जोखिम तत्वका रूपमा विकसित भए। जल मौसम तथा विज्ञान विभागले पूर्वी क्षेत्रमा ठूलो पानी पर्छ, होसियार रहनुपर्छ भनेर पूर्वचेतावनी दिएकै हो। राज्यका संयन्त्रमध्ये यसले एउटा राम्रो काम गर्‍यो। तर, बाढी र पहिरोसित जुध्ने हाम्रो अरू क्षमता भएन। राज्यका अरू संरचना पनि उत्तिकै सबल भइदिएको भए यो जनधनको क्षति निकै कम हुन्थ्यो।

बाढी तथा पहिरो पूर्वानुमानका साथै राज्यका अरू निकाय समुदाय, सुरक्षा आदिका क्षमता पनि त्यसअनुसार विस्तार हुँदै जानुपर्छ। सूचना प्रणाली दिगो र भरपर्दाे भएपछि अरू संयन्त्रको पनि तदनुरूप क्षमता बढाइनुपर्छ। किनभने, पूर्वाधारले मात्र यस्ता जोखिम नियन्त्रण तथा न्यूनीकरण गर्न असम्भव छ भन्ने देखाइसकेको छ। पूर्वाधार निर्माण, नदी नियन्त्रण, तटबन्ध विस्तार आदिले मात्र कुनै हालतमा सम्भव हुँदैन। राज्यका निकाय, समुदाय र गाउँलाई नै क्षमतायुक्त बनाउनुपर्छ।

समुदायमा यस्तो अवधारणा व्यापक पारिनुपर्छ। बाढी आउँदा समुदाय÷गाउँका बासिन्दा सुरक्षित स्थानमा आउन सक्ने हुनुपर्छ। यसका लागि ठाउँ-ठाउँमा यस्ता सुरक्षित स्थान निर्माण गरिनुपर्छ, जसमा खाद्यान्न, सफा पानी र बसोबासको पर्याप्त सुविधा होस्। अबका दिनमा यस्ता कार्य नगरीकन इन्जिनियरिङ समाधानले मात्र सम्भव छैन। पानीको प्रकृति उस्तै भए पनि वैशाख र साउनमा परेको प्रभावचाहिँ फरक पर्छ। वैशाखमा जमिन सोस्छ र क्षति कम हुन्छ तर साउनमा सतहमै पानी दौडिन्छ र क्षति बढी हुन्छ।

मौसम परिवर्तनका कारण जलस्रोत क्षेत्रका ज्ञाता तथा विज्ञले परम्परागत रूपमा गर्दै आएका संघर्षले मात्र अब पुग्ने भएन। यो उनीहरूका लागि ठूलो चुनौती हो। सय वर्षमा बाढी आउने अनुमान गरेर संरचना तथा पूर्वाधारहरू निर्माण गरिए, २५ वर्षमै बाढी आउन थाल्यो। जसले गर्दा अर्बौ रुपैयाँ खर्चेर बनाइएका पूर्वाधारको विनाश मात्र होइन, जनधनको पनि क्षति हुन्छ। अबका संरचना निर्माण गर्दा ‘फ्युज सिस्टम’मा जानुपर्छ। उदाहरणका लागि सन् २०१४ मा बबईमा आएको बाढीले बायाँ किनारको तटबन्ध भत्काइदियो।

बबई हेडवक्र्सको डिजाइन ७ हजार दुई सय ५० क्यूमेक्स पानी धारण गर्ने हो। तर, ११ हजार क्यूमेक्सले नै उक्त तटबन्ध भत्काइदिएको थियो। यो तटबन्ध भत्किनु भनेको मुख्य संचरना (हेडवक्र्स) सुरक्षित रहन पुग्यो। दुई-चार करोडको क्षति भएर अर्बा रुपैयाँको संरचना जोगियो। ठूलो बाढी आएका बेला यस्ता ‘फ्युज सिस्टम’ले मुख्य संरचनालाई जोगाउने गर्छ।

मौसम परिवर्तनका प्रभावले गर्दा बढी पानी पर्ने र सुक्खा हुने चरम घटना बढेको अवस्थामा मौसम परिवर्तनको अनुभूति नगरिएको बेला लिइएका जलविज्ञान तथा मौसमसम्बन्धी तथ्यांकका आधारमा गरिएका पूर्वानुमान सही नहुन सक्छ भन्ने विषयमा वैज्ञानिकहरूको धारणा छ। यस्तो अवस्थामा सुरक्षित डिजाइनका लागि अनुभवबाट सिक्दै वर्षा र बाढीको मोडलिङ (व्यावहारिक अभ्यासमा आधारित डिजाइन) गरी संरचनाहरू निर्माण गर्नु उपयुक्त हुन्छ र सोहीअनुसार सुरक्षासम्बन्धी कार्यहरू अवलम्बन गर्नुपर्ने हुन्छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.