भारतबाट थप विद्युत् आयातको बाटो खुलेपछि यसपालिको हिउँदमा लोडसेडिङको सम्भावना टरेको छ । तीन दिनदेखि भारतको नयाँदिल्लीमा जारी नेपाल–भारत पावर एक्सचेन्ज कमिटी बैठकमा भारतबाट थप दुई प्रसारण लाइन हुँदै विद्युत् आयातको सहमति भएको हो ।
नेपाल–भारतबीच रक्सौल–परवानीपुर र कटैया–कुशाहा १३२ केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन सुचारु गर्ने सहमति बैठकमा भएको छ । ती प्रसारण लाइन सुचारु भएपछि प्राधिकरणले त्यसमार्फत पुनः विद्युत् आयात गर्नेछ । ‘दुई महिनाभित्र यो प्रसारण लाइनमा विद्युत् चार्ज गर्ने सहमति भएको छ,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले दिल्लीबाट नयाँ पत्रिकासँग भने, ‘यसअघि खरिदको दर नमिलेका कारण ती प्रसारण लाइनमा चार्ज हुन सकेको थिएन, नेपाल–भारतबीच विद्युत्को खरिद दरमा समेत सहमति भएको छ ।’
‘टेक एन्ड पे’को सर्तबमोजिम यी दुईवटा प्रसारण लाइनबाट विद्युत् खरिद गर्न सहमति भएको हो । दुवै प्रसारण लाइनबाट ५०–५० मेगावाटसम्म बिजुली आयात गर्न सकिने अधिकारीले बताए ।
हाल भारतबाट २ सय ५० मेगावाट बिजुली आयात भइरहेकोमा अब थप १ सय ५० मेगावाट बिजुली आयात गर्न सकिने अधिकारीले जानकारी दिए । ‘मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइनको अपग्रेडिङको काम पनि अगाडि बढिरहेका कारण अब ४ सय मेगावाट बिजुली आयात गर्न कुनै समस्या छैन,’ अधिकारीले बताए ।
कमिटीमा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेतृत्व गरेका छन् भने ‘सेन्ट्रल इलेक्ट्रिसिटी बोर्ड’का अध्यक्षले भारतीय पक्षको नेतृत्व गरेका छन् । दुई देशको संयुक्त बैठकमा बिहार र उत्तर प्रदेश सरकारका सरकारी अधिकारीहरू पनि सामेल भएको प्राधिकरणका प्रवक्ता अधिकारीले बताए ।
विद्युत खरिद दरमा सहमतिभारतको दुई राज्यबाट आयात हुने बिजुलीको दर यसअघि फरकफरक रहेकोमा अब समान मूल्यमा आयात हुने भएको छ । यसअघि भारतको बिहार र उत्तर प्रदेशबाट दुईवटा मूल्यमा विद्युत् आयात हुँदै आएको थियो । पावर एक्सचेन्ज कमिटीले नेपालले समान मूल्यमा विद्युत् खरिद गर्ने विषयमा बुधबार टुंगो लगाएको हो । अब समान क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्को खरिद दर समान हुने छ ।
नयाँ मूल्य निम्नअनुसार हुनेछबिहारबाट आयात हुने बिजुलीको पुरानो दर (भारु) उत्तर प्रदेश हुँदै आयात हुने बिजुलीको पुरानो दर (भारु) प्रसारण लाइन क्षमता नयाँ मूल्य भारु
६.८ ६.४५ ११ केभिए ६.५४
६.५४ ६ ३३ केभिए ६
५.६२ ५.५५ १३२ केभिए ५.५५