प्रधानमन्त्रीको दिल्ली भ्रमणका एजेन्डा तयार


प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले प्रारम्भिक एजेन्डा तयार गरिरहेको छ। सूचीमा निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत तिर्नुपर्ने रकम मिनाहा, युरिया मलको आपूर्तिदेखि पञ्चेश्वर परियोजनाको लाभ बाँडफाँडसम्म उल्लेख छ। यो खबर पर्शुराम काफ्लेले आजको नयाँ पत्रिकामा लेखेका छन्।

प्राप्त सरकारको प्रारम्भिक सूचीमध्ये अधिकांश पुरानै छन्। परराष्ट्र मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर एजेन्डाबारे प्रधानमन्त्री कार्यालयलाई ब्रिफिङ गरिरहेको छ।

यस्तो छ प्रारम्भिक सूची

स्थानीय तहको दोस्रो निर्वाचनदेखि प्रदेश र संसद्को निर्वाचनका लागि लजिस्टिक सहयोग, गाडी, हातहतियार, विस्फोटक पदार्थ, भिड नियन्त्रण उपकरण माग्ने तयारी छ।

नेपाली सेनालाई विगतमा सैन्य सामग्री खरिद गरिदिएबापत २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ भारतलाई तिर्नुपर्नेछ। भारतले ६० प्रतिशत अनुदान कटाएर लिनुपर्ने ४० प्रतिशत मूल्यबराबरको उक्त रकम मिनाहाका लागि प्रस्ताव लैजाने गरी छलफल भइरहेको छ। पुरानो सहमतिअनुसार आपूर्ति हुनुपर्ने सैन्य सामग्रीलाई निरन्तरता दिन पनि पहल गरिनेछ।

प्रतिबन्धित हजार र पाँच सय दरका भारतीय नोट सटहीका लागि फेरि प्रस्ताव लगिनेछ। यसबारे भारतको स्टेट बैंक र नेपाल राष्ट्र बैंकको उच्च तहमा छलफल हुँदै आएको छ।

नेपाली एलपिजी बुलेटलाई भारतसम्म खुला प्रवेश दिन माग गरिनेछ।

जनकपुर, नेपालगन्ज, महेन्द्रनगरबाट एयर इन्ट्री अनुमतिका लागि नेपालले प्रयास गरिरहेकोमा यीसहित विराटनगरबाट जहाज आउन पाउनुपर्ने प्रस्ताव लगिनेछ। यसबारे नेपाल र भारतबीच पटकपटक भएका वार्ता निस्कर्षविहीन हुँदै आएका छन्। भारतले गोरखपुरको हवाई सैनिक हेडक्वार्टरको सुरक्षा संवेदनशीलता जनाउँदै त्यसआसपासबाट नेपालतर्फ जहाज आउने रुटको अनुमति दिएको छैन।

नेपाली उत्पादकहरूका लागि भारतीय बजारमा सहज पहुँचका लागि प्रस्ताव गरिने, नन ट्यारिफ ब्यारिअर हटाउन थप प्रस्ताव गर्ने तयारी छ।

पशुपतिनगर सुकियापोखरी नाका सञ्चालनका लागि प्रस्ताव गरिने, वीरगन्जदेखि कोलकाता–हल्दियासम्म भारतीय रेलमा दोहोरो सामान ओहोरदोहोरका लागि थप सजीकरणका लागि पहल गर्ने तयारी छ।

इनर्जी बैंकिङका लागि प्रस्ताव गर्ने सरकारी तयारी छ। यसका लागि उत्तरप्रदेश र बिहार सरकार सहयोगका लागि इच्छुक रहेको सरकारी बुझाइ छ।

बुटवल–गोरखपुर ४०० केभी सीमापार विद्युतीय प्रसारण लाइन जिटुजी (सरकारीस्तरमा) निर्माणका लागि आग्रह गरिनेछ। जम्मा ७ अर्ब २१ करोड २० लाख भारु खर्च हुने उक्त परियोजनामा नेपालले २ अर्ब ६ करोड ३७ लाख र भारतले ५ अर्ब १५ करोड ३३ लाख रुपैयाँ खर्च गर्ने सहमति भइसकेको छ।

हेटौँडा र इनरुवामा डबल सर्किट विद्युतीय सबस्टेसन निर्माणका लागि ५ करोड ५० लाख अमेरिकी डलरबराबरको अनुदान सहयोग भारतसँग मागिनेछ।

लुम्की–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि पनि भारतसँग प्रस्ताव गरिनेछ।

भारतले नेपाललाई दिन कबुल गरेको ५५ करोड अमेरिकी डलरबराबरको सहुलियत ऋणमा बन्न लागेका १७ वटा सडकमा नेपाली ठेकेदार लगाउन नपाउने भारतीय सर्त संशोधनका लागि पहल गर्ने सरकारी तयारी छ।

मिड करिअर डिप्लोम्याटका लागि भारतका संस्थाहरूमा क्षमता अभिवृद्धि तालिमलगायतका लागि प्रस्ताव गरिनेछ।

वार्षिक रूपमा दुई लाख टन युरिया मल, एक लाख टन डिएपी, ५० हजार टन पोटास नेपालमा नियमित आपूर्तिका लागि सरकारले भारतलाई प्रस्ताव गर्नेछ। नेपालमा युरिया मल प्लान्ट स्थापनाका विषयमा पनि छलफल हुनेछ।

बिपी कोइराला प्लानेटेरियमका लागि विज्ञान प्रदर्शनी हल, वैज्ञानिक उपकरण, कर्मचारीलाई तालिम, पावर बैंक, दुईवटा आधुनिक सूक्ष्मदर्शक यन्त्र (टेलिस्कोप), विज्ञान पार्क निर्माणका लागि भारतलाई सरकारले प्रस्ताव गर्ने तयारी छ।

भारतीय बाँधका कारण सीमावर्ती नेपाली क्षेत्र डुबानमा परेका विषयमा नेपाल र भारतका विज्ञहरूको टोलीले संयुक्त अनुगमन गर्ने यसअघिको सहमति कार्यान्वयन गर्नुपर्ने प्रस्ताव पनि लगिनेछ।

भूकम्पबाट क्षति भएका विद्यालय, स्वास्थ्य संस्था तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतले दिने सहुलियत ऋणका सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव लगिनेछ।

महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजनाको डिपिआर यसपटक टुंग्याउने भनिए पनि सम्झौता नहुने भएको छ। प्रधानमन्त्रीले प्राविधिक तहमा डिपिआर टुंग्याउनुपर्ने र त्यसपछि तल्लोतटीय लाभ, सामाजिक–आर्थिक लाभ, लाभ बाँडफाँड, वाइडर कस्ट, बाढी व्यवस्थापनका विषयमा राजनीतिक तहबाट टुंगो लगाउनुपर्ने प्रस्ताव लगिने भएको छ। प्र्राविधिक विषय टुंग्याउन चाँडै नै दुवैतिरका विज्ञ टोलीको बैठक बस्नेछ।

नेपाल र भारतबीच विगतमा भएको ऊर्जा व्यापार सम्झौता कार्यान्वयन सम्झौताको स्पिरिटका आधारमा गर्नुपर्ने प्रस्ताव नेपालले गर्नेछ। भारतले ५१ प्रतिशत लगानीकर्ता उसका नागरिक रहेका परियोजनाबाट मात्रै विद्युत् खरिद गर्ने कार्यविधि निर्माण गरेकोमा यसलाई पुनर्विचारका लागि प्रस्ताव गरिनेछ। भारतको पावर एक्सचेन्ज मार्केटमा नेपालको विद्युत् सहज रूपमा बेचबिखन गर्न सकिने अवस्था सिर्जना गर्न सरकारले भारतलाई औपचारिक आग्रह गर्नेछ।

कोसी सम्झौताअनुसार कोसी ब्यारेजको दश किलोमिटर व्यासमा भारतले बिजुली उपलब्ध गराउनुपर्नेमा हालसम्म नगराएको विषयमा पनि सरकारले भारतको ध्यानाकर्षण गराउनेछ।

माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् परियोजना निर्माणका लागि रूख कटानसम्बन्धी समस्या समाधान गर्ने आश्वासन पनि नेपालले भारतलाई दिनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.