‘इन्काउन्टरको गलत अभ्यास’


‘गुन्डा’ नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी ‘इन्काउन्टर’मा मारिएपछि उनी आबद्ध पार्टी एमालेमा हल्लीखल्ली नै भयो। पार्टीमै दुई धार देखियो। त्यति बेला एमाले उपाध्यक्ष वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री थिए।’वान्टेड’ सूचीमा परेपछि भारतमा लुकेर बसेका चरीलाई काठमाडौं ल्याउने प्रबन्धसँगै प्रहरीको इन्काउन्टर ‘योजना’ बनेको थियो। यो खबर सुवास गोतामेले आजको अन्नपूर्णमा लेखेका छन्।

तत्कालीन गृहमन्त्री गौतमको ‘ग्रिन सिग्नल’ पछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट स्वीकृति लिएर पुष्कर कार्की (हाल डीआईजी) नेतृत्वको अपराध महाशाखाले उनलाई ‘सफाया’ गर्ने रणनीति बनाएको थियो। २०७१ साउन २१ गते सीतापाइलाबाट धादिङ निस्कने बाटो भीमढुंगामा उनी इन्काउन्टरमा मारिए। मोरसाइकल चढेकै अवस्थामा उनले फायर खोलेपछि प्रतिरक्षामा गोली चलाइएको दाबी प्रहरीको थियो। प्रहरीबाटै पुष्टि हुने भएकाले उनी इन्काउन्टरमै मारिएको घटना बाहिर आयो।

धादिङका नेता राजेन्द्र पाण्डेले सदनमै उक्त घटनाको छानबिन माग गरे पनि पार्टी नेतृत्व र गौतमले चासो नदेखाएपछि रोकियो। प्रहरीले जानी-जानी कसैलाई मार्न नपाउने भन्दै पाण्डेले बाँच्न पाउने हक कुण्ठित गरेको जिकिर गरे। केही महिनापछि उक्त घटना छानबिनको मुद्दा नै सेलायो।

यसको एक वर्षपछि २०७२ भदौ ३ गते अर्का गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ घरमै प्रहरी इन्कान्टरमा मारिए।

सामाखुसीस्थित घरमा प्रहरी ‘टारगेट’ मा परेका घैंटेलाई उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत घोषित गरिएको थियो। तत्कालीन एसएसपी सर्वेन्द्र खनाल (हाल डीआईजी) नेतृत्वको महाशाखाले घैंटे इन्कान्टरको नेतृत्व गरेको थियो। कांग्रेससँग आबद्ध घैंटे आफूलाई सुधार्ने प्रयास गरेको बताइरहे पनि भित्र-भित्र आपराधिक गतिविधिमै थिए। कांग्रेस नेता जगदीशनरसिंह केसीले प्रहरीले ‘हिरो’ बन्न उनको हत्या गरेको आरोप लगाएका थिए।

१३ महिनाको अवधिमा दुई-दुई इन्कान्टर किन र केका लागि भन्ने प्रश्न उठे पनि चरी र घैंटे दुवैको आपराधिक आवरणले कोही बोल्न सकेनन्। किनकि, उनीहरू ठूला दुई राजनीतिक दलको संरक्षणमा आपराधिक गतिविधिमा संलग्न थिए।

सोमबार मात्र एसएसपी दिनेश अमात्य नेतृत्वको महाशाखाले अर्का युवक ललितपुर कुसुन्तीका प्रवीण खत्रीको इन्काउन्टर गर्‍यो। लागूऔषध दुव्र्यसनी खत्रीलाई परिवारले चरणबद्ध पुनःस्थापना केन्द्रमा राखेको थियो। प्रहरीले खत्रीमाथि लागूऔषध कारोबारी भएको आरोप लागएको छ। दुईवटा हतियार बोकेर खत्रीले फायर खोल्न खोजेपछि जवाफी कारबाही गरिएको प्रहरीको दाबी छ। चरी र घैंटेको इन्कान्टर अनि खत्रीको इन्काउन्टरलाई पृष्ठभूमिमा भएको घटनाका रूप लिन सकिन्छ।

भारतको विहार, मुम्बई, तलिमनाडुलगायत राज्यमा ‘इन्काउन्टर स्पेसलिस्ट’ प्रहरी अधिकृत छन्। ती राज्यमा इन्काउन्टर सेलसमेत छन्। नेपालमा उक्त प्रयास नभए पनि प्रहरीभित्र ‘हिरोइज्म’ वा आवश्यक ठानेर बेला-बेला प्रहरीले इन्काउन्टर गर्दै आएको छ। सोमबार मारिएका खत्री त्यसकै निरन्तरता हो वा उनी इन्काउन्टरका भागीदार थिए भन्ने छानबिनको विषय बनेको छ।

रानीबारी हत्याकाण्ड, न्यायाधीश रणबहादुर बमको हत्या, ख्याति श्रेष्ठको क्रूर हत्यालगायत ठूला घटनाका अभियुक्त पक्राउ गर्न सफल प्रहरीले इन्काउन्टर पद्धति अपनाएको थिएन। तर, खत्रीजस्ता दुव्र्यसनीलाई पक्राउ गर्न प्रहरीले यो पद्धति अपनाउनु कत्तिको जायज हो ? दुईवटा हतियार खत्रीले बोक्नु कानुनविपरीत भए पनि उनले भोग्ने कानुनी सजाय खुला थियो। प्रहरीले चाहेको भए अन्य विधिमार्फत पनि खत्रीलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन सक्थ्यो। अपराधी नियन्त्रणको अन्तिम बिन्दु इन्काउन्टर नै हो त ? यति बेला प्रश्न खडा भएको छ।

प्रहरीले ‘गुन्डा’को संज्ञा दिएका कतिपय ‘दादा’ र ‘डन’ खुलेआम हिँडिरहेकै छन्। खत्रीको प्रसंगमा उनी परिवारमा ‘जानकार’ दुव्र्यसनी हुन्। मानवअधिकारका दृष्टिकोणले पनि जो जुनसुकै पृष्ठभूमिमा भए पनि उसलाई बाँच्न पाउने अधिकार सुरक्षित राख्नुपर्छ। प्रहरी कारबाही होडबाजीमा चल्ने हो वा आवश्यकता र कानुनी दायराभित्र रहेर गर्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी पुष्कर कार्कीले भने नेपालमा इन्काउन्टर भन्ने शब्द नै नरहेको दाबी गर्दै यसलाई मिडियाले लिएर आएको प्रतिक्रिया दिएका छन्। ‘तर, घटनामा अनुपातिक, आवश्यक र कानुनसम्मत परिधिभित्र रहेर प्रहरीले बल प्रयोग गर्दै आएको छ। नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय कानुनमा पनि यही व्यवस्था छ।’

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.