‘स्वाइन फ्लु होइन, कडा रुघाखोकी’


अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो। उनको मृत्यु ‘एच१ एन१ पिडिएम ०९ टाइप ए’ नामको भाइरसका कारण उत्पन्न हुने कडाखाले मौसमी रुघाखोकी (यसलाई स्वाइनफ्लु भन्ने गरिएको छ) बाट भएको थियो। उनी मधुमेहबाट समेत पीडित थिइन्।

आजको अन्नपूर्णमा दीपा दाहाल अगाडि लेख्छिन्-जुलाई २४ मा त्यस्तै प्रकृतिको अर्को घटना भयो। कडाखाले रुघाखोकी लागेपछि ढिलो गरी अस्पताल पुगेका बूढानीलकण्ठका २५ वर्षीय युवकको उपचारक्रममा मृत्यु भयो। मृत्युको पृष्ठभूमि खोज्दै जाँदा अत्यधिक मदिरा सेवन गर्ने गरेको भेटियो।

पोखराका ७६ वर्षीय एक पुरुषको उपचारक्रममा त्यस्तै रुघाखोकीले ज्यान गएको चिकित्सकले बताएका छन्। उनलाई पनि दमको समस्या पहिल्यै भएको र यो रोग लाग्दा ज्यान बचाउन नसकिएको चिकित्सकको भनाइ छ। यो रोग फैलाउन मुख्यतः चार प्रकारका भाइरसमध्ये ‘एच १ एन १’ सबैभन्दा खतरनाक मानिने चिकित्सक बताउँछन्।

१६ जुलाईमा झापाका ४७ वर्षीय पुरुषको पनि त्यस्तै प्रकृतिको रुघाखोकीबाट भारतमा उपचारक्रममा मृत्यु भएको थियो। चिकित्सकले उनलाई पहिले ‘लिम्फोमा क्यान्सर’ बाट पीडित भएको र रुघाखोकीले मृत्युमा सहयोग पुगेको बताएका छन्।

पछिल्लो तथ्यांकअनुसार यो वर्ष कडा रुघाखोकीबाट १० जनाले ज्यान गुमाइसकेका छन् भने तीन सय ५६ जना बिरामी परेका छन्। पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापामा यो समस्या विकराल बनेको छ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडौं, ललितपुर र पोखराका तीन जनाको मृत्यु यो रोगबाट भएको पुष्टि गरेको छ। महाशाखाले बाँकी मृत्युलाई शंकास्पद भनेको छ। महाशाखाका अनुसार त्यसमा थप अनुसन्धान गर्न बाँकी छ।

सरकारले काठमाडौं टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बरुण प्रयोगशाला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालालाई मात्रै यो रोग जाँच्ने अधिकार दिएको बताएको छ। अन्य केही स्थानमा छिटो रोग पत्ता लगाउने प्रविधि (किट) सुविधा भए पनि त्यो भरपर्दो नभएको महाशाखाका डा. शर्माले बताए। मृत्युका घटना निजी अस्पतालबाट पनि आएकाले त्यसबारे थप अनुसन्धान आवश्यक परेको उनको भनाइ छ। ती बिरामी रुघाखोकी लागेको, घाँटी दुखेको र हल्का ज्वरो आइरहेका बेला अस्पताल पुगेका थिए।

नेपालमा पछिल्लो ६ वर्षयता हरेक वर्ष मौसम परिवर्तनका बेला यो रोग फैलिन थालेको छ। सरकारी तथ्यांकअनुसार सन् २०१२ यता यो रोगका बिरामी घट्ने÷बढ्ने भइरहेका छन्। डा. शर्माका अनुसार तापक्रममा परिवर्तन आउने समय खासगरी जनवरीदेखि अप्रिलसम्म र जुलाईदेखि अगस्टसम्म यो रोग फैलाउने ‘भाइरस’ मौलाउने गरेको छ।

कस्ता व्यक्तिलाई असर गर्छ ?

चिकित्सकका अनुसार यो रोग सबै मानिसमा देखा पर्न सक्छ। रोगप्रतिरोधात्मक क्षमता बढी छ भने सामान्य औषधिले पनि ठीक हुन सक्छ। तर, उनीहरूमा रुघाखोकीसँगै अन्य कुनै समस्या छ भने गम्भीर असर पर्छ। समयमै उपचार नभए मृत्यु नै हुने गर्छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसिएन डा. अनुप बास्तोलाका अनुसार यो रोगले खासगरी मिर्गौला, क्यान्सर, मुटु, फोक्सोको समस्या भएका, मधुमेह, थाइराइड र एचआईभी संक्रमण देखिएका व्यक्तिमा छिट्टै आक्रमण गर्छ। समयमै उपचार हुन नसके वा रोग प्रतिरोधात्मक क्षमतामा कमी आए ज्यानै जान पनि सक्ने उनी बताउँछन्।

अत्यधिक अल्कोहल सेवन गर्ने, धूमपान गर्ने व्यक्ति, बालबालिका, गर्भवती महिलालगायत पनि यो रोगको जोखिममा पर्ने गरेका छन्। अन्य मानिस पनि यसबाट सचेत हुनुपर्ने तर आत्तिन नपर्ने उनको भनाइ छ। समयमै परीक्षण भए यसको उपचार सम्भव भएको डा. बास्तोलाले बताए।

यो रोगविरुद्ध खोप पनि लगाउन सकिने चिकित्सकको भनाइ छ। तर, खोप अति महँगो हुने भएकाले सकेसम्म खोप लगाउने अवस्था नआओस् भनेर सचेत हुनुपर्ने चिकित्सकको सल्लाह छ।

डा. बास्तोलाका अनुसार प्रभावित व्यक्तिको सम्पर्कमा आउँदा हावाको माध्यमबाट सबैभन्दा छिटो सर्ने यो रोगले फोक्सोको ‘टिस्यु’ मा असर गरी अपर्झट श्वाप्रश्वासमा बाधा पुर्‍याउन सक्छ। यसलाई चिकित्सक ‘एक्युट रेस्पिराटरी डिस्ट्रेस सिन्ड्रोम’ भन्छन्। यसले गर्दा बिरामी अझ गम्भीर बन्ने गरेका छन्।

स्वाइनफ्लुको नाममा आतंक

विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग सबैभन्दा पहिले सन् २००९ मा मेक्सिकोको बेराक्रुज इलाकाको सुँगुर फार्ममा देखिएको थियो। त्यसैले त्यो बेला यो रोगलाई ‘स्वाइन फ्लु’ को नाम दिइएको थियो। विस्तारै यो संसारका धेरै देशमा फैलिएको पाइन्छ। त्यसैकारण संगठनले त्यसलाई ‘एच १ एन १ पेन्डेमिक ०९’ नामकरण गरेको छ।

पछि सुँगुरको सम्पर्कमा नआएका मानिसमा पनि यसका भाइरस भेटिएको पाइन्छ। संगठनले यो रोगले स्वस्थ मानिसमा कुनै क्षति नपुर्‍याउने तर पहिले नै कुनै समस्या भएकामा गम्भीर रूप लिने भएकाले ‘स्वाइनफ्लु’ को भ्रम नछर्न आग्रह गरेको छ। नेपालमा पनि यो समस्यालाई ‘स्वाइनफ्लु’ को नाममा बेला-बेला सर्वसाधारण आतंकित बन्ने गरेका छन्। पशु स्वास्थ्य निर्देशनालयले यो रोग नेपालमा सुँगुरबाट सरेको नपाइएकाले ‘स्वाइनफ्लु’ भन्न नहुने भन्दै विज्ञप्ति जारी गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.