दुःखै दुःखले घेरिएको घर


गोरखा सदरमुकामबाट करिब १५ किलोमिटर पूर्वमा पर्छ खाब्दीभञ्ज्याङ। सानो यो बजारबाट आधा घन्टा मकैपुरको उकालो हिँडेपछि कोटथोक आउँछ। कोटथोकको सिरानमा एउटा झुप्रो घर छ। १६ वर्षअघि यही झुप्रोमा राजीव श्रेष्ठको जन्म भएको थियो। चार छोरी जन्मिएपछि छोरा जन्मियो भनेर उनका बाबुआमाले राँगो काटेर आफन्तजन र गाउँलेलाई भोज खुवाए, खुसीयाली मनाए। अफसोच, एक वर्षको नहुँदै उनको ज्यान सुक्दै गयो। टाउको धान्न नसक्ने हुन थाल्यो।

आजको अन्नपूर्णपोष्टमा शिव उप्रेती अगाडि लेख्छन्- ज्यान लल्याकलुलुक हुँदै गयो। बोल्न नसक्ने, घिस्रेर हिँड्न पनि नसक्ने हुँदै गए। उनीभन्दा माथिका दुवै दिदीलाई पनि यस्तै समस्याले गाँजेको थियो। राजीव पनि अब त्यस्तै हुने भयो भनेर परिवारलाई चिन्ता लाग्यो। छिमेकी पनि चिन्तित भए। ‘अरू त त्यस्ता भएभए, यो छोरालाई पनि बिगार्ने भए। उपचार गर्न लैजाओ भनेर सबैले कराए’ आमा पोषकुमारी पुराना कुरा स्मरण गर्दै भन्छिन्, ‘काठमाडौं लगियो। पोखरा लगियो। दबाई खुवाइयो। केके गरियो-गरियो। डाक्टरले टाउकाको अप्रेसन गर्नुपर्छ भने। अप्रेसनचाहिँ गरिएन।’

पैसा नभएर अप्रेसन नगरेको दुःख सुनाउँदा उनको गला अवरुद्ध भयो। ‘सम्पत्तिको नाममा दुई हलको मेलो पाखो बारी छ’, उनले भनिन्, ‘बिहान खाए साँझ के खाऊँ, साँझखाए बिहान के खाऊँ छ। टाउकाको अप्रेसन गर्ने पैसा कहाँ पाउने ? ‘ तीन सन्तान यसरी नै अहिले पूर्ण अपांग छन्।

खर्च अभावले कसैको पनि उपचार गर्न नसकेको बाध्यता सुनाउँदा उनको अनुहारमा पीडाभाव स्पष्ट देखिन्थ्यो।

त्यसयता यो दम्पतीले पूर्ण अपांग तीन सन्तानको स्याहार गर्दै आएको छ। राजीवभन्दा माथिका २५ वर्षकी दिदी शिला र उनीभन्दा पनि माथि ३० वर्षकी लीला पनि पूरै अपांग छिन्। तीनैजना सुतेरै दिन, रात, साँझ, बिहान बिताइरहन्छन्। हात, टाउको, ज्यान पनि अरूले नै दायाँ-बायाँ घुमाइदिनुपर्छ। देख्न सक्छन्, सुन्न सक्छन् तर बोल्न सक्दैनन्। ‘सँगै बसिरह्यो भने तीन जनाको टाउको, ज्यान दायाँ-बायाँ घुमाइरहनुपर्छ। ज्यान दुख्दो होला, रुन्छन्। ज्यान मिचिरहनुपर्छ’, पोषकुमारी भन्छिन्, ‘तर सँगै बसिरहन पनि पाइँदैन। निमेक नगरे मुखमा चारो पर्दैन, घर-गृहस्थी धान्नै पर्‍यो।’

उठाइदिने, दिसापिसाब गराइदिने, हातमुख धोइदिने, पकाउने, खाने, खुवाउने गरेरै बिहान बित्छ। ‘११ बजेतिर दौडिँदै मेला गयो, घरमा यिनीहरूलाई के भइरहेको होला भनेर भत्भती पेट पोलिरहन्छ’, लुंगीको फेरले आँसु पुछ्दै पोषकुमारीले भनिन्, ‘साँझ आयो, यिनकै स्याहारसुसार गर्‍यो पकायो, खुवायो, यसरी नै चलिरहेको छ।’

‘जे-जस्ता भए पनि आफ्नो मुटुको टुक्रा हुन्। माया लागिहाल्छ’, उनी भन्छिन्, ‘यी हेर्नुस्, मकैबारीबाट कति धेरै लामखुट्टे आउँछन्। लामखुट्टे, भुसुनाले टोकिरहन्छन्, धपाउन सक्दैनन्। यस्तो हालत छ। भगवानले पनि हामीलाई मात्र …’ धेरै बोल्ने बानी नभएकी पोषकुमारीको थोरै बोली पनि सन्तानका कुरा गर्दा आँसुको ओजले भरिएका हुन्छन्।

छोराछोरीको पढाइप्रति चिन्ता गर्ने, छोराछोरीसँग घुमफिरमा समय दिने उनीहरूको भाग्यमा छैन। ‘काममा जानुपर्छ, सँगै बस्न पाइँदैन। एकछिन सँगै बस्न पाइयो भने टाउको चलाइदिने, कन्याइदिने, मुसार्दिने हातखुट्टा पड्काइदिने गर्नुपर्छ’, आमा पोषकुमारी भन्छिन्, ‘यसरी चलाइदियो भने आनन्द मान्छन्, मुसुमुसु हाँस्छन्, खुसी हुन्छन्। सन्तान हाँसे आफूलाई खुसी लाग्छ।’ यसैमा सन्तान सुखको अनुभूति गरिरहेको छ पोषकुमारी दम्पतीले।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.