कलिला आमाहरू


कालिका–१ भर्ता छाती गाउँकी १६ वर्षीया मनपुरा विश्वकर्माको पेटमा आठ महिनाको गर्भ छ। कक्षा ४ सम्म पढेकी मनपुरालाई गर्भ जाँच चार पटक गराउनुपर्छ भन्ने जानकारी छैन। आइरन चक्की, जुकाको औषधि, खोपबारे पनि उनी बेखबर छिन्। १५ वर्षको उमेरमा विवाह गरेर गर्भवती भएपछि १९ वर्षीय पति कल विकसँगै नागरिकता बनाउन मान्म आएकी मनपुरा आफैं बालिका हुन्। उचाइ ४ फिटभन्दा कम छ। शारीरिक रूपले कमजोर देखिन्छिन्। माइतीमा भाइबहिनी धेरै भएकाले छिट्टै विवाह गरिदिएको सुनाउने मनपुरासँग भविष्यको कुनै योजना छैन। यो खबर तुलाराम पाण्डेले आजको कान्तिपुरमा लेखेका छन्।

‘छोरीको भाग्य (कर्म) यइथै (यस्तै) हो, ज्या (जे) भया होला,’ उनले स्थानीय लवजमा भनिन्। सात भाइबहिनीमध्येकी जेठी मनपुरा जन्मँदा उनकी आमा त झन् १५ वर्षकी मात्र थिइन्। अहिले ३१ वर्षकी भइन्। मनपुराका पति चार भाइमध्येका जेठा हुन्। कक्षा ८ सम्म पढेर विद्यालय छाडेका उनी ज्याला मजदुरीका लागि दुई पटक भारत पुगिसकेका छन्। घरमा काम गर्ने कोही नभएकाले सानैमा बालविवाह गरेको उनले सुनाए। पत्नी दुई जीउकी रहेकीले अहिले भारत नगएको उनी सुनाउँछन्। कालिका–१ छाती गाउँकै शर्मिला सुनार १८ वर्षकी भइन्। उनको काखमा ११ महिने छोरा छ। दुई वर्षअघि विवाह गरेकी शर्मिलाले पनि ४ कक्षा मात्र पढेकी छन्। गएको स्थानीय तहको चुनावमा मतदाता सूचीमा नाम नभएकैले उनलाई कसैले वास्ता गरेनन्। त्यसैले नागरिकता बनाएर मतदाता सूचीमा नाम लेखाउन पति ज्योतिसँगै मान्म आएकी शर्मिलाको व्यथा पनि मनपुराको जस्तै छ। दलित र जनजातिको बस्ती रहेको छाती गाउँमा मात्र नभएर कालिकोटका अधिकांश किशोरीको कलिलै उमेरमा विवाह हुने गरेको छ।

रकु–४ सेरिज्युलाका १८ वर्षीय नयाँ सार्की र १६ वर्षीया पत्नी सुशीला स्थानीय शंकर उमाविमा एउटै कक्षामा पढ्छन्। कक्षा १० मा अध्ययनरत यो दम्पतीले छोरा पनि जन्माइसकेको छ। घरमा १० महिनाकी छोरी छाडेर सुशीला विद्यालय आउँछिन्। नानी भोकाइसकी होली भनेर दिउँसो सधंै दूध खुवाउन घर जान्छिन्। उनीहरू विद्यालय आउजाउ सँगैसँगै पनि गर्दैनन््। साथीहरूले जिस्काउलान् भनेर फरक बेन्चमा बस्छन्। त्यति बोलचाल पनि हुन्न विद्यालयमा। एउटै कक्षामा पढ्दापढ्दै शारीरिक सम्पर्क भएर ७ महिनाको गर्भ बोकेपछि सुशीलाका अभिभावकले नयाँसँग विवाह गरिदिएको स्थानीय नमराज सार्कीले बताए।

सुशीलाको विद्यालयमा उनी मात्र विवाहिता होइनन्। केही समयअघिको तथ्यांकअनुसार शंकर माविका कक्षा ६ देखि १० सम्म पढ्ने ३३ जनाले विवाह गरिसकेका छन्। तीमध्ये २७ केटी छन्। २४ जना त दलित समुदायकै। विद्यालयको तथ्यांकअनुसार ती सबैको उमेर १९ वर्षमुनि छ। विवाहित विद्यार्थी विद्यालयमा नियमित नहुने समस्या रहेको प्रधानाध्यापक टेकबहादुर गिरीले बताए। उनले विवाह गरिसकेका विद्यार्थीलाई स्थानीय स्वास्थ्य संस्थामार्फत बच्चा छिटो नजन्माउन विद्यालयले प्रजनन स्वास्थ्यबारे कक्षा दिने योजना बनाएको सुनाए। ‘विवाह गरिसकेकालाई त विद्यालयले सम्बन्धविच्छेद गराउन सक्दैन,’ उनले भने, ‘प्रजनन स्वास्थ्यबारे अभिमुखीकरण गर्न सुरु गरेका छौं।’ बालविवाहले कुपोषण निम्त्याउने तर्क गर्दै प्रधानाध्यापक गिरीले पछिल्लो समयमा अभिभावकले बाजा बजाएर बालविवाह गरिदिने कम भए पनि भागेर विवाह गर्ने चलन बढेको बताए।

बालविवाह गरेका किशोरीले उच्च शिक्षा पढ्न नपाउने अवस्था छ। कालिकोटमा उच्च शिक्षा अध्ययन गर्ने अवसर पाउने महिलाको संख्या पनि न्यून छ। अधिकांशलाई पढाइ छाडेर घरपरिवार समाल्ने बाध्यता छ। मावि तहको शिक्षामा छोरा र छोरीको संख्यामा त्यति फरक नभए पनि उच्च शिक्षामा भर्ना हुने छात्राको प्रतिशत ३२ मात्र छ। पछिल्लो समय संघसंस्थाका चेतनामूलक अभियान, एफएम रेडियोका सन्देशले अभिभावकमा डर र चेतनाले बालविवाह गरिदिने क्रममा भने कमी आएको छ। बालविवाहले समाजमा नकारात्मक असर बढी पारेको खाँडाचक्र नगरपालिकाकी उपप्रमुख विजया विष्टले बताइन्।

‘बालविवाहले महिला हिंंसा बढाएको छ,’ उनले भनिन्, ‘यसको अन्त्य नभएसम्म महिलामाथिका विभेद र हिंसा रोकिँदैन।’ बालविवाहले महिलाको स्वास्थ्य कमजोर भई अकालमै ज्यान गुमाउनुपर्ने, धेरै सन्तान जन्मिने, बालबालिका कुपोषित हुने, बहुविवाह हुने, पढ्न नपाउने, परनिर्भर हुनुपर्नेजस्ता समस्या हुने गरेको उनले सुनाइन्। कालिकोट जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको संख्या हेर्दा पनि बालविवाह गरेका महिलाले बढी बहुविवाहको पीडा भोग्नुपरेको देखिन्छ। ‘बालविवाह गर्नेविरुद्ध कानुनी उपचार खोज्ने चलन अझै छैन,’ जिल्ला अदालत कालिकोटका वैतनिक वकिल अमलराज शाही भन्छन्, ‘सकेसम्म उजुरी नै आउँदैनन्, आइहाले पनि मिलापत्रैमै टुग्ंयाउने प्रवृत्ति छ।’

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.