‘हामीभन्दा अघि नै छोराछोरी मरे हुन्थ्यो’

‘हामीभन्दा अघि नै छोराछोरी मरे हुन्थ्यो’


बाबुआमाका लागि सबैभन्दा ठूलो सम्पत्ति उनीहरूका सन्तान हुन्। छोराछोरी सांग हुन् वा अपांग, उनीहरूको अनुहारमात्रै देख्दा पनि बाबुआमाको खुशीले सीमा नाघ्छ। सन्तानलाई माया गर्ने बाबुआमामध्ये केही हहिले आफ्ना छोराछोरीको शारीरिक अवस्था देखेर साह्रै पीडामा हुन्छन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

उनीहरूको भविष्य सम्झेर डाँको छोडेर रुन्छन्। अनि आफैं सम्हाल्निछन् र भन्छन्, ‘यो सन्तान हामीभन्दा अघि नै मरे खुख पाउँथ्यो कि बरु!’ शल्यक्रिया गरी आमाको गर्भबाट निकाल्दा पाटन अस्पतालको लापरवाहीका कारण कम्मरको नशा काटिएका बालक मविश उमेरले किशोर भइसकेका छन्।

उनका समकक्षी यतिखेर १२ कक्षा उत्तीर्ण गरी स्नातक पढिराखेका छन्। तर पाल्पा चिर्तुङधारा घर भई अहिले भक्तपुर बस्दै आएका विष्णु र मञ्जु बस्यालका छोरा १८ वर्षीय मविश जन्मेदेखि ओछ्यानमै छन्। उनको आँखाले मात्रै केही भनेजस्तो गर्छ नत्र अरु शारीरिक  प्रतिक्रिया केही छैन।

डाइपरमै दिसापिसाब गर्छन्। बाबुआमाले झोलयुक्त खानेकुरा बनाएर खुवाउने गर्छन्। काममा जाँदा छोरालाई कोठाभित्र छोडेर जानुपर्ने अवस्था छ। ‘हामीलाई यसको भविष्यको चिन्ता बढी छ। हामीभन्दा पहिले यो गयो भने हामी चित्त बुझाउन सक्छौं’, मविशका बाबु विष्णुले भने, ‘तर हामी पहिला मरेर यो बाँच्यो भने कसले हेर्ला?’

मविशपछिको उनीहरूका अर्का छोरा १५ वर्ष पुगिसकेका छन्। सूर्यविनायक नगरपालिका–७ की २५ वर्षीया सरस्वती वाग्लेको अवस्था मविशको भन्दा खासै फरक छैन। जन्मिँदा स्वस्थ देखिए पनि केही महिनामै सुस्त मनस्थिति भएकी छोरीलाई आफू मेलापातमा जाँदा डोरीले बाँधेन भने कौसीबाट लडेर रगतपच्छे भएको हेर्नुपर्छ उनका आमाबाबु हरेराम र गौरीले।

लडेर अगाडिका चारवटा दाँत झरिसकेका छन् भने हातगोडामा पटक पटक चोट लागेको छ। हरेराम र गौरीलाई अरु छोराछोरीभन्दा सुस्तमनस्थिति भएकी छोरीको बढी माया लाग्ने गर्छ। भन्छन्, ‘हामीभन्दा अघि नै छोरी मरेदेखि हाम्रो सास सजिलै जान्थ्यो।’ छोरीकै स्याहारसुसारमा व्यस्त हुनुपर्ने बाध्यताले गौरी माइत नगएको २५ वर्ष नै पुगिसकेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.