नागपञ्चमी र रक्षाबन्धन एकै दिन


नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष नागपञ्चमी र रक्षाबन्धन एकै दिन परेको जनाएको छ ।  समितिका अनुसार साउन १३ गते नागपञ्चमी र रक्षाबन्धन परेको छ ।

समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यो वर्ष साउन २३ गते सोमबार साउन शुक्ल पूर्णिमाका दिन अर्धरात्रि पूर्व खण्डग्रास चन्द्र ग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन साउन १३ गते शुक्रबारका दिन गर्न सूचित गरेको छ। यो खबर गोरखापत्रबाट लिइएको हो।

समितिका अनुसार विक्रम संवत् १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि साउन शुक्ल पूर्णिमाका दिन ग्रहण परेको हुनाले साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिनमा नै उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन गरिएको थियो ।समितिले स्वीकृत नगरेका केही पञ्चाङ्ग र विभिन्न सञ्चार माध्यममा यससम्बन्धी भ्रामक तथ्य तथा समाचार प्रकाशित भएको विज्ञप्ति मार्फत स्पष्ट पार्दै कुनै भ्रममा नपरी साउन १३ गते नै उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन गर्न सबैमा आग्रहसमेत गरेको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.