संविधानसभाको सांसदमा लडेका नेता वडाध्यक्षमा पराजित !


इलाममा स्थानीय तहको दोस्रो चरण निर्वाचनको सबै मत परिणाम आइसकेको छ । बीस वर्षपछि भएको निर्वाचनमा राजनीतिक दलले सक्रिय रुपमा उम्मेदवारी दिएका थिए । जिल्लामा जम्मा ५२५ जनप्रतिनिधि चुन्नका लागि एक हजार ५ सय ९३ ले उम्मेदवारी दिएका थिए । यसक्रममा संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुले समेत स्थानीय तहको वडाध्यक्ष र मेयरमा उम्मेदवारी दिएका थिए। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

संविधानसभाको निर्वाचनमा उम्मेदवारी दिएका दुई जनाले पनि स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा र एकजनाले इलाम नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । इलाम नगरपालिका–१२ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदावर बनेकी सोममाया राई सिन्धु र संघीय समाजवादी फोरमका तर्फबाट सन्दकपुर ४ को वडाध्यक्षमा उम्मेदवारी दिएका ढालबहादुर गुरुङ सम्मानजनक मत ल्याए पनि पराजित भए ।

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी सोममाया राई सिन्धुले स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिका–१२ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएकोमा तेस्रो स्थान प्राप्त गरिन् । योभन्दा अघि राईले पहिलो संविधानसभाको चुनावमा इलाम क्षेत्र नम्बर ३ बाट तत्कालीन नेकपा माओवादीबाट उम्मेदवारी दिएकी थिइन् । त्यस क्षेत्रबाट कुलबहादुर गुरुङले जितेका थिए । राईले निर्वाचन हारे पनि जनताको काममा सक्रिय भएर लाग्ने बताइन्।

त्यस्तै दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका ढालबहादुर गुरुङले सन्दकपुर गाउँपालिका–४ को वडाध्यक्षमा उम्मेदवारी दिए पनि पराजित भए। उनी संघीय समाजवादी फोरमको तर्फबाट उम्मेदवार बनेका थिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.