महिनावारी हुँदा छाउगोठमा सुतेकी २२ वर्षीय युवतीको मृत्यु

महिनावारी हुँदा छाउगोठमा सुतेकी २२ वर्षीय युवतीको मृत्यु


महिनावारी हुनु सामान्य प्रक्रिया हो भनेर अभियान चलाएको लामो समय भइसक्यो। तर आफैं महिनावारी भएको बेला घरभित्र सुते देउता रिसाउने भन्दै छाउँगोठमा  पठाउने गलत प्रवत्ति हट्न सकेको छैन। दैलेखको चामुण्डान्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी एक युवती यस्तै अन्ध विश्वासको सिकार हुनुपरेको छ। परिवारका सदस्यको दवाव र सामाजिक त्रासका कारण छाउगोठमा सुतेकी स्थानीय २२ वर्षीया तुल्सी शाहीलाई बिहिबार राति सर्पले डसेकोमा उपचार नगराई परिवारले धामी-झाक्रीको भर पर्दा शुक्रबार उनले उपचार अभावमा ज्यान गुमाइन्। यो खबर आजको अन्नपूर्णमा ललिलबहादुर बुढाले लेखेका छन्।

मध्यरातमा सर्पले टोकेपछि परिवारले धामी झाँक्रीमार्फत् उपचारको प्रयास गरेका थिए। तर, भरपर्दो उपचार नपाउँदा २२ वर्षीया तुल्सीको शुक्रबार मृत्यु भएको हो। गाउँमै रहेको मामाको घरमा रहेको छाउगोठमा सुतेकी तुल्सीलाई राति १० बजे सर्पले टोकेको थियो। सर्पले टोकेको करिब नौ घण्टापछि उपचारकै अभावमा तुल्सीका ज्यान गएको नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार स्वास्थ्य केन्द्र पनि टाढा भएको र एम्बुलेन्स पनि नहुँदा उपचार नपाएरै तुल्सीको मृत्यु भएको हो। जम्बुकाँध स्वास्थ्य चौकीमा कार्यरत अनमी कमला शाहीले उपचार अभावमै शान्ताको मृत्यु भएको जानकारी दिइन्। नगरपालिका भए पनि सो स्थानमा अहिले पनि छाउपडी प्रथा कायमै छ। घरभित्र पस्दा देउता रिसाउने र अनर्थ हुने अन्धविश्वासका कारण स्थानीयले महिनावारीको वेलामा महिलालाई सात दिनसम्म घरभित्र पस्न दिदैंनन्।

यही अन्धविश्वासका कारण छोगोठमा सुतेकी तुल्सीको अकालमै ज्यान गुमेको हो। छापउडी विरुद्ध विभिन्न सरकारी तथा गैरसरकारी निकायले अभियान पनि संचालन गर्दै आएका छन्। तर, सबै अभियान प्रभावकारी हुन सकेका छैनन्। अहिले पनि प्रदेश ६ र ७ का जिल्लामा छाउपडी प्रथा कायमै रहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.