जर्मन दम्पतीकाे जंको


विदेशी पर्यटक नेपाल आएर फागु खेलेको, जात्रामा रमाएको, भाइटीका लगाएको अधिकांश नेपालीले देख्दै आएका हुन् । आइतबार भने पहिलोपटक भक्तपुरबासीले नेवार समुदायको मौलिक पर्व भीमरथारोहण (जंको) मा सहभागी भएर विदेशी पर्यटक रमाएको देख्न पाएका छन्। यो खबर हामीले आजको नागरिक दैनिकमा उपेन्द्र लामिछानेले लेखेका छन्।

जर्मनीको ब्रेमन सहरबाट २२ आफन्तसहित भक्तपुर आएका ७७ वर्षीय पिटर हेस परम्परागत नेवारी पहिरनमा सजिएर पत्नी एमेलीसँगै भीमरथारोहणमा सहभागी भएका हुन् । नेवारी संस्कारमा ७७ वर्ष उमेर पार गरेपछि वृद्धवृद्धालाई रथमा राखेर गाउँ–टोल परिक्रमा गराउने परम्परा छ । यस्तो संस्कारलाई जंको अर्थात् भीमरथारोहण भनिन्छ । नेवारी संस्कृतिअनुसार जंको गर्ने व्यक्ति पुरुष भए उनकी पत्नीको स्वतः जंको हुन्छ । त्यही नियमअनुसार हेसकी पत्नी एमेली भीमरथारोहणमा सहभागी भएकी हुन्।

  दौरासुरुवाल, इस्टकोट र ढाका टोपीमा सजिएका पिटर र चौबन्दी चोलो, नौगेडी र शिरफूलमा सजिएकी एमेलीलाई परम्परागत पहिरनमा सजिएका नेवार बालबालिकाले रथमा राखेर तानेका थिए । धिमेबाजा र बाँसुरीको धुनमा नगर परिक्रमा गराउँदा एमेली दुलहीझैं देखिन्थिन् । ‘हाम्रो देशमा उमेर बढेपछि हर्षित हुने चलन छैन,’ पिटरले भने, ‘यहाँ भने बूढो भएपछि उत्सव मनाउने चलन रहेछ ।’ यस्ता उत्सवले बुढेसकाल रमाइलो बनाउने उनको बुझाइ छ।

भक्तपुरको जात्रा संस्कृतिमा रमाउँदै आएका उनले १५ वर्षअघि नै आफूलाई भीमरथारोहणमा सहभागी हुने सोच आएको जानकारी दिए । पेसाले इन्जिनियर पिटर ३४ वर्षअघि पहिलोपटक भक्तपुर आएका थिए । भक्तपुरको कला, संस्कृति र संगीतले मुग्ध भएका उनले त्यसयता एक सय पटकभन्दा बढी नेपाल ओहोरोदोहोर गरिसकेका छन् । ‘सुरुका दिनमा वर्षमा तीनपटकसम्म आउँथे,’ उनले भने, ‘अहिले पनि वर्षमा एकपटक त आउँदैछु।’

पर्यटकले जंको मनाएको देखेर बूढाबूढी र युवकयुवती सबै खुसी देखिएका थिए । ‘हामीले भक्तपुरमा पर्यटकले जात्रा, फागुलगायतका पर्वमा रमाएका देख्दै आएका थियौं,’ पर्यटक पथ प्रदर्शक मुरज दिदियाले भने, ‘पर्यटकले जंको मनाएको पहिलोपटक देख्दै छु ।’ पिटरले जंको मनाएको तस्बिर भक्तपुर घुम्न आएका पर्यटकले समेत रमाउँदै खिचेका थिए ।गोरा अनुहारमा परम्परागत नेवारी पहिरनमा सजिएर प्राचीन संस्कृतिसँग घुलमेल गर्दा दर्शकले ताली पिटेर पिटर दम्पतीलाई सम्मान गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.