प्रत्येक श्वासमा जोखिम

बल्खुको धुलाम्मे सडकमा गुडिरहेका सवारी साधन। फाइल तस्बिर: सेतोपाटी


सामान्यतया सहर भन्नासाथ ठूलो जनसंख्या, फराकिला सडक, सफा र ठूला फुटपाथ, खुला पार्क र चौरको छवि दिमागमा आउँछ । तर, अहिले काठमाडौं आइपुग्नेले यो सहरमा अर्को एउटा विशेषता पाउनेछ, सहरवासीको मुख ढाक्ने मास्क † सडक विस्तार, ढल सुधार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडानका लागि पछिल्लो समय गरिएको उत्खननले काठमाडौं खाल्डोलाई स–साना ‘खाल्टा’ को सहरमा परिणत गरिदिएको छ । र, यहाँको वायुमण्डललाई ‘धुलीमण्डल’ मा । त्यसमाथि पुराना गाडीले फ्याँक्ने विषाक्त धूवाँ त छँदै छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

पैदल यात्रु हुन् वा सार्वजनिक सवारी र मोटरसाइकलमा हिँड्ने, घरबाट निस्कनुअघि मास्क छ कि छैन भनेर गोजी छाम्नु सहरवासीको दैनिकीभित्रै पर्न थालेको छ । पैदलयात्रा गर्दा लाग्छ, सहरमा मानिसको अनुहार बिस्तारै उस्तै हुँदै छ । जसरी पसलका सामान प्लास्टिक र त्रिपालले छोपेर राखिन्छ, त्यसरी नै मानिसको अनुहार मास्कले छोपेको देखिन्छन् । मास्क लगाएर पैदल यात्रा गरिरहेका यात्री राजधानीमा मास्क खोलेर लामो सास फेर्ने दिन कहिले आउला ? मुहार देखाएर चक्रपथ परिक्रमा गर्न कहिले पाइएला भन्ने प्रश्न गर्छन् । तेल लगाएर हिँडेका मानिसका कपालमा धुलो भरिएर फुस्रो मात्र हँुदैन, सेतो लुगा कालो हुन्छ ।

मोटरसाइकलमा काठमाडौं एक चक्कर लगाउने हो भने त झन् आफ्नो अनुहार आफैंलाई ठम्याउन हम्मे पर्छ । धूवाँ र धुलोले मुहार सौन्दर्यविहीन बन्छ ।

भक्तपुर, नयाँठिमीका धर्म गुरागाईंलाई मास्क लगाएर यात्रा गर्दा निसास्सिएझैं लाग्छ । सास फेर्न गाह्रो हुन्छ । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) मा कार्यरत उनी हरेक दिन कार्यालय पुगेपछि लुगा फेर्छन् । ‘कार्यालयमै लगाउने लुगामा घरबाट निस्कने हो भने त मेरो लुगाको रङ नै बदलिन्छ,’ मोटरसाइकलमा दैनिक २२ किलोमिटर छिचोल्ने गुरागाईंले भने, ‘त्यसैले विन्डस्विटर र रेनकोटको सुरुवाल लगाएर धुलो रोक्छु ।’ गुरागाईं ७ वर्षअघि विराटनगरबाट काठमाडौं आउँदा यतिबिघ्न प्रदूषण नभएको बताउँछन् । ठिमीबाट गुर्जुधारा पुग्दा सधैँ आँखामा बालुवाका कण छिरेर चिलाउने उनी बताउँछन् । ‘कार्यालय पुगेर मुख धोएन भने आँखा हेर्नै सकिँदैन,’ उनले सुनाए, ‘सबभन्दा बढी धुलो कलंकीबाट गुर्जुधारा पुग्दा हुन्छ ।’

धापासीकी ६४ वर्षीया सुशीला भट्टलाई धुलोले अरूलाई भन्दा अझ बढी समस्या थपेको छ । ९ वर्षदेखि दमले पीडित उनी बिनामास्क घरबाट बाहिर निस्कनै सक्दिनन् । ‘बाहिर निस्कियो कि खोकी लाग्न थाल्छ,’ उनले सुनाइन्, ‘४ वर्षदेखि मास्क लगाउँछु तर यसले पनि धुलो छेक्न छाडेको छ ।’

उनी काठमाडौं आएको २८ वर्ष भयो । ‘पहिला त यस्तो थिएन,’ वीर अस्पतालमा भेटिएकी उनले गुनासो गरिन्, ‘मास्क नलगाई त कतै हिँड्नै सक्दिनँ, काठमाडौंमा मान्छेभन्दा धेरै गाडी, मोटरसाइकल छन्, जताततै धुलो र धूवाँ मात्र छ, म दमको रोगीलाई धुलोधूवाँले भेटेपछि के चाहियो ? पीडा सहेर खोक्नुपरेको छ ।’ पहिले काठमाडौंमा खुला ठाउँ प्रशस्त थिए । घर, गाडी कमै थिए । धुलोधूवाँ कम हुन्थ्यो । उनले भनिन्, ‘काठमाडौंले यसरी रूप फेर्ला भन्ने सोचेकै थिइनँ ।’

बुटवलबाट मंगलबार काठमाडौं आएका राहुल पाण्डे मास्क लगाएर रत्नपार्कमा गाडी कुरिरहेका थिए । ‘काठमाडौंमा धुलोमय छ भन्ने मलाई थाहा थियो,’ उनले भने, ‘त्यसैले बुटवलबाटै मास्क किनेर आएँ ।’ धुलो र धूवाँकै कारण काठमाडौं आउन मन नलाग्ने पनि उनले सुनाए ।

जब काठमाडौंमा धुलोको ‘जगजगी’ सुरु भयो, एकातिर अस्पतालहरूमा छाला, नाक, कान र घाँटीका बिरामीको चाप बढदै गयो भने अर्कातिर मास्कको व्यापार पनि बढ्न थाल्यो । अहिले फुटपाथदेखि औषधि पसलसम्म मास्कको राम्रो व्यापार हुने गरेको छ । औषधि पसल मात्र होइन, फुटपाथका खुद्रा पसल र फलफूल पसलहरूमा समेत अहिले मास्क बिक्री गरिन्छ ।

औषधि पसलेले ‘मेडिकेटेड’ मास्क बेच्ने गरे पनि कपडाका मास्क पनि प्रशस्त मात्रामा बिक्ने गरेका छन् । भूकम्पपछि मास्कको खपत बढेको रत्नपार्कस्थित सत्यम फर्माकी रीता महर्जन बताउँछिन् । ‘मास्कको माग धेरै छ, दिनमा थोरै हुँदा एक बाकस बिक्री हुन्छ,’ उनले भनिन्, ‘पैदल यात्री र अस्पतालमा आउने बिरामीका आफन्तले सबभन्दा धेरै किन्छन् ।’ पसल सञ्चालकहरूसमेत मास्क लगाएर सामान बिक्री गरिरहेका हुन्छन् । मास्क लगाए पनि धुलोभित्र छिर्ने गुनासो उनीहरूको छ । मनको सन्तोषका लागि मात्र मास्क लगाउने गरेको फुटपाथमा सामान बिक्री गर्नेहरू बताउँछन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.