नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले र माओवादी पार्टी मिलेर बनाएको गठबन्धनलाई बैंक मर्जर जस्तै भनि टिप्पणी गरेका छन्।
आजको अन्नपूर्ण पोष्टसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन्। उनले जहाँ कुनै बिचारधारात्मक एकता नभएको र ‘सिइओ र अध्यक्ष’ बन्ने भागबण्डा चलिरहेको टिप्प्णी गरेका छन्।
छिमेकी देशहरु चीन र भारत द्वन्द्वतिर जाने संकेत देखिएकाले नेपाल अझै संवेदनशील बन्नु पर्ने उनले बताए।
यी असहमतिहरूका बीच तपाईं वाम एकता प्रक्रियामा जाने सम्भावना कति बाँकी होला ?राजनीतिक लोकतन्त्रलाई अझै उन्नत बनाउन विकास र समृद्धिको एउटा चरणबाट गुज्रनुपर्छ । जुन ढंगले नीतिहरू अघि सार्न सक्नुपर्छ अनि जसरी देशभित्रको आन्तरिक एकता र भूराजनीतिक सन्तुलन मिलाउन सक्नुपर्छ, त्यतापट्टि पनि यी पुराना शक्तिहरूको ध्यान गएको देख्दिनँ । त्यसैले यी शक्तिहरूबाट यो संविधान ठीक ढंगले कार्यान्वयन भएर देश शान्ति र समृद्धिको दिशामा अघि बढ्ने सम्भावना म देख्दिनँ । त्यसैले त्यहाँ सामेल हुने सम्भावना छैन । दलहरूको जुन चिन्तन र चरित्र छ, त्यसबाट विकास र समृद्धि हुँदैन । उहाँहरूले रूपमा वाम भने पनि सारमा म मान्दिनँ ।
एमालेका सबैजसो नेताहरू शिक्षा र स्वास्थ्यमा सबैभन्दा बढी लगानी गर्नुहुन्छ । जबकि यी दुई क्षेत्र मुनाफाका क्षेत्र नै होइनन् । यी त सेवाका क्षेत्र हुन् । यसैमा मुनाफा लिएर पार्टी र नेता चलाउने परिपाटी रहेसम्म उहाँहरूले कसरी विकास र समृद्धि ल्याउनुहुन्छ ? अहिले डा. गोविन्द केसीले जुन अभियान चलाउनुभयो, त्यसमा हामीजस्ता मानिसहरू साथ दिन लागिरहेका छौं । त्यसैले शिक्षा र स्वास्थ्यलाई हेर्ने ‘वाम’ हरूको सोच नै वामपन्थी छैन । कुन क्षेत्रचाहिँ राज्यले हेर्ने हो र कुनचाहिँ निजी क्षेत्रले भन्नेमा उहाँहरूको प्रस्टता छैन । यस्तो अन्योलले विकास र समृद्धि हुँदैन । विकास, पूर्वाधार, बिजुली, पानी, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्र राज्यले हेर्नुपर्छ । कृषि, पर्यटन, सेवा, उद्योगचाहिँ निजी क्षेत्रले लिनुपर्छ भन्ने मेरो भनाइ हो ।
सहकार्य पनि सम्भव छैन ?उहाँहरूमा रूपान्तरण होला भन्ने झीनो आशा मैले असोज १७ गते लिएको थिएँ । फोरम, माओवादी, एमाले र नयाँ शक्ति मिलेर नयाँ समाजवादी शक्ति बनाउने सम्भावना अब अन्त्य भयो । उहाँहरूको एकता अभियानमा विचारको बहस छैन, कसले के पद लिने भन्ने मात्रै छ । यसले रूपान्तरण, ध्रुवीकरण होइन, बैंकको मर्जरमा सीईओ र चेयरम्यान को हुने भन्ने किसिमको संकेतमात्रै गर्छ । यसले नयाँपन दिँदैन ।
फोरमसँग एकता प्रक्रिया त घाँटी-घाँटीमै आइसकेको थियो होइन ? एकताको मितिमात्रै घोषणा गर्न बाँकी थियो भन्नुहुन्थ्यो ।त्यसमा पनि हाम्रो आलोकाँचोपन देखा पर्यो । कतिपय मुद्दाहरू टुंगिन बाँकी नै थिए । साथीहरूले हौसिएर भनिहाल्नुभयो । स्थापनाकालमा अति उत्साही भएर प्रवेश गर्ने साथीहरूले नयाँ शक्तिको मर्म बुझ्नुभएको रहेनछ । नयाँ शक्तिलाई घोडा बनाएर छिटै सत्ताको भर्याङ चढ्ने उहाँहरूको मनसाय रहेछ । मैले पनि बुझाउन सकेनछु । वैकल्पिक धार बनाउने अभियानले केही समय लिन्छ है भनेर बुझाउन सकिएन । पुराना शक्तिहरूसँग तालमेल गर्ने सोच त्रुटिपूर्ण रह्यो । त्यसले हाम्रो नयाँ वैकल्पिक पहिचान गुम्न पुग्यो ।