सुत्केरी महिलाले भनिन् – तीन दिनसम्म पानीसमेत पिउँन पाइनँ


‘काम गर्न पति मनाङ गएका बेला सुत्केरी भएँ। सरसफाइ र लुगा धुन त परको कुरा, तीन दिनसम्म पानी पिउनसमेत पाइनँ’, धादिङको दक्षिणी भेगको विकट चेपाङ गाउँ ब्रुसवाङकी फूलमाया चेपाङले भनिन्, ‘वृद्ध ससुराले दिनभर लगाएर ल्याएको १ गाग्री पानीले १५ दिन पुर्‍याएँ।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा मनिष दुवाडीले लेखेका छन्।

चेपाङ समुदायको अवस्था बुझ्न विकट बस्ती ब्रुसवाङ पुगेको प्रजिअ श्यामप्रसाद भण्डारी, जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाललगायतको टोलीसमक्ष फूलमायाले दुखेसो पोखिन्। गाउँ आएको सरकारी टोलीसमक्ष फूलमायाले दुखेसो सुनाउँदा प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोली गम्भीर भयो।

फूलमायाले थपिन्, ‘बिरामी भएर पानी बोक्न नसक्दा ११ दिनसम्म मुखमा पानी परेन। छिमेकीलाई पैंचो तिर्छु भनेर पानी ल्याउन भनें। निको भएपछि पेप्सीको बोतलमा पानी ल्याएर पैंचो तिरें।’ यो पीडा फूलमायाको मात्र होइन, दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ को विकट बस्ती ब्रुसवाङका चेपाङ समुदायका ३६ घरको हो।

गाउँको अवस्था अवलोकन गरेपछि प्रजिअ नेतृत्वको सरकारी टोली चेपाङ बस्ती सार्न उपयुक्त हुने निष्कर्षमा पुगेको छ। सरकारी टोलीसँगै ब्रुसवाङ आएका गाउँपालिका प्रमुख हरि डल्लाकोटीले भने, ‘खानेपानी ल्याउने विषयमा धेरैपटक कुरा भए। योजना खर्चिलो एवं दिगो व्यवस्थापनमा समस्या आउने देखिएपछि बस्ती स्थानान्तरणको तयारी भइरहेको छ।’

प्रमुख जिल्ला अधिकारी भण्डारीले खर्चिलो खानेपानी योजना सञ्चालन गर्नुभन्दा बस्ती स्थानान्तरण योजना नै उचित हुने सुझाए। उनले भने, ‘अहिले जनता आवास कार्यक्रम चलिरहेको छ। चेपाङ बस्ती नयाँ ठाउँमा सारेपछि यस पटक ३६ घर बनाउने योजनामा छलफल भइरहेको छ।’

गाउँमा पूर्वाधार निर्माणभन्दा बस्ती सार्नै कम आर्थिक भार पर्ने भएकाले बस्ती सार्ने योजना बनाइएको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले पनि सुनाए। गाउँ आएको प्रजिअसहितको टोलीसमक्ष ब्रुसवाङका चेपाङले पानी खान नपाउँदाका तीता अनुभव मन खोलेर सुनाएका थिए।

७०÷७५ माथिका वृद्धवृद्धा र ६ महिनाकी सुत्केरीले धित मरुन्जेल पानी खान नपाएको गुनासो गरिरहँदा प्रजिअले सोधे, ‘सरसफाइ र गाईवस्तुलाई पानी कसरी खुवाउनुहुन्छ?’

चेपाङका मुखिया टेकबहादुरले प्रजिअको जिज्ञासामा भने, ‘तिर्खा लाग्दा पेटभरि पानी खान पाइन्न, कसरी खुवाउने गाईवस्तुलाई, केले गर्ने सरसफाइ?’

खानेपानीको चरम अभाव भोगेका उनीहरूले पनि बस्ती सारिदिन आग्रह गर्न थालेका छन्। ब्रुसवाङका सोमीलाल चेपाङले भने, ‘पानी मात्र होइन, हामीलाई खाद्यान्न पनि समस्या छ, खोरियाको मकै खेती ढिला गरी पाक्छ। वर्षको ६ महिना त एक छाक खाएरै बित्छ।’

खाद्यान्न र पानीकै अभाव भएको यो गाउँमा अस्पताल र अन्य आधारभूत सेवाबारे त स्थानीयले कल्पनासमेत गरेका छैनन्। खानेपानी र खाद्यान्न अभावका कारण नचाहेरै पनि पुर्खादेखिको थातथलो छाड्न उनीहरू राजी भएका छन्। मुखिया टेकबहादुरले भने, ‘यहाँबाट बाहिर लगेपछि यहाँ भएको खोरिया जत्तिकै जमिनको पनि व्यवस्था गरिदिनुपर्छ। हामीलाई घर मात्रै बनाएर राखिदिए त के खाएर बाँच्ने।’

बस्ती स्थानान्तरणको तयारी
नयाँ सार्ने बस्तीमा खानेपानी, बिजुली र स्वास्थ्य शिक्षाका लागि पनि सहज हुने आश्वासन दिएपछि चेपाङहरू बस्ती सार्ने कुरामा सकारात्मक छन्।

स्थानीय प्रेमबहादुर चेपाङले भने, ‘शिक्षा, स्वास्थ्य, पानी सबै पूर्वाधार गाउँमै आए त किन बस्ती छाडेर गइन्थ्यो र, तर यी सबै कुरा ल्याउनुभन्दा बस्ती सार्न सहज हुन्छ भने हामी पनि पुर्खाको थातथलो छाडेर जान तयार छौं। हामीलाई यो विकटमा पानी पिउनै नपाएर मर्ने रहर त कहाँ छ र?’

बु्रसवाङका चेपाङहरूको बाँच्ने आधार खोरियाबारी र गाउँबाट ३ घण्टाको पैदल दूरीमा रहेको एउटै मात्र पानीको कुवा हो। त्यो कुवामा पनि हिउँदयाममा पानी कम हुन्छ।

बस्तीनजिकै पानीको स्रोत नहुँदा चेपाङ समुदायले निकै दुःख झेलिरहेको छ। दिनभर लगाएर ओसार्दा जेनतेन खान पुगे पनि नुहाउन र लुगा धुन पाउँदैनन् उनीहरू।

‘पेप्सीको बोतलमा पानी बोकेर बच्चालाई महिनामा एक पटक नुहाइदिन्छु, आफू नुहाउने त कहिले हो कहिले?’ काखमा ६ महिने शिशु बोकेकी फूलमायाले भनिन्, ‘बच्चा बोकेर कति दिन उकालो ओरालो गर्र्नु, पानी नजिक छैन, बच्चालाई सफा लुगा लगाइदिने भनेको किनेको बेलामा मात्रै हो।’

शान्ति नेपाल संस्थाले आकाशेपानी संकलन गर्न हजार लिटरको हिलटेक ट्यांकी र केही थान जस्तापाता दिए पनि चेपाङ समुदायले त्यसको सदुपयोग गर्न सकेको छैन।

तत्कालीन स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङका पालामा ब्रुसवाङमा खानेपानी आयोजना निर्माण गर्न १ करोड ३० लाख बजेट दिए पनि पानीको स्रोत नभेटिएपछि बजेट अन्यत्रै खर्च गरिएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.