यस्तो छ डेढ करोडको पार्क


खाली जमिनको तीनतिरै फराकिलो सडक छन् । सडक किनारमा साँघुँरै भए पनि टायल विच्छ्याएर फुटपात बनाईएको छ। सडकभित्रको करिब ३५ रोपनी खाली जमिन धुलाम्य छ। सुस्तरी हावा चले पनि सासै फेर्न गाह्रो हुने गरी धुलो उड्छ ।  धुलाम्य जमिनमा कतै भारतीय नम्बर प्लेट भएका ठूला मालवाहक ट्रक रोकिएका छन् त कैत रात्रि बस। ट्रयाक्सी टिपर, टाटा मोबाईल सबैको पार्किङस्थल पनि यही हो । बचेको ठाउँमा गाडी र मोटरसाईकल सिक्ने पनि भेटिन्छन्। यो हो काठमाडौंको कोटेश्वरस्थित तीनकुने। यो खबर सुरेन्द्र पौडेलले आजको नागरिकमा लेखेका छन्।

यसलाई ‘तीनकुने पार्क’ ‘आधुनिक बगैँचा’, ‘तीनकुने शान्ति मण्डला’, अनेक नाम दिईएको छ । तर, यो एउटा यस्तो पार्क, बगैँचा र मण्डला हो जहाँ तपाईँले न एउटा फुल भेटाउनुहुन्छ न रुख नै।  अहिलेसम्म तिनकुनेलाई लिएर धेरै योजना बने, तर एउटै पनि कार्यान्वयन भएन।

बितेको तीन वर्षमा तीनकुनेमा पार्क, बगैँचा र मण्डला बनाउने नाममा करिब डेढ करोड रुपैयाँ खर्च भएको छ।  अहिले देखाउन मिल्ने केहि छैन।

तीनकुने ब्राह्रमण्डमा हुने ‘ब्ल्याकहोल’ जस्तै भएको छ, प्रत्येक वर्ष लाखौँ रुपैयाँ निल्छ तर कहाँ जान्छ र के बन्छ केही देखिँदैन।

‘अस्थायी रुपमै भए पनि केही गरौं भन्ने सोचाइले तीनकुनेमा बेलाबेलामा काम भएको छ,’ तीनकुनेलाई सुन्दर बनाउने जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख धनीराम शर्माले नागरिकसँग भने, ‘कहिले विदेशी आँउदा छेक्न प¥यो भनेर जस्ताको बार लगाइयो, कहिले मण्डला बनाउने योजना बन्यो, तर विभिन्न कारणले सबै काम रोकिए । अब तीनकुनेलाई राम्रो पार्कको रुपमा विकास गर्न स्थायी समाधान खोज्नुपर्छ ।’

तीनकुनेलाई आकर्षक पार्क बनाउने योजना धेरै पहिलाबाट सुरु भएको हो । सन् २००२ जनावरी ४ देखि ६ सम्म काठमाडौंमा दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) को ११औं शिखर सम्मेलन हुँदा पनि तीनकुनेमा रातारात पार्क बनाइएको थियो । दुई चारवटा रुख, सानो पोखरी, हरियो दुबो तीनकुनेमा रातारात उम्रिएका थिए । त्यतिबेला कति खर्चमा त्यो तामझाम गरिएको थियो हिसाब महानगरपालिकासँग छैन । त्यो तामझाम लामो समय टिक्न सकेन । शिखर सम्मेलन सकियो, पार्कको आयु पनि सकियो ।

‘सन् २००२ मा सार्क सम्मेलनका बेला तीनकुनेमा पार्क निर्माण गर्दा ठ्याक्कै कति खर्च भएको हो मलाई सम्झना छैन । तर त्यतिबेला सरकारले धेरै खर्च गरेको छैन । केही व्यक्तिले सहयोग पनि गरेका थिए,’ तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर केशव स्थापितले भने ।

काठमाडौं महानगरपालिकामा सन् २०१४ को अन्तमा काठमाडौंमा १८ औं सार्क शिखर सम्मेलन भएयता तीनकुनेका नाममा भएको खर्चको विवरण भने भेटिन्छ । २०१४ नेभेम्बर २६ र २७ गते सम्पन्न सार्क सम्मेलनअघि पनि तीनकुनेमा बगैंचा बनाउने कुरा उठ्यो । बगैंचा बनाउन सरकारले एक करोड रुपैयाँ छुट्यायो । तर पार्क बनेन । सार्क नजिकिएका कारण पार्क बनाउन नभ्याइने बताउँदै महानगरपालिकाले अन्तमा तीनकुनेलाई जस्तापाताले बार्ने काम ग¥यो ।

सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने नेपालबाहेकका सात राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखले तीनकुनेभित्रको कन्तबिजोग नदेखून् भनेर जस्तापाताले बारिएको थियो । तीनकुनेको हबिगत त्यतिबेला पनि त्यस्तै थियो, जुन अहिले छ । सार्क सम्मेलन सम्पन्न भएपछि महानगरपालिकाले जस्ताले बार्दा एक करोड रुपैयाँ खर्च भएको विवरण अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थले हिसाब पत्याउन नसकिने खालको भएको भन्दै रकम निकासा नगरेपछि महानगरपालिकाको १४ लाख ९० हजार लागेको भनेर खर्च दाबी घटाएको थियो । अर्थले पछि १४ लाख ९० हजार रुपैयाँ निकासा गरिदिएको थियो ।

सार्क सम्मेलनकै अवसरमा तीनकुनैसँगै रहेको (सिनामंगल जाने बाटोतर्फ) ‘आइल्यान्ड’ को सजावट र घडी राख्न चौधरी ग्रुपले २० लाख रुपैयाँ खर्चेको थियो । चौधरी ग्रुपले बनाएको घडीले अहिलसम्म सही समय दिँदै आएको छ । यो आइल्यान्ड केही हेर्न लायक छ। चौधरी ग्रुपले पाँच वर्षसम्मका एक एजेन्टमार्फत यो आइल्यान्ड सजाउने जिम्मा पाएको हो । उसले सीधै महानगरपालिकासँग सम्झौता गरेको होइन । आइल्यान्डको मर्मतसम्भारका लागि चौधरी ग्रुपले प्रत्येक वर्ष साढे २ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ। यहाँ चौधरी ग्रुपले हालसम्म साढे २७ लाख रुपैयाँ खर्च गरिसकेको छ । अब बाँकी दुई बर्षमा उसले थप ५ लाख रुपैयाँ खर्चिनेछ।

‘महानगरपालिकाले तीनकुनेमा जे गर्न लागे पनि कुनै न कुनै समस्या आइहाल्छ । योजना बन्छन्, कार्यान्वयन गर्न लाग्दा तीनकुनेको मुअब्जाको कुरा उठ्छ । स्थानीयको विरोध हुन्छ । काम रोकिन्छ,’ कार्यकारी निर्देशक शर्माले भने ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.