वन्यजन्तुको डीएनए परीक्षण सुरु


नेपालमा वन्यजन्तुको डीएनए परीक्षण सुरु गरिएको छ। खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले यसको परीक्षण सुरु गरेको छ। एउटै प्रयोगशालामा मानव तथा वन्यजन्तुको डीएनए परीक्षण गर्ने दक्षिण एसियामै यो पहिलो प्रयोगशाला बनेको छ। भारत र पाकिस्तानमा वन्यजन्तुको डीएनए परीक्षण गर्ने गरिए पनि त्यहाँ मानव तथा वन्यजन्तुको डीएनए एउटै प्रयोगशालामा हुने गरेको छैन। यो खबर प्रकृति अधिकारीले आजको गोरखापत्रमा लेखेका छन्।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले वन्यजन्तुको डीएनए परीक्षण गर्न निकै कठिन हुने गरेको बताउँदै हालसम्म प्राप्त भएका नमुनाको परीक्षण गर्दा सबैमा सफलता हात परेको दावी गरे।

प्रयोगशालामा प्रहरी तथा वन विभागबाट ती नमुनालाई डीएनए परीक्षणका लागि पठाइएको थियो। भालुको पञ्जा, झारलको सुकुटी, चितुवाको मासुको डीएनए परीक्षण गर्दा ती जनावर भएको पत्तो लागेको थियो। यसैगरी बाघको हड्डी भनेर पठाइएकोमा त्यसको डीएनए परीक्षणले राँगा र कुकुरको हड्डी भएको देखाएको छ। बितेको चार महिनामा तीनवटा नमुना गाईको मासु तथा सुकुटीको डीएनए परीक्षण गरिएको थियो।

उनले नेपालमा नभएका तर विश्वमा भएका जुनसुकै वन्यजन्तुको डीएनए परीक्षण गर्न सकिने दावी गर्दै भने, ‘पहिले वन्यजन्तु हो वा होइन भनी पत्ता लगाइदिन भनेर निकै नमुना ल्याइन्थ्यो। हामीले वन्यजन्तु हो वा होइन भनेर सबै नमुनामा भन्नसक्ने अवस्थामा थिएनौँ र कतिपय फिर्ता पठाइदिन्थ्यौँ। तर अब त्यस्तो हुँदैन। प्राप्त गरिएका सबै वन्यजन्तुको जाति पत्ता लगाउन सक्ने भएका छौँ।” विगतमा परीक्षणका लागि गैंडाको छाला, खाग, हात्तीको दाह्रा, कस्तुरीको बिना, चौरी गाईको सिङ, सालकको खपटा, कछुवाका खपटा, हाब्रेको छाला, मृगको सुकुटी, बदेलको सुकुटीलगायतका वस्तु बढी जसो प्रयोगशालामा पठाइन्थ्यो। गत वर्ष उड्ने लोखर्केको छाला पनि पुगेको थियो।

प्रयोगशालाको डीएनए तथा वन्यजन्तु शाखाका प्रमुख दिनेशकुमार झाले वन्यजन्तुको हाड, रौं, रगत, मासु, छालाबाट डीएनए परीक्षण गर्न सकिने बताउँदै भने, “यो परीक्षण गर्न मानवभन्दा कठिन र जटिल छ। तर यसको नतिजाप्रतिको विश्वसनीयतामा शङ्का गर्न मिल्दैन। हामी सक्षम भइसकेका छौँ।”

प्रयोगशालामा अचेल गाईको मासु वा सुकुटी पत्ता लगाइदिन भनी बढी सङ्ख्यामा नमुना पठाइने गरिएको छ। बाँके, सुनसरी, दोलखा लगायतका जिल्लाबाट त्यस्ता नमुना पठाइने गरिएको छ। गाई खाने जाति र समुदायले मासु तथा सुकुटी ओसारपसार गर्ने क्रममा प्रहरीले जफत गर्ने गरेको र तिनलाई प्रयोगशालमा पठाइने गरिएको छ। प्रयोगशालाका प्रमुख वैज्ञानिक अधिकृत झाले गाईको मासु हो वा होइन भनी प्रमाणित गर्न डीएनए परीक्षण नै गर्नुपर्ने बताए। प्रतिनमुनाको डीएनए परीक्षण गर्न करिब आठ हजार रुपियाँ खर्च लाग्ने गरेको छ।

प्रयोगशालाका कार्यकारी निर्देशक रिजालले एउटै प्रयोगशालाबाट मानिस र जनावरको डीएनए परीक्षण गर्न सकिने सुविधाले गर्दा उत्खनन्का क्रममा मानिसका अङ्ग र जनावरको ओखेटोपहारसँगसँगै फेला परेमा तिनको डीएनए गर्न पनि समस्या नआउने बताउनुभयो। प्रयोगशालाले गत आर्थिक वर्ष २०६२/६३ बाट पहिलोपटक मानव अङ्गबाट डीएनए परीक्षण थालेको थियो। पितृत्व पहिचान गरी जैविक नाता कायम गर्न डीएनए सुरु गरे पनि अचेल अन्य आपराधिक घटनाको तथ्यसत्य पत्ता लगाउन पनि डीएनए परीक्षण गर्ने गरिएको छ। गत आर्थिक वर्षमा प्रयोगशालाले ६०३ नमुनाको डीएनए परीक्षण गरेको थियो। तीमध्ये ११६ वटा नमुना अदालतबाट, छवटा नमुना प्रहरीबाट, तीनवटा नमुना कन्सुलर सेवा विभागबाट र बाँकी ४७८ नमुना विदेशी मुलुक तथा संस्थाबाट पठाएका थिए।

प्रयोगशालाका कार्यकारी निर्देशक रिजालले अब आफूहरुले गाडीको रङ्को परीक्षण गर्न उपकरण झिकाउन लागेको जानकारी दिनुभयो। गाडी ठोक्काएर चालकले गाडीलाई भगाए पनि ठोक्किएको स्थानमा गाडीको रङ फेला परेमा सो त्यही गाडीको रङ हो वा होइन भन्ने परीक्षण हुनेछ। उनले यसबाट सवारी दुर्घटनासम्बन्धी अनुसन्धानमा सफलता हात पर्ने बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.