शौचालयमा छाउगोठ !

शौचालयमा छाउगोठ !


पूर्वीचौकी गाउँपालीका–७ साविकको पोखरी गाविस–९ गजेडामा अधिकांश परिवारले पक्की शौचालयभित्र माटो थपेर छाउगोठ बनाएका छन्। दाताले बनाइदिएका यस्ता शौचालय तथा बाथरुमसहितको अर्को कोठामा भने स्याउला र सोतरहरू राख्ने गरेका छन्। यो खबर  भूमिराज जोशीले आजको कारोबारमा लेखेका छन्।

महिनावारी भएको बेला घरमा बसे देउता रिसाउने डरले पक्की बनाइएका शौचालयमा सुरक्षित बस्न सकिन्छ भन्दै छाउगोठ बनाएको स्थानीय नन्दादेवी साउदले बताइन्। हामी सबैका घरमा ‘भँराड’ (देउता) छन्। कारोबारकर्मीलाई पुरानो छाउगोठ देखाउँदै नन्दाले भनिन्, “त्यो ठाउँमा सर्प आउँछ, जंगलका जनावरहरूको पनि डर हुन्छ। त्योभन्दा त लाखौं गुणा यसमा सुरक्षित भइन्छ।”

घरबाट करिब ५० मिटर पर रहेको छाउगोठमा वरिपरी सिस्नोको जंगल छ। त्यो नजिक एउटा ठूलो ढुंगा छ। त्यो ढुंगामा राक्षस बस्छ भन्ने स्थानीयमा भ्रम फैलिँदै आएको छ। हप्ताको मंगलबार र शुक्रबारमा त बेलुका उज्यालोमै राक्षस आउँछ भन्ने मानसिकता छ। त्यो दिनमा त महिनावारी भएको बेला घरको आँगनमै बस्नुपर्छ खुला आकाशमा।

शौचालय मर्मतअघि त्यसै पुरानो जंगल नजिकैको गोठमा रातहरू बिताउनु परेको नन्दा बताउँछिन्। गाउँमा ‘समावेशी’ भन्ने शब्द नै छैन कसैको शब्दकोशमा पनि। लैगिंक हिंसा घट्नुकोसट्टा दिन प्रतिदिन बढेको पाइन्छ। प्राय घरमा पुरुषहरू नै छैनन्। घरमा भएकाहरू पनि मंसिर र असार महिनामा मात्र काम गर्छन् भने बाँकी उनीहरू मोजमस्तीमै हुन्छन्। महिलाले आफ्नो समस्या पोख्ने ठाउँ नै छैन। दुइ महिना खेतीको काम गर्ने बेला पुरुषहरूको आवश्यक पर्ने गोरु जोत्ने बाहेक प्रायः काम गरेको देखेकी छैनन् स्थानीय महिलाले। एक जना स्थानीय महिलाले नाम उल्लेख नगर्ने शर्तमा उनले भनिन्, “रेडियोमा जाँडरक्सी बेच्ने र खानेलाई कारबाही गर्ने भन्छ, तर यता भने कोही पनि छैन। खानलाई पानी छैन जाँडरक्सी भने नभएको पसल नै कम छन्।” आफूले धर्मको नाममा भएको दर्दनाक स्थितिलाई हटाउन खोज्यो भने घरमुलीहरूले गाली गर्ने उनले बताइन्।

गुडनेभर्स इन्टरनेसलनको आर्थिक सहयोगमा निर्माण भएका शौचालयहरू पछिल्लो समयमा बढीजसो छाउगोठमा परिणत भएका छन्। गुड नेभर्सले आर्थिक सहयोगका साथै सामानहरू पनि सबैको घरघरमा पुर्याएर मर्मत कार्य गर्न सहयोगसहित स्थानीयलाई हस्तान्तरण गरेको थियो। मर्मत भएको करिब एक महिनासम्म पनि प्रयोगमा नआएका शौचालयहरू छाउगोठमा परिणत भएका छन्। एउटा शौचालय निर्माणमा गुडनेभर्सले सवा १ लाख बराबर खर्च गरेको छ। स्थानीय नर बहादुर साउदले भने, ‘हामी त प्रायः मुम्बइमा बस्छौं, गाउँमा बस्ने दाजुभाइहरू पनि जंगल जान ठीक मान्ने तर शौचालयमा गाह्रो।”

सरसफाइ तथा छाउपडीको क्षेत्रमा धेरै चेतनामुलक कार्यक्रमहरू गरे तर त्यसको परिणाम शौचालयमा नै छाउगोठ बनाइएका छन्। आफू शौचालय जानु परे खोला तथा जंगलमा जाने गरेका छन्। आफूलाई त जंगल नै सजिलो लाग्ने स्थानीय वृद्धा धौलीदेवी साउदले भनिन्। विभिन्न निकायहरूले सरसरफाईको क्षेत्रमा धेरैलाई तालिम दिएको छ। तर तालिमकर्ताहरू नै शौचालयको लागि जंगल जान छोड्दैनन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.