निर्वाचनमा जसरी पनि जित्ने अभियानमा रहेका उम्मेदवारले दिनकै ५ देखि ८ लाख रुपैयाँसम्म खर्च गरिरहेका छन् ।
आक्रामक रूपले तडकभडक र तामझामसाथ भइरहेको खर्चका तुलनामा बैंक तथा वित्तीय संस्थाबाट रकम झिकिएको भने पाइएको छैन ।
नेपाल राष्ट्र बैंकको वीरगन्जस्थित अञ्चल कार्यालयले चुनावका समयमा पनि बैंकहरूबाट बढी रकम माग नभएको जनाएको छ ।‘अन्य जिल्लामा समेत खोलिएका नोट कोषमा चुनावका बेला पैसा सकेर अञ्चल कार्यालयबाट माग भएको अवस्था छैन,’ उक्त बैंकका एक अधिकृतले भने, ‘जरुरी पर्छ कि भनेर नोट कोषमा पैसा भने थपिएको छ ।’ आजको कान्तिपुरमा अखण्ड भण्डारी,सन्तोष सिंह र भुषण यादवले समाचार लेखेका छन् ।
बैंक तथा वित्तीय संस्थामा बचत भएका बढी रकम राष्ट्र बैंकको ढुकुटीमा जम्मा गर्छन् । आफूसँग रकम अभाव हुँदा राष्ट्र बैंकबाट झिकेर लान्छन् । बैंकको आफ्नो ढुकुटी (सेफ) पनि हुन्छ । बैंकले कारोबारको आयतन मूल्यांकन गरी केही रकम आफ्नै ढुकुटीमा राख्ने गरेका छन् ।
ती अधिकृतका अनुसार जसरी चुनावका बेलामा बजारमा नगद प्रवाह बढेको देखिन्छ, त्यहीअनुरूप बैंकबाट भुक्तानी भएको छैन ।